अन्नपूर्ण पदमार्गमा पर्यटक बढ्न थाले
लमजुङ (बेँसीसहर), २७ चैत । अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ । टिम्स चेक पोस्ट बेँसीसहरको तथ्याङ्कअनुसार मार्च महिनामा मात्रै दुई हजारभन्दा बढी विदेशी अन्नपूर्ण पदमार्गमा आएका छन् । टिम्सकी कर्मचारी मीना गुरुङले मार्च महिनामा दुई हजार ५९६ विदेशी पर्यटक लमजुङ आएको बताउनुभयो ।
अप्रिल लागेसँगै दैनिक १०० भन्दा बढी विदेशी पर्यटक आउने गरेको गुरुङको भनाइ छ । पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटक आउने गरेको बताइन्छ ।
अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको पनि आगमन बढेको छ । मनाङ सदरमुकाम चामेसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । पछिल्लो समय विदेशी पर्यटक जतिकै आन्तरिक पर्यटकको पनि उल्लेख्य वृद्धि हुन थालेपछि पर्यटन व्यवसायी थप उत्साहित भएका छन् । पछिल्लो समय विभिन्न क्लब, तथा सङ्घसंस्थामा आबद्ध भएकासमेत बिदा मिलाएर भए पनि अन्नपूर्ण पदमार्गमा जाने गरेका छन् ।
लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।
सौखिनका लागि जीवनको प्रतिष्ठा समेत बन्ने गरेको पाँच हजार ४१६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिएको छ ।