घोरेपानीमा पर्यटक दोब्बर

गोपाल छन्त्याल

 बेनीः विनाशकारी भूकम्पका कारण चौपट बनेको घारेपानीको पर्यटन व्यवसाय लयमा फर्केको छ । एक वर्षको अवधिमा जिल्लाको मुख्य पर्यटकीय गन्तव्य मानिने घोरेपानीमा दोब्बर पर्यटक भित्रिएपछि व्यवसायीले भूकम्पको घाउ बिर्सँदै गएका छन् । २०७२ सालमा १९ हजार तीन सय ४८ पर्यटक भ्रमणका लागि आएकोमा ०७३ मा ४५ हजार ६ सय ८५ पर्यटक भित्रिएको प्रहरी पर्यटक कार्यालय घोरेपानीले जनाएको छ । अन्नपूर्ण गाउँपालिकाअन्तर्गतको घोरेपानी समुद्री सतहदेखि २८१० मिटरको उचाइमा अवस्थित छ ।

धौलागिरि, नीलगिरि र अन्नपूर्णलगायत दर्जनभन्दा बढी हिम शृंखला र पुनहिलबाट सूर्योदयको अवलोकन, पाहुनालाई आत्मीय सत्कार दिने स्थानीय संस्कार र सुविधासम्पन्न होटेलको व्यवस्थाका कारण घोरेपानी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।घोरेपानीमा एक दर्जन सुविधासम्पन्न होटेल छन् । त्यसमा एकैरात पाँच सय जना बास बस्न सक्ने क्षमता छ । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत कास्कीको नयाँ पुल हुँदै मुस्ताङ प्रवेश गर्ने र मनाङ भएर मुस्ताङको थोराङला पास हुँदै कास्की निस्कने पदयात्रीका लागि घोरेपानी मुख्य पर्यटकीय गन्तव्य हो । खोप्रालेक, घान्द्रुक र एबीसीजस्ता चर्चित गन्तव्यमा पुग्न पनि घोरेपानी हुँदै जान सकिन्छ ।

 अन्नपूर्ण पदमार्गअन्तर्गत कास्कीको नयाँ पुल हुँदै मनाङ र मुस्ताङको थोराङला पास भएर कास्की निस्कने पदयात्रीका लागि घोरेपानी मुख्य पर्यटकीय गन्तव्य हो ।

प्रहरी पर्यटक कार्यालय घोरेपानीका प्रमुख प्रहरी सहायक निरिक्षक वीरेन्द्र महतले दिएको जानकारी अनुसार चैत महिनामा मात्रै आठ हजार तीन सय ३५ पर्यटक भित्रिएका थिए । ‘नव वर्ष २०७४ को पहिलो दिन आन्तरिक तथा बाह्य पर्यटकको घुइँचोले बासै पाउने अवस्था थिएन, कति पर्यटक त शिख र घान्द्रुकतिर गएका थिए’, उहाँले भन्नुभयो, ‘एक वर्षको अवधिमा दोब्बर पर्यटक भित्रिनु उत्साहजनक अवस्था हो ।’प्रहरीले दिएको जानकारी अनुसार फागुनमा तीन हजार चार सय ९४, माघमा दुई हजार सात सय ९५, पुसमा तीन हजार एक सय ११, मंसिरमा चार हजार एक सय ११, कात्तिकमा ६ हजार चार सय ११ र असोजमा चार हजार पाँच सय ८७ पर्यटक भित्रिएका छन् । त्यस्तै, भदौमा ११ सय ८८, साउनमा १५ सय १२, असारमा १७ सय ४८, जेठमा चार हजार ६ सय २१ र वैशाख महिनामा एकहजार आठ पर्यटक भित्रिएको तथ्यांक छ । वैशाख, जेठ, असोज, कात्तिक, मंसिर, फागुन र चैत महिना पर्यटकको सिजन मानिन्छ । फागुन र चैतमा घोरेपानी र पुनहिलको जंगलमा गुराँस फुल्ने हुँदा पर्यटक धेरै आउँछन् ।होटेल व्यवसायी संघ घोरेपानीका अध्यक्ष जुनु पुनले भूकम्पका कारण विथोलिएको पर्यटन व्यवसाय लयमा फर्किएको बताउनुभयो । ‘०७३ सालमा बन्द हड्ताल पनि भएन । अन्तर्राष्ट्रिय क्षेत्रमा सकरात्मक सन्देश प्रभाव भएका कारण पर्यटकको उत्साहजनक उपस्थिति रह्यो’, उहाँले भन्नुभयो । घोरेपानीमा बाह्य पर्यटककै हाराहारीमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् तर प्रहरीले यसको तथ्यांक संकलन गर्दैन । लामो छुट्टी र खुला मौसमका समयमा विद्यार्थी, अभिभावक, सरकारी कर्मचारी समय व्यतित गर्न घोरेपानी र पुनहिल नै रोज्ने गरेका छन् । जिल्ला सदरमुकाम बेनीदेखि एक दिनको सवारी यात्रापछि घोरेपानी पुग्न सकिन्छ ।


Facebook Comment


No ads found for this position