अलपत्र सुलीचौर–थबाङको सडक निर्माण धमाधम

६ वैशाख । आधा दशकदेखि अलपत्र सुलीचौर–थबाङको सडक निर्माण धमाधम भइरहेको छ । उक्त सडक खण्डको सिरक्याङ भीर फोर्न नसकेर रोकिएको काम सडक डिभिजन कार्यालयले दुई ठाउँबाट अगाडि बढाएको छ ।

सुनछहरी गाउँपालिकाअन्तर्गतको सेरमको सिरक्याङ भीरको काम सकिएपछि थबाङ सडक यसै वर्षमा जोडिने संकेत देखिएको हो । भीरमा पर्ने चट्टान छिचोल्न नसक्दा सडक डिभिजनले थालेको सडक निर्माण बीचैमा रोकिन पुगेको थियो । ‘उक्त भीरको चट्टान फोर्न आवश्यक विस्फोटक पदार्थसहित नेपाली सेनाको टोली तयारी अवस्थामा छ,’ प्यूठानस्थित सडक डिभिजन कार्यालयका प्रमुख सुरेश न्यौपानेले भने, ‘काम तीव्र गतिमा भइरहेको छ । हामी यसै आर्थिक वर्षमा थबाङसम्म ट्रयाक जोड्नेछौं ।’ सुलीचौरदेखि थबाङसम्मको करिब ५५ किलोमिटर सडकमध्ये हालसम्म सुलीचौरदेखि सेरमको सिरक्याङ भीरसम्मको ३० किलोमिटर सडक खण्डको ट्रयाक खनिसकिएको छ भने त्यसउताको २५ किलोमिटरमध्ये ट्रयाक खन्न करिब १० किलोमिटर मात्र बाँकी रहेको उनले बताए । डिभिजन प्रमुख न्यौपानेका अनुसार उक्त भागमा चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न टेन्डर प्रक्रिया सुरु भइसकेको छ । दुई भागमा काम भइरहेको उनले जानकारी दिए ।

उक्त सडक थबाङसम्म चालु आर्थिक वर्षभित्रै पुर्‍याउने गरी काम भएको छ । रोल्पाको थबाङमा पूर्व र पश्चिम गरी दुईतिरबाटै सडक सञ्जालले जोड्ने गरी सडक निर्माण थालिएको हो । निर्माणाधीन सुलीचौर–उवा–थबाङ सडकले सदरमुकाम लिबाङसँग थबाङलाई पूर्वी रोल्पासँग पनि जोड्नेछ । सिरक्याङको चट्टानी भीरमा सडक निर्माण गरेर आउँदो दुई वर्षभित्र थबाङसम्म पूर्वी रोल्पाबाट पनि सडक पुर्‍याउन डिभिजनले काम गरिरहेको छ । ‘नियमित निर्माण रोकिनुको कारण उक्त खण्डमा पर्ने करिब ३ सय मिटर लामो चट्टानी भीर हो,’ डिभिजन प्रमुख न्यौपानेले भने, ‘अब यसै आर्थिक वर्षभित्र भीर फोरिसकेर काम अघि बढ्छ ।’ थबाङलाई पश्चिमतिरबाट सहिद मार्गमार्फत सडक सञ्जालले जोडिसकिएको छ ।

जर्मन सहयोग नियोग (जीटीजेड) को प्राविधिक एवं विश्व खाद्य कार्यक्रमको खाद्यान्न सहयोगमा स्थानीयको सहभागितामा उक्त सडकको प्रारम्भिक निर्माण कार्य सकिएको हो । जीटीजेडले करिब २५ करोड रुपैयाँ लगानीमा उक्त सडकको ट्रयाक खन्ने कार्य सकेको थियो । सडक डिभिजनका अनुसार हालसम्म निर्माण गर्न करिब ५ करोड रुपैयाँ रकम खर्चेको छ । चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ बजेट खर्चने योजना रहेको सडक डिभिजन प्रमुख न्यौपानेले बताए । सिरक्याङ भीरदेखि थबाङसम्मको ट्रयाक जोड्न करिब १० करोड रुपैयाँ खर्च छुट्याइएको छ भने सुलीचौरदेखि सेरमको फुली वनसम्मको सडकको स्तरोन्नति गर्न १० करोड खर्च छुट्याइएको हो ।

दुई दशकअघि निर्माण थालिएको दाङको घोराहीदेखि रोल्पाको होलेरी, घर्तीगाउँ हुँदै थबाङसम्म सहिद मार्ग सडकको ट्रयाक खन्ने काम सकिएको छ । नुवागाउँदेखि गैरीगाउँको टिलासम्मको करिब १४ किलोमिटर सडक सर्वसाधारणले श्रमदानबाटै खनेका थिए । दाङदेखि रोल्पा र रुकुम हुँदै डोल्पासम्म निर्माण गरिने सहिद मार्गको हालसम्मको खर्च करिब १ अर्ब रुपैयाँ रहेको छ ।

दाङदेखि डोल्पासम्मको करिब २ सय १० किलोमिटरको स्तरोन्नति र कालोपत्रे गर्न करिब ४ अर्ब ३० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको सहिद मार्ग परियोजनाका प्रमुख इन्जिनियर सुबोधकुमार देवकोटाले बताए ।

 


Facebook Comment


No ads found for this position