आन्तरिक वायुसेवा कम्पनीबीच तीव्र प्रतिस्पर्धा

उत्तम काप्री ,काठमाडौः आन्तरिक उडानमा ६० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको बुद्ध एयरले दुई महिनाअघि ७२ सिट क्षमताको एटीआर विमान भित्र्यायो । यससँगै बुद्धका विमानको संख्या नौ पुगेको छ । बुद्धले आन्तरिक उडानसँगै भारतको बनारसमा पनि उडान भर्दै आएको छ ।

बुद्ध एयरले विमान थपेको १५ दिन नबित्दै गोमा एयरले एल ४१० सिरिजका दुईवटा नयाँ विमान भित्र्यायो । गोमासँग आन्तरिक उडानका लागि ६ वटा विमान पुगेका छन् । ७० करोडभन्दा बढी खर्चिएर गोमाले १९ सिट क्षमताको विमान भित्र्याएको हो । गोमा आक्रमक सेवा विस्तारमा लागिरहेको छ । हेलिकोप्टर सेवा दिइरहेको श्री एयरलाइन्स फिक्स विङ्स सेवामा प्रवेश गरेको छ । श्रीले एक साताअघि ५० सिट क्षमताको ‘बम्बार्डियर सीआरजे २००’ विमान भित्र्यायो । एक महिनाभित्र अर्को दुईवटा विमान पनि ल्याउँदैछ । विगत १७ वर्षदेखि हेलिकोप्टर उडाइरहेको श्री फिक्स विङ्समार्फत आन्तरिक उडानमा जम्न खोज्दैछ । श्रीले ६ हेलिकोप्टरबाट उडान सेवा दिइरहेको छ ।

सौर्य एयरलाइन्सले एक महिनाअघि ५० सिटको बम्बार्डियर सीआरजे-२०० विमान नेपाल ल्याएको छ । यसअघि सौर्यले एउटा विमानबाट सुगम गन्तव्यमा चार्टर उडान भर्दै आएको थियो । आन्तरिक उडानमा एउटै विमानबाट तेस्रोस्थान कायम गर्न सकेको थियो । नयाँ विमान भित्र्याउन सौर्यले एक अर्ब रुपैयाँ लगानी गरेको छ । आन्तरिक बजारमा आफ्नो हिस्सा बढाउँदै लैजाने सौर्यको लक्ष्य छ ।

कुनै समय एक दर्जन विमानबाट आन्तरिक उडान भरेको नेपाल वायुसेवा निगम जहाज बिहीनजस्तै बन्न पुग्यो । तर, पछिल्लो समय निगम आन्तरिक उडानलाई पुनः चुस्त बनाउँदै छ । आन्तरिक उडानकै लागि भनेर चीनबाट ५६ सिट क्षमताको दुईवटा एमए ६० विमान भित्र्यायो । यस्तै, वाई १२ ई सिरिजको १८ सिट क्षमताको चारवटा विमान ल्याउँदैछ । यसमध्ये दुईवटा आइसकेका छन् । यती एयरलाइन्सको पनि मे महिनामा एटिआर-७२ सिरिजको विमान आउँदैछ । सिम्रिक एयरलाइन्सले पनि नयाँ जहाज ल्याउने योजना बनाइरहेको छ ।

अहिले आन्तरिक वायुसेवा कम्पनीबीच विमान थपेर सेवा विस्तार गर्ने तीव्र प्रतिस्पर्धा देखिएको छ । धमाधम आधुनिक सुविाधसम्पन्न ठूला जहाज भित्र्याइरहेको देखिन्छ । आन्तरिक उडानका जहाजकोको संख्या ४० भन्दा बढी पुगिसकेको छ । अझै केही जहाज थपिने क्रममा छन् । यसले आन्तरिक उडान निकै प्रतिस्पर्धी बन्न लागेको विमान सञ्चालक बताउँछन् । कतै आन्तरिक उडानमा ‘फेयर वार’ चल्ने त होइन भन्ने शंका पनि उब्जाएको छ ।

