यस वर्ष पनि पर्वतारोहणमा जाने आरोहीको संख्या गत वर्षकै हाराहारी रहने

अच्युत पुरी

जारी सिजन (वसन्त ऋतु)मा सगरमाथासहित नेपालका हिमाल आरोहण गर्न अनुमति लिने टोलीको संख्या ७९ पुगेको छ । गत वर्ष यही मौसममा हिमाल आरोहणका लागि अनुमति लिने कुल टोली ९८ थिए । यस सिजनको आइतबारसम्म ७९ टोलीले अनुमति लिइसकेको र अनुमति दिने कार्य अझै पनि जारी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागले जानकारी दिएको छ ।
यस वर्ष पनि पर्वतारोहणमा जाने आरोहीको संख्या गत वर्षकै हाराहारी रहने अनुमान गरिएको विभागका निर्देशक तथा प्रवक्ता दुर्गादत्त ढकालले जानकारी दिए । ७९ टोलीमा कुल ६ सय ७७ जना आरोहीले नेपाल सरकारबाट आधिकारिक रूपमा हिमाल चढ्ने परमिट प्राप्त गरेका छन् । गत वर्ष भने ९८ टोलीका ७ सय ४५ जना आरोहीले वसन्त ऋतुमा आरोहण गर्ने गरी पर्यटन विभागबाट परमिट लिएका थिए ।

३९ टोलीमा ३ सय ६५ जना

पर्यटन विभागका अनुसार संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आइतबारसम्म कुल ३९ टोलीले अनुमति लिइसकेका छन् । ३९ टोलीका ३ सय ६५ जना आरोहीका लागि परमिट जारी भएको हो । अहिलेसम्म आरोहण अनुमति पाएका सबै टोली विभिन्न हिमालको आधारशिविरतर्फ प्रस्थान गरिसकेको विभागका प्रवक्ता ढकालले जानकारी दिए । सगरमाथामा आरोहणको अनुमति लिएका ३९ टोलीमध्ये ३५ टोली आधारशिविरमा पुगिसकेको विभागको भनाइ छ ।

१५ जना सम्पर्क अधिकृत

यस सिजनमा आरोहणको प्रत्यक्ष निगरानी गर्न तथा सरकारी प्रतिनिधिका रूपमा कुल १५ जना सम्पर्क अधिकृत खटिएका छन् । यसमध्ये सबैजना सम्पर्क अधिकृत आरोहण दल तथा उनीहरूको सम्पर्कमा रहेको विभागका प्रवक्ता ढकालले जानकारी दिए ।

करिब १५ करोड राजस्व

पर्यटन विभागले स्प्रिङ सिजनमा आरोहणका लागि परमिट जारी गर्दा लिने सलामी दस्तुरबापत हरेक वर्ष औसत २० करोड रुपैया“ हाराहारी राजस्व संकलन गर्दै आएको छ । तर, यस वर्ष भने राजस्व करिब १५ करोड रुपैया“ हाराहारी मात्र संकलन हुने अनुमान गरिएको छ । सन् २०१४ र ०१५ मा प्राकृतिक दुर्घटनापछि आरोहण प्रभावित भएको थियो ।

ती दुई वर्ष आरोहण अनुमति लिएर पनि हिमाल चढ्न नपाएका आरोहीका लागि सरकारले आरोहण अनुमति विस्तार गरी ०७३–७४ को वसन्त ऋतुसम्म पु¥याएको थियो । ती दुई वर्ष अनुमति लिएर पनि हिमाल चढ्न नपाएकाका लागि विस्तारित अनुमतिको म्याद यसै सिजनबाट सकिने भएकाले पनि यो वर्ष पनि पहिला नै आरोहण अनुमति लिएका आरोहीको संख्या उल्लेख्य रहेको विभागको भनाइ छ । ती आरोहीले पहिला नै दस्तुर बुझाइसकेका कारण यस सिजनमा राजस्व संकलन नबढेको हो ।

सहजीकरणका लागि शेर्पा सहयोगी

पर्वतारोहणलाई सुरक्षित तथा सहज बनाउन शेर्पा सहयोगीहरू निरन्तर खटिएको विभागले उल्लेख गरेको छ । आइसफल डाक्टरहरूबाट बाटो बनाउनेदेखि डोरी टाँग्ने काम भइसकेपछि मात्र आरोहणका लागि आरोही र शेर्पा सहयोगी अगाडि बढ्न सक्छन् । छिनछिनमा अदलबदल हुने मौसमको चुनौती सामना गर्दै हिमालको वातावरणसँग अभ्यस्त भइसकेपछि आरोहीहरू आधारशिविरबाट उकालो लाग्छन् । वैशाखको अन्तिम साता तथा जेठ पहिलो साताबाट आरोहीहरू आधारशिविरबाट चुचुरोतर्फ प्रस्थान गर्छन् ।


Facebook Comment


No ads found for this position