थप एक गैँडा नियन्त्रणमा, तीन दशकमा ९८ गैँडा स्थानान्तरण

रत्ननगर (चितवन), २८ चैत । प्रजाति संरक्षणका लागि शुक्लाफाँटा पठाउन चितवन राष्ट्रिय निकुञ्जले ढाट गरेर आज एउटा पोथी गैँडा नियन्त्रणमा लिएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार बिहान करिब ९ बजेको समयमा गैँडा नियन्त्रणमा लिइएको हो ।

यसअघि चारवटा गैँडा निकुञ्जले शुक्लाफाँटा पठाइसकेको छ । आज समाएको गैँडा योपटकका लागि अन्तिम भएको उहाँले जानकारी दिनुभयो । यही चैत २१ गतेबाट यहाँ गैँडा स्थानान्तरणको काम सुरु भएकामा आजसम्म छवटा गैँडा नियन्त्रणमा लिइएकामा एउटा भाले गैँडा भने बर्दिया पठाइएको छ ।

गैँडा समाउन चिकित्सक र प्राविधिक टोलीसहित ३० हात्ती र झन्डै १०० जनाको टोली निकुञ्जको पश्चिम क्षेत्र सुखिभारमा खटाइएको थियो । सन् २००१ मा शुक्लाफाँटामा पहिलोपटक यहाँबाट चारवटा गैँडा पठाइएको थियो ।

सन् २०१५ को गणनाअनुसार नेपालमा ६४५ गैँडा छन् । त्यसमध्ये ६०५ वटा चितवनमा छ भने आठवटा शुक्लाफाँटामा छन् । बर्दियामा २९ र पर्सामा तीनवटा गैँडा थिए । अहिले भने गैँडाको सङ्ख्या बढेको जनाइएको छ ।

शुक्लाफाँटा र बर्दियामा ९८ गैँडा स्थानान्तरण

चितवन राष्ट्रिय निकुञ्जले बर्दिया र शुक्लाफाँटामा हालसम्म ९८ वटा दुर्लभ एकसिङ्गे गैँडा स्थानान्तरण गरेको छ ।

सन् १९८६ देखि सुरु भएको गैँडा स्थानान्तरणमा अहिलेसम्म बर्दियामा मात्रै ८९ वटा गैँडा पठाइसकिएको छ भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नौवटा गैँडा स्थानान्तरण भएको चितवन निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार सन् १९८६ देखि २०१५ सम्ममा बर्दियामा ४० भाले र ४८ पोथी गैँडा पठाइएको थियो । अघिल्लो हप्तामात्रै फेरि बर्दियामा एउटा भाले पठाइएको छ । आजसमेत गरेर शुक्लाफाँटामा एक भाले र चार पोथी पठाइएको निकुञ्जले जनाएको छ ।

त्यही हुर्केका र अहिले स्थानान्तरण गरिएका गरी शुक्लाफाँटामा हाल १४ गैँडा पुगेका छन् भने बर्दियामा ३५ गैँडा पुगेको तथ्याङ्क छ । द्वन्द्वका बेला लगिएका गैँडा अत्यधिक रुपमा तस्करले मारेका थिए । बर्दियामा ८३ वटा गैँडा तस्करले नै मारेको जनाइएको छ ।


Facebook Comment


No ads found for this position