वज्रयोगिनी मन्दिरको पुनःनिर्माण सुरु

काठमाडौँ, २९ चैत । काठमाडौँको उत्तरी भेगमा अवस्थित वज्रयोगिनी मन्दिरको पुनःनिर्माण सुरु भएको छ । गत वर्ष आएको भूकम्पका कारण सो मन्दिरमा क्षति पुगेपछि त्यसको पुनःनिर्माण गर्न लागिएको हो । पुरातत्व विभागले मन्दिर जीर्ण भएपछि त्यसलाई प्राचीन शैलीमा अत्याधुनिक प्रविधि तथा निर्माण सामग्रीको प्रयोग गरी बनाउन लागेको छ । करिब रु सात करोड ५० लाखको लागतमा पुनःनिर्माण गरिने लक्ष्य राखिएको छ ।
कुनै पनि समय मन्दिर भत्कन सक्ने जोखिम बढेपछि सो मन्दिर आसपास क्षेत्रका सर्वसाधारण त्रसित भएकाछन् । करिब चार सय वर्ष पुरानो सो मन्दिर पेगोडा शैलीमा निर्माण गरिएको थियो ।
स्थानीय प्रहरी हवल्दार नवराज खड्काले मन्दिरमा रहेका प्राचीन महत्वका सामान हराउने डर भएपछि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिनुभयो । तान्त्रिक विद्याबाट पूजा हुने उक्त मन्दिरमा हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैले आस्था प्रकट गर्ने
गर्छन् । मन्दिर वरपरका क्षेत्रमा आकर्षक मनोरम दृष्य र पर्यटकीय गन्तव्य रहेकाले पनि स्वदेश तथा विदेशबाट समेत त्यस क्षेत्रमा पर्यटक घुम्न आउने गरेको पाइएको छ ।
मन्दिरको स्रोतका रुपमा करिब एक हजार तीन सय रोपनी क्षेत्रफल जमिन रहेको छ । त्यसमा गुठियारले अतिक्रमण गरेकाले मन्दिरका विभिन्न जात्रापर्व सञ्चालन गर्न कठिनाइ रहेको पुजारी कनकमुनि वज्राचार्यले जानकारी दिनुभयो ।

त्यस क्षेत्रमा बौद्ध चैत्य, वज्रयोगिनीको रातो वर्णको मूर्ति, दक्षिणकालीको मूर्ति, महाकाल, भैरवलगायतका मूर्ति छन् । काठमाडौँबाट करिब २५ किमीको दूरीमा पर्ने त्यस क्षेत्रको संरक्षणका लागि सरकारले लगानी गर्नुपर्ने स्थानीयवासी प्रल्हाद खत्रीले माग गर्नुभयो । स्थानीय पूर्वाधार तथा विकास निर्माणका साथै व्यवस्थित शौचालयको व्यवस्था हुनुपर्ने सुझाव उहाँ दिनुहुन्छ ।
मन्दिर परिसरमा रहेका नौ कुण्ड र नौ गुफासमेत संरक्षण गर्न आवश्यक देखिएको छ । प्रत्येक वर्ष श्रीस्वस्थानी माताका बर्तालुलाई मन्दिर दर्शन गराउने गरिन्छ । चैत शुक्ल पूर्णिमाका दिन सो मन्दिरमा मेला लाग्ने गर्छ ।


Facebook Comment


No ads found for this position