नयाँ वर्षमा ‘आहा दामन’ प्याकेज

काठमाडौं : पर्यटकीय गन्तव्य मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टले नयाँ वर्षलाई लक्षित गरी ‘आहा दामन’ प्याकेज ल्याएको छ । रिसोर्टले प्रतिव्यक्ति २०७४ रुपैयाँको प्याकेज ल्याएको हो । वैशाखभरी लागू हुने प्याकेजमा एक रातको बसाइँ, लन्च, डिनर र ब्रेकफास्ट उपलब्ध हुनेछ ।रिसोर्टले आन्तरिक पर्यटकलाई लक्षित गरी २०६८ सालदेखि यस्तो प्याकेज पस्किँदै आएको छ । हरेक वर्ष एक रुपैयाँ थपेर आकर्षक प्याकेज पस्किँदै आएको रिसोर्टका प्रबन्ध निर्देशक सुदेश गौतम क्षेत्रीले बताउनुभयो । अरु समयमा यही सुविधाका लागि ३१ सय ७० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

विगत २५ वर्षदेखि सञ्चालित एभरेष्ट पानोरमा रिसोर्टमा ३० वटा वातानुकुलित कोठा छन् । दामनको एकमात्र स्तरीय रिसोर्ट भएकाले प्राय: कोठा खाली नहुने क्षेत्री बताउनुहुन्छ । रिसोर्टमा आउने पाहुनमा झन्डै ९० प्रतिशत नेपाली हुने गर्छन् । सुरुवाती समयमा रिसोर्टका पाहुना ९० प्रतिशत विदेशी हुने गर्थे । नेपालमा घुमफिर गर्ने संस्कृति हुर्किंदै गएपछि आन्तरिक पर्यटक लक्षित प्याकेज ल्याउन थालेको उहाँको भनाइ छ ।

राजधानीबाट ८५ किलोमिटर दूरीमा रहेको दामन आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । चिसो मौसममा हिउँमा खेल्न र गर्मीको समयमा चिसो ठाउँका लागि दामन चर्चित छ । काठमाडौं, हेटौंडा, वीरगन्ज, चितवन, जनकपुरलगायतका ठाउँबाट ठूलो संख्यामा आन्तरिक पर्यटक दामन पुग्छन् । दामनमा भारतीय पर्यटक पनि उत्तिकै आउने गर्छन् ।

दामन हिमाल अवलोकनका लागि प्रख्यात छ । समुन्द्री सतहबाट २५ सय मिटर उचाइमा रहेको दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकरलगायतका अग्ला हिमाल आँखै अगाडि देखिन्छन् । सूर्योदय र सूर्यास्तका लागि पनि दामन र सिमभन्ज्याङ प्रख्यात मानिन्छ । यस्तै, हाइकिङ, साइक्लिङका लागि पनि दामन उपयुक्त गन्तव्य भएको क्षेत्री बताउनुहुन्छ ।


Facebook Comment


No ads found for this position