नयाँ वर्ष मनाउने सोचमा हुनुहुन्छ ? यी हुन उत्कृष्ट गन्तब्यहरु .
नयाँ वर्ष नजिकिँदै छ । नयाँ वर्षलाई उत्सवका रूपमा मनाउने चलन नेपालमा समेत स्थापित हुँदै गएको छ । नेपालीहरूमा बढ्दै गएको घुमफिरप्रतिको मोहले आन्तरिक पर्यटनलाई समेत सघाउन थालेको छ । नयाँ वर्षमा घुमफिरडटकमको दृष्टिमा नेपालकै उतकृष्ट गन्तब्यहरु पोखरा, सौराहा, रारा, जोमसोम, चित्लाङ, नगरकोट, धुलिखेल, इलाम, भेडेटार, लुम्बिनी, घोडाघोडी ताल, शुक्लाफाँटा, खप्तड आदि प्रमुख गन्तब्यहरु पर्न सफल भएकाछन् । तपाई नयाँवर्षमा कहाँ जान रुचाउनु हुन्छ ?
नेपालको सबैभन्दा ठूलो ताल, वरपर जंगल तथा चरा–चुरुङ्गीको चिरबिरले जो–कसैलाई स्वर्गको आभास दिलाउँछ । यो स्वर्गीय टुक्रामा बसेर नयाँ सोचसँगै नयाँ योजना बनाउने मन कसलाई हुदैन र रु यदि तपाईंसँग पनि त्यस्तो कल्पना छ भने नयाँ वर्ष रारा घुमेर मनाउन सक्नुहुन्छ । पाँच वर्षअघिसम्म रारालाई कठिन गन्तव्य मानिन्थ्यो, तर अहिले यातायातको सुविधाले काठमाडौंबाट दुई दिनको यात्रापछि रारा सजिलै पुग्न सकिन्छ । मुगुमा पर्ने यो तालको सेरोफेरोमा अरू धेरै गन्तव्य पनि छन् । यो क्षेत्रमा चंखेली हिमाल, दुधे दहसहित साना–ठूला गरी १ सयभन्दा बढी ताल, कुण्ड आदि छन् ।
रारा ताल
रारा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने उक्त क्षेत्रमा रेडपान्डा, दुर्लभ सेतो कस्तूरी, नाउर, घोरल, गिद्ध, बाज, चीलजस्ता पशुपन्छी अवलोकन गर्न सकिन्छ । यो क्षेत्र यार्सागुम्बा, पाचँऔले, उत्तिस, कटुस, भोल्तेजस्ता जडीबुटीको भण्डार पनि हो । अहिले नयाँ वर्षका लागि आर्ट समिट एन्ड टुर्सले रारा यात्राको एकहप्ते प्याकेज समेत सार्वजनिक गरेको छ । यो प्याकेजअन्तर्गत रारा पुगेर काठमान्डौं फर्कंदासम्म प्रतिव्यक्ति १६ हजार ५ सय रुपैयाँ खर्च हुने बताइएको छ । ६ रात ७ दिनको यो प्याकेजमा यातायात, खानपान तथा बास खर्च समावेश छ ।
जोमसोम–मुक्तिनाथ
प्रकृतिप्रेमीहरूका लागि जोमसोम र त्यसवरिपरिको क्षेत्र विश्वमा नै निकै प्रसिद्ध छ, भने धार्मिक पर्यटकका लागि मुक्तिनाथ चर्चित छ । पाँच–छ वर्ष पहिलेसम्म विदेशी पर्यटकको मात्र रोजाइमा पर्ने जोमसोम–मुक्तिनाथ अहिले नेपालीहरूको रोजाइमा पनि पर्न थालेको छ । यसको प्रमुख कारण पोखराबाट जोमसोम–मुक्तिनाथका लागि सहज सडक यातायात उपलब्ध हुनु र संचार क्षेत्रमा भएको बिकासलाई लिन सकिन्छ हो । एकल यात्राका लागि जोमसोम–मुक्तिनाथ केही महँगो भए पनि विभिन्न ट्राभल कम्पनीहरूले नयाँ वर्षका लागि जारी गरेको प्याकेजलाई निकै सस्तो मानिएको छ । उक्त प्याकेजअन्तर्गत ४ रात र ५ दिनको भ्रमणका लागि १४ हजार ५ सय रुपैयाँजति खर्च गर्नुपर्छ ।
चित्लाङ
नयाँ वर्ष मनाउन नजिकको गन्तव्य रोज्नेहरूका लागि मकवानपुरको चित्लाङ पनि उपयुक्त हुन सक्छ । उपत्यकाको धूवाँधूलो र कोलाहललाई पन्छाउँदै थानकोटबाट मात्र १४ किलोमिटरको बस यात्रापछि चित्लाङ पुग्न सकिन्छ । ऐतिहासिक स्थल, ग्रामीण वातावरण, वनजंगलको मनमोहक दृश्यका साथ यहाँ रहेका साना–ठूला होटलहरूले पाहुनाको भव्य स्वागत गर्छन् । चित्लाङमा टिम बनाएर पनि जान सकिन्छ भने विभिन्न ट्राभल कम्पनीले तयार गरेका प्याकेजमार्फत पनि पुग्न सकिन्छ । विभिन्न ट्राभल कम्पनीहरूले नयाँ वर्षलाई लक्षित गरी १ रात र २ दिनका लागि ३ हजार ५ सय रुपैयाँको प्याकेज तयार गरेका छन्, जसमा काठमाडौंबाट चित्लाङसम्मको यातायात, एक रातको बास तथा खानापिन समावेश छ । यो प्याकेजअन्तर्गत प्रत्येक दिन थानकोटबाट २ बजेपछि बस छुट्छ।
