पर्यटकलाई चौंरी देखाएर आम्दानी

उमाकान्त खनाल/भीम बाँस्कोटा  फालेलुङ (पाँचथर) : पाँचथरको उच्च पहाडी क्षेत्रका बासिन्दा पर्यटकलाई चौंरी देखाएर आम्दानी बढाउन थालेका छन् ।करिब तीन हजार पाँच सय मिटर उचाइमा रहेको फालेलुङ चारराते आसपास क्षेत्रका बासिन्दाका लागि चौंरीबाट बनेका परिकार मात्र नभई अब चौंरीकै दृश्यसमेत आम्दानीको स्रोत बन्न पुगेको छ । उक्त क्षेत्रमा भारत तथा दार्जिलिङ घुम्न आउने तेस्रो देशका पर्यटकसमेत फालेलुङ आउन थालेका छन् । भारतमा अत्यन्तै कम पाइने चौंरी नेपालका उच्च पहाडी क्षेत्रमा प्रशस्त पाइने भएकाले पनि भारत तथा तेस्रो देशका पर्यटकले फालेलुङलाई रोजाइ बनाएका हुन् ।

‘यहाँ चौंरीपालनको धेरै ठूलो सम्भावना छ । हामीले चौंरीको दूध, घ्यू, छुर्पी तथा चिज मात्र नभएर अहिले चौंरीको दृश्यसमेत बेच्न थालेका छौं’, चौंरी किसान देवी नेपालले भन्नुभयो । चौंरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण र जिल्लाका उच्च पहाडी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा चिनाउने उद्देश्यले पाँचथरको फालेलुङ गाउँपालिका-४ स्थित चाररातेमा नयाँ वर्षको अवसरमा चौंरी महोत्सवसमेत आयोजना गरिएको थियो । सुर्केथाम दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा उक्त महोत्सव आयोजना गरिएको थियो ।

चौंरी संस्कृति लोप हुँदै गएकाले त्यसलाई संरक्षण गर्न महोत्सव आयोजना गरिएको सुर्केथाम दुग्ध सहकारी संस्थाका सचिव शिल्पकुमार राईले बताउनुभयो । यस क्षेत्रमा लगभग २० वटा चौंरीगोठ छन् । चरण क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समय चौंरीगोठ घट्दै गएर विस्तारै चौंरी संस्कृति हराउने सम्भावना बढेकाले महोत्सव आयोजना गरिएको हो ।

पाँचथर, ताप्लेजुङ, इलाम, झापाका साथै काठमाडौं तथा भारतको सिक्किम र दार्जिलिङका बासिन्दा, पर्यटन व्यवसायी र सर्वसाधारण गरी करिब दुई हजार मानिसले महोत्सव अवलोकन गरेका थिए । महोत्सवमा चौंरीको दूधबाट बनाइएका परिकार, चौंरी र भेडाको ऊनबाट बनेका वस्तु र लेकाली क्षेत्रमा पाइने जडीबुटी तथा कृषिजन्य वस्तुको स्टल राखिएको थियो । महोत्सवमा करिब पाँच सयवटा चौंरी तथा याक प्रदर्शनमा राखिएको थियो । चौंरीको दृश्य हेर्न आउनुभएका भारत दाजिर्लिङका प्रवीण राईले भन्नुभयो, ‘हाम्रोतिर चौंरी पाइँदैन । चौंरीको चरन क्षेत्र नै छैन । त्यसैले कसैले पनि पाल्दैन । चौंरी हेर्नकै लागि हामी आएका हौं ।’

चौंरी हेर्न त्यहाँ पुग्न बाटो सहज छैन । पाँचथरको सदरमुकाम फिदिमबाट करिब १० घन्टाको कच्ची जोखिमपूर्ण बाटोको यात्रा तय गर्नुपर्छ । ठूला सवारी त परै जाओस्, साना सवारीसाधन पनि त्यहाँ पुग्न मुस्किल छ । यात्रामा रहेका एक जनाले भन्दै थिए, ‘हतार छ भने हिँडेर जानुपर्छ । आरामले पुग्दा हुन्छ भने गाडी चढ्नुपर्छ यहाँ त !’ फिदिमदेखि प्राङबुङसम्मको ४५ किलोमिटरसम्मको यात्रा केही सहज भए पनि त्यसभन्दा माथिपट्टिको यात्रा भने अत्यन्तै जोखिमपूर्ण रहने गरेको छ ।

कतिबेला गाडी पछाडि सर्ला र भीरमा खसिएला भन्ने त्रासले यात्रा गर्नुपर्ने बाध्यता छ । यात्रामा रहनुभएका राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकीले यात्राको असहजता गन्तव्यमा पुगेपछि सबै बिर्सिएको प्रतिक्रिया दिनुभयो । तर, बाटो बनाउन आफूले सक्दो प्रयत्न गर्ने उहाँको आश्वासन थियो।
चरन क्षेत्र व्यवस्थित हुन नसक्दा चौंरी किसानका धेरै चौंरी बर्सेनि मर्ने गरेको किसानको दुःखेसो छ ।

‘चौंरीलाई घाँस नभइ हुँदैन । चरन क्षेत्र अतिक्रमण हुँदै गइरहेको छ,’ चौंरी किसान दण्डु लामाले भन्नुभयो, ‘कसैको वर्षमा १०÷१५ वटा मर्छन्, कसैका त ४०÷५० वटा नै चौंरी मर्ने गरेका छन् ।’तर सरकारबाट खर्क नीति पास भइसकेकाले अब पाँचथरमा पनि खर्क व्यवस्थित गर्ने र चौंरीगोठ सुधारका कार्यक्रम लागू हुने सम्भावना रहेको राष्ट्रिय चरन तथा पशु आहारा केन्द्रका वरिष्ठ अधिकृत शंकर शाहले बताउनुभयो ।


Facebook Comment


No ads found for this position