इतिहासमै पहिलोपटक वाइड बडी जहाज खरिदका लागि निगमले सम्झौता गर्ने

केदार दाहाल काठमाडौंः  नेपाल वायुसेवा निगमले वाइड बडी जहाज खरिदका लागि शुक्रबार अमेरिकी कम्पनीसँग सम्झौता गर्ने भएको छ ।निगमको इतिहासमै पहिलोपटक खरिद गर्न लागिएको वाइड बडी जहाजका लागि टेन्डर पाएको अमेरिकी लिजिङ कम्पनी एएआर कर्पोरेसनसँग यस्तो सम्झौता हुन लागेको हो । सम्झौताका लागि कर्पोरेसनको ४ सदस्यीय टोली बिहीबार काठमाडौं आएको छ ।

निगमले एयरबस ३३०–२०० सिरिजका दुईवटा जहाज खरिद गर्दैछ । “एएआर कर्पोरेसनसँग बिहिबारै द्विपक्षीय छलफल भएको छ र भोली (शुक्रबार) बिहान सम्झौतापत्रमा केही भाषा मिलाएपछि खरिद सम्झौता हुनेछ,” निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने, “यसबीचमा कुनै प्रलय नभए शुक्रबार नै कर्पोरेसनसँग खरिद सम्झौता हुनेछ ।”

कंसाकारका अनुसार सम्झौताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । “सम्झौताको मोटो फाइल तयार भइसकेको छ, भोली (शुक्रबार) निगम सञ्चालक समितिको वैठकले निर्णय गरेर  भोली नै कर्पोरेसनसँग खरिद सम्झौता हुनेछ,” कंसाकारले भने । सम्झौतालगत्तै निगमले ८ अर्ब रुपैयाँ पहिलो किस्तास्वरुप कर्पोरेसनलाई पठाउने उनले जानकारी दिए ।

निगमले दुई वाइड बडी जहाजका लागि २० करोड ८० लाख १६ हजार अमेरिकी डलर अर्थात २२ अर्ब ६३ करोड रुपैयाँमा खरिद गर्दैछ । सम्झौतालगत्तै निगमले कर्पोरेसनलाई पहिलो किस्ताबापत ८ अर्ब रुपैयाँ पठाउने सहमति भएको छ ।

बाँकी रकम दुई किस्ता गरेर निगमले कर्पोरेसनलाई पठाउने जनाइएको छ । अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर जितेको थियो ।
निगमले खरिद गर्ने जहाजमा ४० देखि ६० इन्च फराकिलो १२ देखि १८ सिट विजनेश क्लास, ३० देखि ३६ इन्च फराकिलो २ सय ६२ इकोनोमी क्लास गरी २ सय ८० सिट हुनेछन् ।

निगम र कर्पोरेसनबीच हुने सम्झौतामा निगमलाई पहिलो जहाज २०७४ मंसिरमा हस्तान्तरण गर्नेछ भने दोस्रो जहाज २०७४ को चैतभित्रै दिने सहमति उल्लेख छ । दुई जहाज थपिएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा जहाज हुनेछन् । हाल एक बोइङ ७५७ र दुई एयरबस ३२०–२०० सिरिजका न्यारो बडी जहाजमार्फत ९ गन्तव्यमा उडान भरिरहेको छ ।

नयाँ विमानबाट निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, लन्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । यसका लागी निगमले उडान गन्तव्यहरू तय गर्ने कार्यसमेत सुरु गरिसकेको जनाएको छ ।

निगमले जहाज खरिदका लागि बैना रकम १० करोड ७० लाख रुपैयाँ माघ दोस्रो साता नै पठाइसकेको छ । निगमले पोर्चुगलको हाइफ्लाई एयरलाइन्सलाई बैना रकम पठाइसकेको छ ।

अमेरिकी लिजिङ कम्पनी एएआर कर्पोरेसनले हाइफ्लाई एयरलाइन्सको लागि दुई वर्षअगाडि एयरबस कम्पनीमा अर्डर गरेको थियो । निगमले १ हजार घन्टासम्म उडान गरेको जहाजको टेन्डर गरे पनि कर्पोरेसनले भने नयाँ जहाज नै दिने प्रस्ताव गरेको थियो ।

जमानी बस्ने निर्णय भएन  
निगमले जहाज खरिद सम्झौताको तयारी गरिरहेका बेला संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने सरकार जमानी बस्ने निर्णयको फाइल अझै मन्त्रिपरिषद् लगेको छैन ।

तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको कार्यकालमै तयारी भइसकेको फाइल वर्तमान मन्त्री दिलनाथ गिरीले अझै लगेका छैनन् । खरिद गर्ने तयारीमा रहेको वाइड बडी जहाजको खरिदको लागि आवश्यक ऋणको जोहो गर्न मन्त्रिपरिषद्बाटै जमानी बस्ने निर्णय हुनुपर्ने सञ्चयकोषले अडान राखेको थियो ।


Facebook Comment


No ads found for this position