जहाज होल्डिङको समय बढ्यो

उत्तम काप्री,काठमाडौः गोमा एयरलाइन्सको नाइन एन एकेजेटको जहाज बुधबार बिहान १०ः०५ बजे त्रिभुवन विमानस्थलबाट लुक्ला प्रस्थान गर्‍यो । जहाज लुक्लामा अवतरण भएर पुनः १८ जना यात्रु बोकेर काठमाडौं आउने तयारीमा थियो । विमानस्थलको टावरले लुक्लामै आधा घन्टाभन्दा बढी समय जहाजका लागि उडन अनुमति दिएन ।

आधा घन्टाभन्दा बढी लुक्लामै रोकिएको जहाजलाई त्रिभुवन विमानस्थल टावरले उडानका लागि अनुमति दिएसँग जहाज काठमाडौंतर्फ मोडिएको गोमा एयरलान्सका प्रबन्धक निर्देशक मनोज कार्कीले बताउनुभयो । योसँगै उडानका लागि तयारी अवस्थामा रहेको गोमाकै अन्य दुईवटा जहाज पनि अनुमतिको पर्खाइमा रहेको उहाँ बताउनुहुन्छ ।

विमानस्थलमा ल्यान्ड गर्ने समय हुनै लाग्दा विमानस्थल टावरले एक घन्टा जहाज अवतरण गर्न नपाउने सूचना पाइलटलाई गरेको उहाँ बताउनुहुन्छ । एक घन्टासम्म जहाज आकाशमै होल्ड गर्दा इन्धन सकिने हुँदा पाइलटले जहाज रामेछाप विमानस्थलमा अवतरण गरेको उहाँ बताउनुहुन्छ ।

रामेछापमा अवतरण गरेको जहाज २ः ३० बजेतिर मात्रै त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो । जहाज विमान ११ः२५ मै अवतरण हुनुपर्ने तालिका थियो । देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विगत केही दिनदेखि आन्तरिक उडान भर्ने जहाज आकाशमै होल्ड गर्नुपर्ने समय बढेको नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुर स्वीकार गर्नुहुन्छ ।

प्रतिकूलता मौसम, विराटनगर विमानस्थलको सुधार र उडान चाप बढेसँगै जहाज आकाशमै होल्डिङको समय बढेको उहाँ बताउनुहुन्छ । एक सातादेखि आन्तरिक उडान भर्ने जहाजको उडान तालिका बढेसँगै आन्तरिकतर्फ जहाज होल्ड हुने समय बढेको कार्यालयका प्रवक्ता ठाकुर स्वीकार गर्नुहुन्छ । ‘हिमालक्षेत्रमा एयरलाइन्स कम्पनीले पछिल्लो सयम उडान तालिका बढिरहेको छ’, ठाकुर भन्नुहुन्छ, ‘पर्यटक तथा हवाई यात्रुको संख्या पनि बढ्दो छ ।’

संख्या बढेसँगै एयरलान्स कम्पनीले उडान बढाउँदै आन्तरिकतर्फको उडान स्लट मिलाउनै नसकिने अवस्था आएको उहाँ बताउनुहुन्छ । पछिल्लो समय नारायणगढ-मुग्लिन सडकमा आएको समस्याका कारण पनि हवाई यात्रु बढेका हुन् । जहाज आकाशमै होल्ड बढी गर्नुपर्ने भएपछि व्यवस्थापनका लागि कार्यालयले एयरलाइन्स कम्पनीलाई वार्तामा बोलाएको छ ।

कार्यालयका प्रवक्ता ठाकुरमा अनुसार समस्या समाधनका लागि यही आगामी शुक्रबार दुई पक्षीय छलफल हुनेछ । हवाई यात्र गर्नेको संख्या बढेसँगे हिमाल आरोहण गर्नेको चाप बढेको छ । आन्तरिकतर्फका समस्या भए पनि समर उडान तालिक सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानमा भने खासै समस्या नआएको ठाकुर बताउनुहुन्छ । तर, मौसम प्रतिकूलको समयमा भने २० मिनेटसम्म भने जहाज आकाशमै होल्ड भइरहेको उहाँ स्वीकार गर्नु हुन्छ।

विमानस्थल स्रोतका अनुसार नेपाल वायु सेवा निगमको ग्राउन्ड ह्याडलिङ सुस्त हुँदा पनि जहाज आकाशमै होल्ड गर्नुपर्ने अवस्था आएको छ । ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको निगमसँग आगमन र प्रस्थानका यात्रु बोक्न तीनवटा मात्रै बस छन् । ‘एउटा जहाज ल्यान्ड भएको १५ मिनेटमा पनि यात्रु रनवेबाट बाहिर लैजान नसक्दा जहाज आकाशमै होल्ड गर्नुपर्ने अवस्था आएको स्रोतको दाबी छ । त्यसमा पनि निगमका जहाज भनेका समयमा पनि उडन नसक्दा पार्किङ वेमा समेत समस्या उत्पन्न भएको स्रोतको दाबी छ ।


Facebook Comment


No ads found for this position