आन्तरिक हवाइसेवा दिने अन्तिम तयारीमा श्री एयरलाइन्स

रबिन्द्र घिमिरे ,३० चैत, काठमाडौं । हेलिकोप्टोर उडानमा केन्द्रित श्री एयरलाइन्सको पहिलो जहाज आज बुधबार काठमाडौं आइपुग्दैछ । अपरान्ह ४.३० बजे श्री एयरलाइसन्सको पहिलो ५० सिट क्षमताको विमान काठमाडौं अवतरण गर्नेछ ।

यो विमान आएसँगै श्री एयरलाइन्स विमानमार्फत आन्तरिक हवाइ उडान गर्ने नयाँ कम्पनी बन्नेछ । श्री एयरलाइन्सले यसपछि तत्काल थप २ वटा विमान पनि ल्याउँदैछ ।

 

बुधबार श्रीको ‘बम्वार्डियर सीआरजे-२००’ सिरिजको विमान आउन लागेको हो । ८७ फिट लम्बाई र २० फिट अग्लो हुने नयाँ आउने विमान विमानका पखेटाको क्षेत्र भने ६९ फिट हुनेछ । यो जहाज ७५ फिटमा टर्निङ गर्न सक्ने खालको हुनेछ ।

श्रीको आज अवतरण हुने विमान जापानबाट ल्याइएको हो । श्रीले नियमित उडानको आन्तरिक हवाइसेवा दिने गरी अनुमति पाइसकेको छ । श्रीले १७ वर्षदेखि हेलिकोप्टर उडान गरिरहेको छ ।

अब नियमित उडानमा पनि सेवा विस्तार गर्न लागेको कम्पनीका कर्पोरट म्यानेजर अनिल मानन्धरले बताए । जाहज आएलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणमा उडान अनुमतिका प्रक्रिया सुरु गर्ने उनले बताए ।

कम्पनीले जर्मनीमा बनेका थप दुई विमान पनि युरोपबाटै ल्याउँदैछ । नयाँ विमानहरु पनि केहीसाताभित्रै आइसक्ने मानन्धरले बताए । कम्पनीले अब थप एउटा सीआरजे-२०० नै र अर्को सीआरजे-७०० मोडलको विमान ल्याउने छ । सीआरजे-७००  भने ७० सिट क्षमताको हुनेछ ।

क्यानडामा निर्माण भएको यो जहाजहरु आएपछि थप जहाज भित्रिएसँगै कम्पनीले तालिकाबद्ध उडान भर्ने जनाएको छ ।
३ वटा ल्याएपछि अर्को एउटा विमान पनि ल्याउन कम्पनीले तयारी गरिरहेको छ । तर, त्यसको प्रक्रिया भने टुंगिएको छैन ।

श्रीले ३ वटा विमान आएपछि प्रक्रिया पुरा गरेर कम्पनीले नियमित उडान थाल्नेछ । कम्पनीले आफ्नो उडानलाई बढी यात्रुको चाप हुने विमानस्थलमा केन्दि्रत गर्न लागेको छ ।

नयाँ आउने विमानहरु दुर्गम क्षेत्रका विमानस्थलमा अवतरण गर्न नसकिने खालका भएकाले सुगम क्षेत्रमा नै कम्पनी केन्दि्रत हुनेछ ।

श्रीले जहाजमार्फत नियमित रूपमा  नेपालगञ्ज, भद्रपुर, धनगढी, भैरहवा र विराटनरमा आफ्नो उडान भर्ने योजना बनाएको छ । श्रीले अहिले ८ वटा हेलिकोप्टरमार्फत सेवा दिइरहेको छ ।

कम्पनीले हाल एमआई-१७ का ६ वटा र युरोपियन कम्पनी एस-३५० बी३ई २ वटा हेलिकप्टरमार्फत उडान गरिरहेको छ । नेपालमा अहिले हेलिकोप्टर र जहाजमार्फत उडान गर्ने १८ वटा कम्पनी छन् ।साभार अनलाइनखबर


Facebook Comment