सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड

काठमाडौँ, ५ वैशाख । नेपालको सम्पदा राष्ट्रको सम्पत्ती भएको भन्दै यसको संरक्षण जरुरी रहेको सरोकारवालाले बताएका छन् । ३८औँ विश्व सम्पदा दिवसका अवसरमा नेपाल सम्पदा सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङले सम्पदा राज्यको धरोहर भएको भन्दै यसको संरक्षण गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “नेपालको सम्पदा मानव समाजको साझा सम्पत्ति भएकाले यसलाई संरक्षण गरी भावी पुस्तामा हस्तान्तरण गर्नुपर्छ ।”

राज्यमन्त्री तामाङले भूकम्पका कारण धेरै सम्पदा भत्केको भन्दै यसको पुनर्निर्माणका लागि मन्त्रालय लागिपरेको स्पष्ट पार्नुभयो ।

मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले सम्पदा हेर्न बर्सेनि धेरै पर्यटक नेपालमा भित्रिने गरेको भन्दै पुराना सम्पदा निर्माणबारे नयाँ पुस्तामा तालिमको खाँचो रहेको बताउनुभयो ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले पुराना सम्पदा संरक्षणका लागि विभागले काम गरिरहेको स्पष्ट पार्नुभयो ।

नेपाल सम्पदा सङ्घकी अध्यक्ष अम्बिका श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुवर्ण शाक्य, महासचिव धर्मरत्न शाक्य, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलगायतले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि नेपालको सम्पदालाई विश्वसामु चिनाउनु जरुरी रहेको बताउनुभयो ।

सो अवसरमा कलाकार एकाराम सिंहद्वारा तयार गरेको नेपालको सम्पदासम्बन्धी चित्रकला प्रदर्शन गरिएको थियो भने सङ्घद्वारा तयार पारिएको ‘सम्पदा’ नामक पुस्तक विमोचन गरिएको थियो ।


Facebook Comment


No ads found for this position