८६ बर्षीय मिनबहादुर फेरि सगरमाथा उक्लँदै

४ बैशाख काठमाडौं । आफ्नो तोडिएको किर्तिमान फर्काउन ८६ बर्षीय वयोवृद्ध मिनबहादुर शेरचन दोस्रोपटक सगरमाथा आरोहणका लागि आधार शिविरतर्फ लागेका छन् ।

 

आइतबार सगरमाथा प्रदुषण नियन्त्रण समितिसँग अनुमति लिएका शेरचन सोमबार हिमाल आरोहणका लागि प्रस्थान गरेका हुन् ।

दश वर्षअघि ७६ वर्षको उमेरमा सगरमाथा चढेर उनले विश्वको अग्लो शिखरमा उक्लिने सबैभन्दा पाको व्यक्तिको किर्तिमान बनाएका थिए । सन् २००८ मे २५ मा सगरमाथा चढेका शेरचनको नाम गिनिज बुकमा लेखिएको थियो । तर सन् २०१३ मा जापानी आरोही मिउराले ८० बर्षको उमेरमा सगरमाथा चढेर उनको किर्तिमान भंग गरे ।

कीर्तिमान तोडिएलगत्तै सन् २०१३ र २०१५ मा उनले पुनः आरोहण प्रयास गरेका थिए । तर, सन् २०१३ मा उनले आरोहणको मौका नै पाएनन् भने सन् २०१५ मा भूकम्पका कारण नाम्चेबाटै फर्किनु पर्‍यो ।

सगरमाथा प्रदुषण नियन्त्रण समितिका अनुसार शेरचनको आरोहण टोलीमा ९ जना रहेका छन् । जसमा ६ जना अनुभवी गाइड छन् ।

३१ टोली सगरमाथा बेसक्याम्पमा

अहिले सगरमाथा आरोहणका लागि ३१ समूह बेसक्याम्प पुगेका छन् जसमा २ सय ९४ आरोही छन् । तीमध्ये दुईवटा टोली भने नेपालीका हुन् ।

त्यस्तै ल्होत्से हिमाल चढ्न ६ टोली बेस क्याम्प पुगेका छन् । टोलीमा ७० जना आरोही छन् । साथै न्हुत्से हिमाल चढ्नको लागि २ टोली बेसक्याम्प पुगेका छन् जसमा १९ जना छन् ।

सगरमाथा आरोहण टोली क्याम्प नं. २ मा जाने तयारीमा छ, जसका लागि अहिले सामान ओसार पसार भइरहेको सगरमाथा प्रदुषण नियन्त्रण समितिका कर्मचारीहरु बताउँछन् ।


Facebook Comment


No ads found for this position