हवाईयात्रा गर्ने पर्यटकलाई चितवनका होटलमा २५ प्रतिशत छुट

चितवन: नारायणगढ-मुग्लिन सडकखण्डमा यात्रा गर्न जोखिम र असहज भएपछि हवाईमार्ग भएर जिल्ला भित्रिने पर्यटकलाई यहाँका होटल सञ्चालकले २५ प्रतिशत छुटको व्यवस्था गरेका छन् ।

जिल्लामा भित्रिने पर्यटक घटेको भन्दै होटल सञ्चालकले सो छुटको व्यवस्था गरेको हो । यहाँ अधिकांश पर्यटक काठमाडौँबाट आउने गर्छन् । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमै भएकाले विदेशी पर्यटकको पहिलो गन्तव्य काठमाडौँ नै बन्ने गर्छ ।

दोस्रो गन्तव्य पोखरा जानका लागि सडक यातायात पनि सहज छ । तर चितवन आउँदा नारायणगढ-मुग्लिन सडकखण्ड पार गर्नुपर्ने हुन्छ ।

स्तरोन्नतिको काम भइरहेको उक्त सडक दैनिक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गरिन्छ भने समय समयमा खस्ने पहिरो, ढुङ्गा र हिलोका कारण पर्यटक घन्टौँ सवारी जाममा पर्छन् ।

“अहिले सवारी जामकै कारण पर्यटकको रोजाइ चितवन नभई पोखरा हुने गरेको छ,” क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले भने । भूकम्पअघिका वर्षमा ६० प्रतिशत होटल बुकिङ हुने भए पनि अहिले ४० प्रतिशतमात्रै बुकिङ भएको उनको भनाइ छ ।

सडककै कारण २० प्रतिशत पर्यटकमा कमी आएका कारण सङ्घले निर्णय गरेर हवाईमार्ग प्रयोग गर्ने पर्यटकलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको घिमिरेले बताउनुभयो । होटल सञ्चालकले तोकेको महसुलमा बोर्डिङ पासको अधकट्टी पेस गर्ने पर्यटकलाई २५ प्रतिशत छुट दिन सबै होटललाई परिपत्र गरिएको छ ।

यहाँका होटलमा आठ अर्बभन्दा बढी लगानी भइसकेको छ । एक सय ५० वटा पर्यटकीय होटल जिल्लामा रहेका छन् ।

सबैभन्दा बढी सौराहामा छन् भने निकुञ्ज आसपासका क्षेत्र पटिहानी, जगतपुर, मेघौलीमा पछिल्लो समय पर्यटकीय होटल थपिँदै गएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका दुर्लभ वन्यजन्तु अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक यहाँ आउने गर्छन् ।

क्षेत्रीय होटल सङ्घले हवाई भाडामा समेत छुट दिन विमान कम्पनीलाई आग्रह गरेको छ । हाल काठमाडौँ–भरतपुर एकतर्फी उडानको नेपालीका लागि रु तीन हजार ५०० र विदेशीका लागि १०९ डलर हवाई भाडा तोकिएको छ ।


Facebook Comment


No ads found for this position