तर, विमान सञ्चालक विमान थपिए पनि ९० प्रतिशत अकुपेन्सी रहेको दाबी गर्छन् । आन्तरिक उडानका यात्रु बढ्दै गएपछि विमान थपेको उनीहरूको तर्क छ । सडकयात्रा कष्टकर बन्दै गएपछि पछिल्लो समय हवाई यात्रा गर्ने यात्रु बढिरहेका छन् । सन् २०१५ र १६ को तथ्यांकले हवाई यात्रु बढ्दै गइरहेको देखाउँछ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका अनुसार सन् २०१५ को तुलनामा १६ मा आन्तरिक हवाई यात्रुको संख्या करिब चार लाखले बढेका छन् । आगामी दिन हवाई यात्रु अझै बढ्ने शंकेत देखिन्छ ।

विमानबाट यात्रा गर्ने यात्रुसंख्या बढेपछि विमान कम्पनी सेवा विस्तारको होडबाजीमा उत्रिएका हुन् । साना विमानबाट उडान भरिरहेका कम्पनीले ठूला (धेरै सिट) विमान भित्र्याइरहेका छन् । यसले सिट संख्या अझ बढाएको छ । ‘केही वर्ष अघिसम्म सिजनमा १५ दिन अगाडि नै टिकट बुकिङ हुन्थ्यो, पछि टिकट पाइदैनथ्यो’, सिम्रिक एयरका बजार प्रबन्धक प्रज्वल थापा भन्नुहुन्छ, ‘अहिले त्यस्तो अवस्था अन्त्य भएको छ, प्रतिस्पर्धा बढेपछि सिजनमा पनि टिकट पाइन थालेको छ ।’

हवाई प्रतिस्पर्धा बढ्नु यात्रुका लागि राम्रो हो । यात्रु बढ्नासाथ महँगो र यात्रु घट्नासाथ सस्तोमा टिकट बिक्री गर्ने प्रवृत्ति प्रतिस्पर्धाले केही घटाएको छ । तर, ‘फेयर वार’ चलेमा कम्पनी समस्यामा पर्ने देखिन्छ । ‘वार्षिक औसत ९० प्रतिशत अकुपेन्सीमा उडिरहेका विमानमा यात्रु घट्दै जाने अवस्था देखिएको छ’, थापा भन्नुहुन्छ । हवाई भाडा घटेमा यात्रुसंख्या बढ्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।

आन्तरिक उडानका विमान थपिएका छन् । तर, गन्तव्य थपिन सकेका छैनन् । सरकारले विभिन्न ठाउँमा विमानस्थल निर्माण गर्ने बताए पनि प्रगति देखिएको छैन । आन्तरिक उडानमा सबैभन्दा बढी यात्रुचाप भैरहवा, विराटनगर, धनगढी, नेपालगन्ज, पोखरा, सिमरा, भद्रपुर र लुक्लमा छ । यसबाहेक नेपालगन्ज विमानस्थललाई वेश बनाएर रारा, सिमिकोटलगायत कर्णाली अञ्चलमा केही सीमित कम्पनीले उडान भरिरहेका छन् । विमान कम्पनीका लागि माउन्टेन फ्लाइट पनि राम्रो आम्दानी हुने उडान बनेको छ ।

सुगमको उडानमा प्रतिस्पर्धा बढे पनि दुर्गम उडानमा खासै प्रतिस्पर्धा नरहेको यती एयरलाइन्सका मिडिया प्रबन्धक भीमराज राई बताउनुहुन्छ । सुगम गन्तव्यमा पनि सिजनमा राम्रै यात्रु पाइरहेको कम्पनी बताउँछन् । अफ सिजनमा विमान कम्पनीले सस्तो भाडामा यात्रु बोकेर अस्वस्थ प्रतिस्पर्धामा उत्रिने क्रम बढ्दो छ । ‘आन्तरिक उडानमा विमान थपिनु राम्रो पक्ष हो’, उहाँ भन्नुहुन्छ, ‘विमान थपिएसँगै बजारमा अस्वस्थ प्रतिस्पर्धा पनि बढ्ने सम्भावना उत्तिकै छ ।’ सिट बढेपछि पहिलाको जस्तो टिकट नै नपाउने अवस्थाको अन्त्य भइसकेको छ ।

