पहाड फुटाएर सडक खन्ने होडबाजी

कालिकोटः हुम्लाको सिमिकोट र डोल्पाको दुनैसम्म राष्ट्रिय सडक सञ्जाल पुर्याउन नेपाली सेनाले तीव्र गतिमा काम गरिरहेको छ । सेनाले कर्णाली राजमार्ग निर्माण गरेपछि दुवै जिल्लाका सदरमुकाममा सडक सञ्जाल जोड्न कर्णाली करिडोर र भेरी करिडोरको कामलाई तीव्रता दिएको हो ।

कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्लाको सिमिकोटसम्मको १९२ किमिमा स्थानीयवासीको मागअनुसार नै २०७१ चैत ९ गते सेनाले निर्माण गर्ने जिम्मा लिएको थियो ।

भेरी करिडोरअन्तर्गतको जाजरकोट—डोल्पा सडकखण्डको जम्मा ११७.७ किमि सडकमध्ये १०८ किमि सडक निर्माण कार्य सम्पन्न भइसकेको छ र नौ किमि सडकमात्र बाँकी रहेको छ । अबको एक वर्षभित्रै सदरमुकाम दुनै जोड्ने लक्ष्य रहेको सेनाको निर्माण कार्यदलले जनाएको छ ।

भेरी करिडोरअन्तर्गत जाजरकोटदेखि अहिले त्रिवेणी—करोपगाड सडकखण्डको निर्माण कार्य तीव्र पारिएको जाजरकोट—डोल्पा सडक निर्माणका कार्यदल प्रमुख विश्वबन्धु पहाडीले बताए । “सडकखण्डको निर्माण कार्य छिटो र गुणस्तरीय बनाउन दुईवटा डोजर लगाई काम सञ्चालन गरिएको छ ।” उनले भने, “डोल्पाको त्रिवेणी, खदाङ, चुँगाडलगायत स्थानमा निर्माण आधार खडा गरेर सेनाले कामलाई थप सशक्त बनाइरहेको छ ।”

एक वर्षभित्रै सदरमुकाम दुनै जोड्ने लक्ष्य रहेको सेनाले बताएको छ । आउँदो वैशाखभित्र नै करोपगाडसम्म सडक निर्माणको काम पूरा गरेर यातायात सञ्चालनमा ल्याउने सेनाको दाबी छ ।

करोपगाड–खदाङ सडकखण्डको निर्माण कार्य पनि तीव्र पारिएको छ । त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतको खदाङसम्म आउँदो दसैंअगाडि नै सडक जोडेर यातायात सञ्चालनमा ल्याउने सेनाको लक्ष्य छ ।

खदाङसम्म मात्रै भए पनि सडक जोडिएपछि डोल्पालीलाई ठूलो राहत हुने खदाङका स्थानीयवासी राजबहादुर बुढाले बताए । “सेनाले यही गतिमा काम गर्ने हो भने अबको एक वर्षभित्रै सदरमुकाम दुनैसम्म सडक जोड्न सफल हुनेछ” उनले भने ।

  यसै आवमा ६८ किमि सडक निर्माण हुने
त्यस्तै, कर्णाली करिडोर निर्माणको जिम्मा लिएको नेपाली सेनाले रेगिलघाटको १ किमि चट्टाने भिर र आमतडा भीर, भुराबगर र शान्तिघाटका चट्टाने भीर फोडिरहेको छ । यसै आर्थिक वर्षभित्र कालिकोटको खुलालुदेखि बाजुराको अर्थुंगेचौरसम्मको ६८ किमि सडक निर्माण गरिसक्ने नेपाली सेना सडक निर्माण कार्यदल प्रमुख कर्णेल इन्द्रवीर गुरुङले बताए ।

“खुलालुदेखि बाजुराको अर्थुंगेचौरसम्मको ६८ किमि सडक यसै आर्थिक वर्षमा सम्पन्न गर्छौं ।” उनले भने, “एक महिनाभित्र १५ किमिमा गाडी गुडाउने तयारी छ ।”
कालिकोटको खुलालुदेखि हुम्ला सिमिकोटसम्म ८ किलोमिटर ठूलाठूला चट्टाने भूभाग रहेको कर्णाली करिडोर अबको ३ वर्षभित्र निर्माण कार्य गरिसक्ने सडक निर्माण कार्यदलका कर्णेल गुरुङले बताए । “हुम्लाको सिमिकोटसम्मको सडक ५ वर्षभित्र निर्माण गर्ने लक्ष्य लिएका छौं ।” उनले भने, “त्योभन्दा अगाडि नै काम सम्पन्न हुने सम्भवना छ ।”कर्णाली करिडोरको खुलालुदेखि फुगाडसम्मको २४ किमिमा अहिले गाडी चलिरहेको छ ।

सुदूरपश्चिममा पहाड फुटाएर सडक खन्ने होडबाजी

हरिश चन्द
सुदूरपश्चिमका सबै जिल्लामा ठूला–ठूला पहाड फुटाएर सडक खन्ने होडबाजी चलेको छ । सरकारले बजेट नदिए पनि स्थानीयस्तरबाटै चन्दा संकलन गरेर भए पनि घरदैलोमै यातायातका साधन पु¥याउन प्रतिस्पर्धा चलेको छ ।

तर त्यस्ता सडक मापदण्डविपरीत खन्दा जोखिम पनि उत्तिकै मात्रामा बढेको सरोकारवालाको भनाइ छ । सुदूरपश्चिमका अधिकांश ग्रामीण सडकहरू मापदण्डविपरीत निर्माण भइरहेकाले बाढीपहिरो र दैवीप्रकोपको उच्च जोखिमसमेत निम्त्याइरहेको जिल्ला समन्वय समितिको भनाइ छ ।

स्थानीयले मनोमानी सडक निर्माण गर्दा सुदूरपश्चिमका ८० प्रतिशतभन्दा बढी सडक मापदण्डविपरीत निर्माण भएको जिल्ला समन्वय समिति डडेल्धुराका प्राविधिकको भनाइ छ ।

सडक खन्दा चौडाइ नभएको, मोडहरू नमिलाइएको, उकालो ओरालोको ग्रेड नमिलाएको, धेरै घुमाउरो र अन्धाधुन्ध खनिँदा कुनै पनि मापदण्ड पूरा नभएको स्वयं उपभोक्ता बताउँछन् । प्राविधिकको परामर्शबिना सडक निर्माण गर्ने प्रवृतिले ग्रामीण सडक मापदण्डअनुसार निर्माण हुन नसकेको हो ।

यातायात सञ्चालनका लागि पूरा हुनुपर्ने मापदण्ड पूरा नगरी अन्धाधुन्ध सडक खनिँदा सुदूरपश्चिमका ८० प्रतिशत सडक उच्चजोखिममा छन् । सरकारले बर्सेनि अर्बाैं रुपैयाँ खर्च गरेर ग्रेड नमिलाई सडक निर्माण गर्दा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुहरूको भनाइ छ ।

उपभोक्ता समितिका पदाधिकारीले आफू खुसी डोजर प्रयोग गरेर सडक निर्माण गर्दा मापदण्डअनुसार सडक निर्माण नभएका हुन् । गाउँपालिका, जिल्ला समन्वय समिति, नगरपालिकादेखि संसद् विकास कोषको रकमबाट निर्माण भएका अधिकांश सडक मापदण्ड पूरा नगरी निर्माण भए पनि रोक्न नसकेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।


Facebook Comment


No ads found for this position