हिउँले छेक्छ ६ महिना बाटो

हरी गाैतम। डोल्पा माझपालका बलबहादुर बुढा झन्डै एक साता लगाएर रुकुम सिस्नेस्थित ससुराली पुगे । माझपालबाट थालंग्यो, त्रिवेणी, गोतामकोट, तल्लु, राडी, बाँफीकोट, पीपल, पोखरा, प्वाङ हुँदै हिँडेर सिस्ने पुग्न उनलाई निकै कष्ट भयो ।

२३ वर्षअघि विवाह गरेका उनी पहिलोपल्ट सात दिनसम्म हिँडेर ससुराली पुगेका हुन् । ‘जरुरी काम थियो र मात्रै यतिका दिन हिँडेर आएको हुँ,’ उनले भने, ‘नत्र त ससुराली नै आइन्न ।’ ६ वर्षअघि डोल्पा जुफालबाट ठूलो सिस्ने विवाह गरेर आएकी पार्वती बुढालाई पनि भनेकै समयमा माइती पुग्न समस्या हुन्छ । बलबहादुर र पार्वती मात्रै होइन, जो कोहीलाई पनि कात्तिकदेखि वैशाख अन्तिम सातासम्म सिस्ने–डोल्पा वा डोल्पा–सिस्नेको यात्रा सहज छैन ।

वास्तवमा सिस्ने–डोल्पा एक दिन एक बिहानको मात्र बाटो हो, जसका लागि ठूलो सिस्नेबाट रिरिवाङ, पुरमुली, रातामाटा, द्वारी हुँदै डोल्पा पुगिन्छ । तर यो छोटो बाटो कात्तिक पहिलो साताबाट पर्ने हिउँले ढाकिदिन्छ, वैशाख अन्तिम सातासम्मै । छोटो मार्ग हिउँले छेकेपछि काम विशेष वा बाध्यता नपरी ७ दिन हिँड्न कोही पनि चाहँदैनन् । ‘ठूलै कामबाहेक यत्रो लामो बाटो हिँडेर आउजाउ गर्न मुस्किल छ,’ पार्वतीले भनिन्, ‘६ महिनासम्म नाकाबन्दीजस्तै हुन्छ हामीलाई, कात्तिकदेखि वैशाखसम्म जत्रै दु:ख र खुसीको अवसर परे पनि माइती गइँदैन ।’

कात्तिकबाट पर्न थालेको वैशाख अन्तिम सातातिर पग्लिएपछि मात्रै आवतजावत सहज हुन्छ । हिउँ रहने ६ महिनासम्म डोल्पाका जुफाल, माझपाललगायत दर्जनौं बस्तीका बासिन्दालाई नजिकैका गाउँमा जान पनि समस्या हुने बलबहादुरले सुनाए । ‘हाम्रोतिर (डोल्पामा) अन्यत्रबाट ल्याइएका गाईगोरु टिक्दैनन्, सिस्नेमा पालिएका गाईगोरु, खसीबोका र बाख्रा मात्र बचाउन सकिने भएकाले सिस्नेसँगै कारोबार र आउजाउ बढी हुन्छ,’ उनले भने, ‘तर त्यो ६ महिने हिउँको नाकाबन्दी खुलेपछि मात्रै सम्भव हुन्छ ।’

अन्य वस्तुभाउ र जमिन जोत्ने गोरु मात्र होइन, अन्य घरायसी सामग्री डोको, नाम्लो, मान्द्रो पनि सिस्नेबाटै डोल्पामा लगिन्छ । ‘बाटो बन्द हुने भएकाले ६ महिनाका लागि आवश्यक सामग्री पहिल्यै किन्नुपर्ने हुन्छ,’ ठूलो सिस्नेका दलजित बुढाले भने, ‘उताकालाई आवश्यक पर्ने वस्तु हामी पठाउन सक्दैनौं, हामीलाई चाहिएको वस्तु यता मगाउन सकिन्न, हिउँले बाटो बन्द हुँदा यी ६ महिना दुवैतिर अप्ठ्यारो र घाटा भइरहेको छ ।’साभार कान्तिपुर


Facebook Comment


No ads found for this position