निर्वाचन बहिष्कार गर्ने मधेसी मोर्चाको निर्णय

३० चैत, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन विधेयकको नयाँ प्रस्ताव पुरानो प्रस्तावभन्दा पनि पछाडि फर्केको आरोप लगाउँदै स्थानीय चुनावमा सहभागी नहुने निर्णय गरेको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालय बिजुलीबजारमा बसेको बैठकले हिजो मंगलबार सरकारले संसदमा पेस गरेको विधेयकले मोर्चाको मुख्य माग सीमांकन लगायत माग सम्बोधन नगरेको, पुरानो विधेयकमा उल्लेखित नागरिकता, राष्ट्रिय सभा, भाषाको विषय परिमार्जन नगरिएको भन्दै यो विधेयकको स्वामित्व नलिने निर्णय गरेको हो । सरकारले यो विधेयक मोर्चासँगको समझदारीमा ल्याएको दाबी गरे पनि मधेसवादी घटकहरुले त्यो कुरा अस्वीकार गर्दै मोर्चा शीर्ष नेता र सत्तारुढ दलबीचको कार्यदलमा भएको समझदारीभन्दा विधेयकमा फरक देखिएको मोर्चाले ठहर गरिएको तमलोपा सहमहामन्त्री सुरेन्द्र झाले इकान्तिपुरलाई बताए । र, बैठकले निर्वाचनको विरोधमा प्रदर्शन लगायत आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।

आजको बैठकमा सात घटक मधेसवादीमध्ये ६ दलका अध्यक्ष सहभागी थिए । राष्ट्रिय मधेय समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी भने उपत्यका बाहिर छन् । मोर्चा बैठक सकिनेबित्तिकै नेताहरु संघीय गठबन्धनको बैठकका लागि संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेतिर लागेका छन् ।

मोर्चाको बैठकपछि जारी विज्ञप्ति पढ्नुहोस् । 


Facebook Comment


No ads found for this position