धार्मिकस्थल सुपा देउरालीमा पर्यटकको संख्यामा वृद्धि

प्रेम आचार्य ,सन्धिखर्क: प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको संख्यामा वृद्धि भएको छ । एक वर्ष पहिलाको तुलनामा आजभोलि आउने दर्शनार्थीको संख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । विगत वर्षमा दैनिक दुई सयदेखि एक हजार जनाले दर्शन तथा पुजाआजा गर्ने गरेकोमा अहिले दैनिक एक हजारदेखि दुई हजार जनाले दर्शन गर्ने मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम थापाले बताउनुभयो ।नयाँ वर्षको पहिलो दिन १२ हजारभन्दा बढीले दर्शन गरेको र उक्त दिन मन्दिरमा एक लाख नौ हजार आठ सय रुपैयाँ भेटी उठेको उहाँको भनाइ छ ।नेपाललाई मन्दिरैमन्दिरको देश भनेर विदेशीले चिन्ने गर्छन् । यहाँ धेरै मन्दिर छन् । मासिक रूपमा करोडौं भेटी उठ्ने मन्दिर पनि छन् । मन्दिरमा उठेको भेटी कहाँ खर्च हुन्छ भन्ने खासै लेखाजोखा हुँदैन ।केही ठूला र देशका प्रमुख मन्दिरमा बेलाबेलामा देवीदेवताको नाममा श्रद्धापूर्वक चढाएको भेटी दुरुपयोग हुने गरेको, मन्दिरका पुजारी र सञ्चालकले हिनामिना गरेको सुन्न सकिन्छ ।

सुपा देउराली मन्दिरसम्म आउने केबुलकार, पश्चिममा सिद्ध मन्दिर आउने पुल तथा साहसिक पदमार्गको निर्माण गर्न सके यो नेपालको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल बन्न सक्छ ।

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ७ खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिर पनि धेरै भेटी संकलन हुने मन्दिरमध्ये पर्छ । यहाँ उठेको भेटीबाट विकास निर्माणका काम भइरहेका छन् । मन्दिरमा चढाइएको भेटीबाट आदर्श मावि खाँचीकोटमा ६ जना र शान्ति निमावि सीतापुरमा चार शिक्षक राखिएका छन् । भेटीबाट संकलित रकममध्ये मासिक रूपमा आदर्श मावि र शान्ति निमाविलाई एक लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले बताउनुभयो । यस्तै सन्धिखर्कमा रहेको पाणिनी वेद्विद्या श्रमका लागि वार्षिक एक लाख २० हजार उपलब्ध गराउने उहाँको भनाइ छ ।

‘विद्यालयसँगै अन्य विकास निर्माणका काममा पनि सहयोग पुर्‍याउने गरेका छौं’, उहाँले भन्नुभयो । खानेपानी लिफ्टिङ, मोटरबाटो निर्माणजस्ता विकास निर्माणका काम भएका छन् । ‘विभिन्न खाले जटिल विरामीको उपचार खर्चमासमेत सहयोग पुर्‍याउँदै आएका छौं ।’ यस मन्दिरमा गएको वर्ष ६० लाख रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष बढेर ८० लाख पुग्ने मन्दिरका सचिव यादवले बताउनुभयो । मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी, रूपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, विहारबाटसमेत धार्मिक पर्यटक सुपा देउरालीमा दर्शन गर्न आउने गरेका छन् । यो नेपालकै प्रसिद्ध मन्दिर हो ।

विद्यालय चलाउन कठिन भएको समयमा मन्दिरको भेटीबाट प्राप्त रकमले शिक्षक राखेर विद्यालय सञ्चालन गर्दा धेरै सहज भएको आदर्श मावि खाँचीकोटका प्रधानाध्यापक डिल्लीराज थापाले बताउनुभयो । ‘मन्दिरबाट सहयोग नमिलेको भए यो विद्यालय प्रावि नै रहने थियो’, उहाँले भन्नुभयो, ‘विद्यालयलाई यो अवस्थासम्म ल्याउन पाउँदा हामी निकै खुसी छौं ।’

मन्दिर व्यवस्थापन समितिले यहाँ उठेको रकम दुरुपयोग नगरी मन्दिर सञ्चालन, विद्यालय सञ्चालन, विकास निर्माण, विरामीको उपचारमा सहयोग गर्दै आएको बताएको छ । सुपा देउराली मन्दिर वरिपरिको वातावरणलाई व्यवस्थित गरी प्रचारप्रसारमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । ‘मन्दिरको भेटी विद्यालयजस्तो सामाजिक संस्थालाई दिनु राम्रो कार्य हो’ उहाँले भन्नुभयो ।

सुपा देउराली मन्दिरको शिरसम्म पुग्न सकिने केबुलकार र साहसिक पदमार्ग बनाउन सके यहाँ पर्यटन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले बताउनुभयो । सुपाको पूर्वमा रहेको भैंसी मेलामा मन्दिर, पश्चिममा सिद्ध मन्दिर आउने पुल तथा साहसिक पदमार्गको निर्माण गर्न सके नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बनाउन सकिने उहाँले बताउनुभयो । सुपा देउराली पर्यटकीय गन्तव्य बनिसकेको छ । सन्धिखर्क–गोरुसिंगे सडक खण्डसँगै जोडिएकाले पनि यसको महत्व बढ्दो छ ।

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ ।
सुपा देउराली नजिकैको नरपानी डाँडाको मनोरम दृष्यले पर्यटकलाई लोभ्याउँछ । नरपानी डाँडा चिसो हावा र पानीले प्रसिद्ध छ । यहाँबाट धेरै हिम शृंखला देख्न पाइन्छ । गर्मीमा पनि चिसो हुने हुँदा तराईबाट गर्मी छल्न पर्यटक यहाँ आउने गर्छन् । यहाँ भारतबाट आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ ।


Facebook Comment


No ads found for this position