नेपालमा बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान

२६ चैत, रत्ननगर – चितवन।
नेपालमा बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु भएको छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली सङ्घ  एनआरएनए  तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाको सहकार्यमा यो अभियान सुरु गरिएको हो ।

नेपालको आफ्नो मौलिक आतिथ्यता र संस्कारलाई व्यवहारमा उतारी यसलाई बाह्य देशमा फैलाएर पर्यटक भित्र्याउने लक्ष्यसहित अतिथि देवो भवः अभियान थालिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुमन घिमिरेले जानकारी दिए।

अहिले विभिन्न प्रचारात्मक अभियान थालिएको र उक्त अभियानअन्तर्गत पहिलो चरणमा चैत २७ गते नेपालका चार वटा मुख्य पर्यटकीय गन्तव्य क्षेत्रमा ‘नमस्ते अभियान’ कार्यक्रम सञ्चालन गर्न लागिएको घिमिरेले जानकारी दिए।

नेपालकै तेस्रो पर्यटकीय नगरी सौराहासहित काठमाडौँ, पोखरा र लुम्बिनीमा एकैसाथ ‘नमस्ते अभियान’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ । यसका लागि तयारीस्वरुप घिमिरेसहित पर्यटन बोर्डको एक टोली, तथा क्षेत्रीय होटल सङ्घ नेपाल र क्षेत्रीय रेवान, सौराहाले चितवनमा काम गरिरहेको छ ।

क्षेत्रीय होटल सङ्घ चितवनका महासचिव राममणि खनालले यो अभियानले नेपालमा पर्यटक भित्र्याउन सहयोग पुग्ने बताउँदै सौराहाले अझै शुद्ध विश्व प्रसिद्ध सफारी पर्यटनका साथै नेपाली संस्कार र संस्कृति पस्कने प्रतिबद्धता जनाए । यो सबैको साझा अभियान भएकाले यसमा सबैको सहभागिता आवश्यक हुन्छ खनालले भने ।

नेपालको नेचर, कल्चर र एड्भेञ्चरको परिचय दिँदै अतिथिदेवो भवः भन्ने नेपाली संस्कारलाई व्यवहारमा उतार्नका लागि यो अभियान सुरु गरिएको नमस्ते अभियान कार्यक्रमका संयोजक लक्ष्मण गौतमले जानकारी दिए ।

‘सत्कारमा पनि नेपाल अगाडि छ भनेर देखाउन तथा आफ्नो संस्कृतिको रुपमा रहेको अतिथि देवो भवःलाई बाह्य देशमा चरितार्थ गर्नका लागि यो अभियान महत्वपूर्ण छ,’– गौतमले भने ।

नमस्ते कार्यक्रमपछि वर्षभरी गरिने अभियानका बारेमा तालिका नै सार्वजनिक गरिने समेत उनको भनाइ छ । ‘मुख्यतः नेपाल राजनीतिक र प्राकृतिक सङ्कटमुक्त छ भनेर विदेशमा प्रचार गर्ने अभियान पनि हो यो ।’

विदेशमा सबै काम एनआरएनएका प्रतिनिधिको अगुवाइमा हुने छ । विश्वका ७५ देशमा एनआएनएका राष्ट्रिय समन्वय परिषद् छ । सो परिषदमार्फत विभिन्न देशमा एकजना एनआरएनएले तीनजना पर्यटकलाई नेपाल पठाउने लक्ष्यसहित अभियान सुरु गरिएको उक्त अभियानका सचिवालय सदस्य भरत चन्दले बताए ।

‘विदेशबाट पर्यटक पठाएर मात्रै भएन, उनीहरुलाई राम्रो आतिथ्यता हुनुपर्यो, स्वागत सत्कार राम्रो भयो भने न पर्यटक दोहोर्या्एर यहाँ आउँछन्,’ चन्दले भने – ‘यहाँबाट फर्केर आफ्नो देश जाँदा उनीहरुले साथीभाइलाई पनि भन्छन्, त्यसैका लागि अतिथिदेवो भवः र नमस्ते कार्यक्रम ल्याइएको हो ।’

एनआरएनएका उपाध्यक्ष तथा पर्यटन प्रवद्र्धन नेपाल समिति, गैर आवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्टको संयोजकत्वमा अभियान सञ्चालन गरिएको छ ।

पछिल्लो समयमा नेपालमा भूकम्प अघि जस्तै पर्यटकको आगमन छ । साविक जस्तै अहिले नेपालमा वार्षिक करिब आठ लाख पर्यटक आउन थालेको नमस्ते कार्यक्रमका संयोजक लक्ष्मण गौतम बताउँछन् ।

उनकाअनुसार यो अभियानले नेपालमा दोब्बर पर्यटक आगमन बढाई वार्षिक १५ लाखभन्दा बढी पुर्याउने लक्ष्य लिइएको छ । चितवनका पर्यटन व्यवसायी शीरलाल परियार उक्त अभियानले नेपालमा पर्यटक भित्र्याउन कोसेढुङ्गा सावित हुन्छ भने । ।रासस


Facebook Comment


No ads found for this position