नयाँ वर्षको अवसरमा भक्तपुर जात्रामय

नयाँ वर्षको अवसरमा भक्तपुर जात्रामय बनेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटार र ३ दधिकोटको सङ्गमस्थलमा रहेको चरखण्डी मन्दिरमा शुक्रबार बिहानैदेखि स्नान गर्नेको घुईचो लागेको छ ।

चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर चरखण्डीश्वर महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई पूण्य प्राप्त हुने जनविश्वासका कारण यहाँ हरेक वर्ष बैशाख १ गते बिहानैदेखि दिनभरी नै दर्शनार्थीको घुईचो लाग्ने गर्दछ ।  मन्दिरमा बिहान ५ बजेदेखि नै तीनवटा खट सहितको खट जात्रा समेत गरिएको छ ।

त्यस्तै दधिकोटको चित्रपुरमा रहेको गणेश मन्दिरमा पनि बिहानैदेखि मेला लागेको छ भने गणेशको खट जात्रा समेत गरिएको छ । भक्तपुरको सिरुटार र ललितपुरको टीकाथली गाविस जोड्ने दोभानस्थित गुप्तेश्वर महादेव मन्दिरमा पनि मेला लागेको छ ।

त्यसैगरी भक्तपुरको सुडालमा पनि २ वटा खट सहितको जात्रा संचालन गरिएको छ । नयाँ वर्षकै अवसरमा मध्यपुर थिमीका बासिन्दाले मनाउने प्रसिद्ध विष्णुवीर एवम् सिद्धिकाली जात्रा आज थिमीमा मनाईएको छ । बैशाख १ गते राती ३ बजेदेखि सुरु भएको बालकुमारी तथा दक्षिण बाराही जात्रा आज विहान सकिएको छ ।


Facebook Comment


No ads found for this position