त्रिशूलीरभोटेकोसी र्याफ्टिङ
नयाँ वर्षका अवसरमा र्याफ्टिङमा रमाउनेहरूका लागि भोटेकोसी र त्रिशूली नदीमा र्याफ्टिङसहितको प्याकेज सार्वजनिक भएको छ, जसअन्तर्गत त्रिशूलीसम्म पुगेर र्याफ्टिङ गरी काठमाडौं फर्कन एक जनाले १ हजार ८ सय रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । यो प्याकेजअन्तर्गत भोटेकोसीमा र्याफ्टिङ गर्ने हो भने २ हजार २ सय रुपैयाँ खर्च हुन्छ । पहिलो प्याकेजमा काठमाडौंदेखि त्रिशूलीसम्मको यातायात तथा दोस्रो प्याकेजमा भोटेकोसीसम्मको यातायात एवं एक दिनको खानाको व्यवस्था छ ।
इलाम
इलाम नयाँ वर्ष मनाउन सकिने एउटा प्रमुख गन्तव्य हो । नागबेली डाँडामा चियाका बोटसँग लुकामारी खेल्दै यहाँको सौन्दर्यको मज्जा लुट्नुको आनन्द नै बेग्लै हुन्छ । सार्वजनिक यातायातमार्फत सजिलैसँग इलाम पुग्न सकिन्छ । इलामका सबै साना–ठूला पर्यटकीय गन्तव्यमा स्तरीय होटलहरूको व्यवस्था छ । दिनभर घुमेर अर्को दिन मात्र फर्कन चाहनेहरूले यहाँ प्रतिव्यक्ति ४ हजार रुपैयाँ खर्च गरे पुग्छ ।
भेडेटार
तराईको गर्मी छल्दै नयाँ वर्ष मनाउने उपयुक्त डेस्टिनेसन हो— भेडेटार । छिनमै बादल र छिनमै घाम लाग्नु यहाँको विशेषता हो । भेडेटारको भ्यू–टावरबाट हिमश्रृङ्खला, उच्च पहाडी श्रृङ्खला एवं तराईका समथर फाँटको दृश्यावलोकन गर्न सकिन्छ । भेडेटारनजिकैको नमस्ते झरना, तमोर नदी तथा मगर समुदायको हुर्रा नाचले नयाँ वर्षलाई थप विशेष बनाउन सक्छ । धार्मिक पर्यटनमा रुचि भएकाहरूले भेडेटारसँगै धरानका बूढासुब्बा, दन्तकाली, पिण्डेश्वर, बराहक्षेत्र आदि धार्मिक स्थलको भ्रमण गर्न सक्छन् । एकदिन भेडेटारमै बिताउने हो भने एकदिन एक रातका लागि प्रतिव्यक्ति ३ हजार ५ सय देखी ६ हजार रुपैयाँसम्म खर्च हुनसक्छ ।
लुम्बिनी
गौतम बुद्धको जन्मभूमि लुम्बिनी आन्तरिक पर्यटकका लागि रोजाइको गन्तव्य हो । बुटवल–भैरहवा हुँदै लुम्बिनी पुग्न दुई घण्टा लाग्छ । गौतम बुद्धको जन्मस्थलका साथै विभिन्न शैलीमा निर्माण भएका चैत्य तथा गुम्बाहरू यहाँका विशेषता हुन् । लुम्बिनी नेपालको छुटाउनै नहुने पर्यटकीय गन्तव्य हो । लुम्बिनीमा एक दिनको बसाइ र खानपानका लागि प्रतिव्यक्ति २ हजारदेखि ६ हजार रुपैयाँसम्म खर्च हुनसक्छ ।
घोडाघोडी ताल
सुदूरपश्चिमको कैलालीस्थित यो ताल विशेष गरी यस क्षेत्रका थारु समुदायसँग जोडिएको छ । यो ताल हेर्न बर्सेनि हजारांै आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् । पूर्व–पश्चिम राजमार्ग नजिकैको यो ताल क्षेत्र चराचुरुङ्गीका लागि पनि प्रसिद्ध छ । यो ताल विशेष गरी सुदूरपश्चिम क्षेत्रका आन्तरिक पर्यटकका लागि नयाँ वर्ष मनाउने विशेष गन्तव्य हो ।
खप्तडखप्तड राष्ट्रिय निकुन्ज बझाङ्ग, बाजुरा, डोटी तथा अछाम जिल्लाको केन्द्र हो । नयाँ वर्षका अवसरमा पदयात्रा गर्न चाहनेहरूका लागि खप्तड उपयुक्त गन्तव्य हुनसक्छ । खप्तड बाबाको कुटी, त्रिवेणी नदी, शिव दह, केदारढुङ्गा जस्ता धार्मिक स्थलका साथै २२ वटा हिमाली फाँट पाटन यहाँका प्रमुख आकर्षण हुन् । त्यसका साथै यो क्षेत्रमा नाचिने हुड्के नाचले पनि जो कसैलाई आकर्षित गर्छ । खप्तडनजिकको प्रमुख बस्ती डोटीको शिलगढी हो । शिलगढीबाट अघि बढेपछि बास उपलब्ध गराउने स्तरीय होटलको व्यवस्था नभएको हुँदा आफैंले पाल, स्लिपिङ्गब्याग, खाना तथा पकाउने सामग्री बोकेर जानुपर्छ ।