विमानबाट यात्रा गर्ने यात्रुसंख्या बढेपछि विमान कम्पनी सेवा विस्तारको होडबाजीमा उत्रिएका छन् । साना विमानबाट उडान भरिरहेका कम्पनीले ठूला विमान भित्र्याइरहेका छन् ।

‘सिट बढेसँगै प्रतिस्पर्धा बढ्नु स्वभाविक हो’, राईले भन्नुभयो, ‘अस्वस्थ प्रतिस्पर्धाले नेपालको हवाई इतिहासमा फेरि पुरानो घटना नदोहोरियला भन्न सकिन्न ।’ अहिले सम्रगमा यती एयरलान्सको अकुपेन्सी ८० देखि ९० प्रतिशत छ र ताराको अकुपेन्सी ९५ प्रतिशतसम्म छ ।

बुद्ध एयरकी सूचना अधिकृत विनिता थापा विमान संख्या थपिँदा यात्रुले सहज यात्रा गर्न पाउने बताउनुहुन्छ । ‘प्रतिस्पर्धा बढेपछि यात्रुले सस्तोमा राम्रो सेवा पाउँछन्, यसले हवाई यात्रु पनि बढाउँछ’, उहाँले भन्नुभयो, ‘विमान थपिँदा हाम्रो अकुपेन्सी घट्दैन ।’ उहाँका अनुसार बुद्धको भरतपुर, सिमरा, जनकपुर र पोखराको उडानमा शत्प्रतिशत अकुपेन्सी छ । अन्य गन्तव्यमा ९५ प्रतिशत अकुपेन्सी रहेको उहाँको दाबी छ ।

दुर्गम क्षेत्रमा खासै प्रतिस्पर्धा नबढेको सीता एयरका चिफ बिजनेस अप्रेसन प्रमुख रिजेश थापा बताउनुहुन्छ । सीता एयरले लुक्ला, सिमिकोट, बाजुरा, रारालगायत दुर्गम गन्तव्यमा उडान भर्दै आएको छ । पछिल्लो समय विमान कम्पनीले सुगम गन्तव्यलाई लक्षित गरिरहेको हुँदा दुर्गममा प्रतिस्पर्धा बढ्न नसकेको उहाँको भनाइ छ । धेरैजसो कम्पनीले सुगम गन्तव्यका लागि ठूला विमान भित्र्याउने होडबाजीमा छन् । ‘जहाज संख्या बढनु यात्रुका लागि खुसीको विषय हो’, उहाँ भन्नुहुन्छ, ‘जति धेरै प्रर्तिस्पर्धा हुन्छ, भाडा पनि सस्तो हुँदै जान्छ ।’

ठूला विमान कम्पनीबीच विमान थप्ने प्रतिस्पर्धाले बजारमा अस्वस्था प्रतिस्पर्धा बढ्न सक्ने गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्की बताउनुहुन्छ । ‘ठूला कम्पनीले विमान थप्दा यात्रुलाई त फाइदा हुन सक्छ’ उहाँले भन्नुभयो,’ उहाँले भन्नुभयो, ‘तर ठूला विमान कम्पनीले प्रतिस्पर्धाको नाममा बजार कब्जा गरेमा साना कम्पनी विस्तापित हुन सक्छन् ।’ सौर्य एयरलाइन्सका मार्केटिङ प्रमुख मुकेश खनाल बजारमा प्रतिस्पर्धा बढ्दैमा असर नपर्ने दाबी गर्नुहुन्छ । उहाँका अनुसार सौर्यको अकुपेन्सी ९५ प्रतिशत छ ।साभार अन्नपुर्ण


Facebook Comment


No ads found for this position