पाइलट नहुँदा नेपाल एयरलाइन्सका विमान थन्किए

रवीन्द्र शाही

६ वैशाख, काठमाडौं ।  राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा पाइलट अभावको कारण एयरबस थन्किने अवस्था सिर्जना भएको छ। दुईवटा एयरबस उडाउन आठ जना  क्याप्टेन भएको निगममा दुई जना पाइलट निलम्बन र एकजनाले जागिर छोडेपछि  दुईवटा विमान पूर्ण क्षमतामा चलाउनै नसक्ने अवस्थामा निगम पुगेको छ।

गत हप्तामात्र सिनियर क्याप्टेन सुवर्ण अवाले अवैध डलरसहित पक्राउ परेका थिए भने एकजना पाइलट लामो सयमदेखि उडान भर्न नमिल्ने अवस्थामा छन् । त्यस्तै अर्का एक जना पाइलटलाई हिमालय एयरलाइन्सले निगमसँग ५४ करोड रुपैयाँमा किनेर लिइसकेको छ। निगमसँग तत्काल दुई एयरबस विमान उडान पाँच जनामात्र क्याप्टेन छन्।
 ‘हाल एउटा विमान केही समय थन्किने अवस्था सिर्जना भएको’ स्रोतले सेतोपाटीसँग भन्यो, ‘गएको केही दिनदेखि एउटा विमान थन्काउने र अर्को चलाउने गर्नुपरेको छ।’
 एयरबसमध्ये एउटाले दिल्ली र अर्कोले हंङकङ उडान गर्ने आजको तालिका भएपनि पाइलट अभावकै कारण बोइङ दिल्ली पठाइएको थियो। हंङकङ उड्न तयार भएको लुम्बिनी नामको एयरबसमा प्राविधिक समस्या आएपछि ह्यांगरमा थन्किएको सगरमाथा नामको एयरबसलाई उक्त तालिकामा उडाइएको स्रोतले जानकारी दिएको छ।५ जना क्याप्टेनले दुईवटा एयरबस पूर्ण क्षमतामा उडाउनै नसक्ने अवस्था भएपनि निगमले पाइलट आपूर्ति गर्नसकेको छैन।
 निगमले भने पर्याप्त पाइलट नभएपनि पाइलट नभएकै कारण उडान नै बन्द गर्नुपर्ने अवस्था नभएको बताएको छ। बजारमा क्याप्टेनको अभाव भएकोले खोज्ने वित्तिकै नपाइने अवस्था रहेको तर निगमले क्याप्टेनको लागि विज्ञापन प्रकाशित  गरेको प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए।
 सेवा सुविधा कम भएको भन्दै निगमप्रति पाइलटहरुको आकर्षण नभएको अधिकारीहरुले बताएका छन्। पाइलटलाई निगममा आकर्षित गर्न भन्दै सेवासुविधा बढाउने प्रस्ताव निगमले पर्यटन मन्त्रालयमा पठाएको थियो जुन अर्थले अस्वीकृत गरेपछि फेरि पर्यटनमा आएर थन्केको छ।
 हाल दुईवटा एयरबस र एउटा बोइङबाट आठवटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भरिरहेको एयरलाइन्सको पाइलट अभावकै कारण उडान कटौति हुने, ढिला हुने अवस्था पनि आएको छ।एउटा पाइलटले एक महिनामा ७० घण्टाभन्दा बढी विमान उडाउन पाउँदैन। हाल निगमसँग पाँचजना मात्र क्याप्टेन छन् जसमा तीन जना विदेशी रहेका छन्। त्यस्तै एउटा विमान एकदिनमा ११ घण्टा सामन्यतया उडाउनसके पनि त्यो भन्दा पनि बढि उडाउन सकिने प्राविधिकहरु बताउँछन्।
 तर निगमसँग भएका पाइलटको कूल उडान घण्टा जोड्दा जम्मा ३ सय ५० मात्र हुन आउँछ जबकी दुईवटा विमान महिनामा ६ सय ६० घण्टा उड्नसक्छन्। त्यसमा मर्मत सम्भारको लागि घटाउँदा पनि पाँचसय घण्टा हुन आउँछ। फलस्वरुप हाल निगमका एयरबस जसले पर्याप्त यात्रु पाएर आम्दानी गर्नसक्ने भएपनि ह्यांगरमा थन्किने अवस्थामा पुगेका छन्।
 निजी क्षेत्रका एयरलाइन्सहरुले निगमको भन्दा बढी सेवासुविधा दिने भएकाले पाइलटहरु निगममा जागिर खान खासै आकर्षित नभएको स्वयम् निगमकै उच्च अधिकारीहरुको भनाइ छ।
 एक रुपैयाँ सुविधा बढाउन पनि सरकारको अनुमति चाहिने भएकोले पाइलट आकर्षित गर्न सेवासुविधा बृद्धि गर्नैपर्ने अन्यथा पाइलट नै नपाउने अवस्था आउन सक्ने उच्च अधिकारीहरुको भनाइ छ।साभार सेतोपाटी


Facebook Comment


No ads found for this position