शुरु भयो ‘फेवा नव वर्ष महोत्सव’

२९ चैत, पोखरा । पोखरामा मंगलबारबाट ‘फेवा नव वर्ष महोत्सव’ सुरु भएको छ । पश्चिमाञ्चल होटल संघको आयोजनामा नेपाली नयाँ वर्षको स्वागतार्थ लेकसाइडस्थित फेवाताल किनारको कोमागाने पार्कमा महोत्सव शुरु भएको हो ।

 

बैशाख २ गतेसम्म चल्ने महोत्सवको मंगलबार होटल संघ नेपालकी बरिष्ठ उपाध्यक्ष सृजना राणाले उद्घाटन गरिन् ।

उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै राणाले महोत्सवले पोखराको पर्यटन प्रबर्द्धनमा सघाउ पुर्‍याएको बताइन् । उनले आन्तरिक तथा बाहृय पर्यटन प्रबर्द्धनका लागि गरिने कार्यक्रममा पश्चिमाञ्चल होटल संघसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताइन् ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष बिकल शेरचनले फेवातालको संरक्षण गर्दै पर्यटन प्रबर्द्धन र वातावरण संरक्षणका लागि महोत्सव आयोजना गरेको बताए ।

महोत्सवको उद्घाटनअघि झाँकीसहितको र्‍याली निकालिएको थियो । खहरेचोकदेखि सुरु भएको र्‍याली हल्लनचोक, बराहीचोक हुँदै कोमागाने पार्कमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो । र्‍यालीमा सहभागी २६ झाँकीमध्ये मगर संघ कास्की प्रथम, नेवा कचाः खल बैदाम द्वितीय र किराँत सेवा समाज पोखरा तृतीय भए । उनीहरुलाई नगदसहितको पुरस्कार प्रदान गरियो ।

१४औं संस्करणको फेवा नव वर्ष महोत्सवमा पर्यटन, संस्कृति र खाना मूख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सवमा पाँच तारे होटलदेखी स्थानिय क्षेत्रमा पाइने सबै प्रकारका खानाहरु एकै ठाउँमा पाइने, प्रत्येक दिन सांगीतिक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरको लोकदोहोरी गीत प्रतियोगिता, पप कन्सर्ट लगायतका कार्यक्रम राखिएका छन् । त्यसतै डुङ्गा दौड, पर्यटक दौड, नृत्य प्रतियोगिता लगायतका कार्यक्रम पनि समावेश गरिएका छन् ।


Facebook Comment


No ads found for this position