बेनी–जोमसोम सडकमा तोडियो ‘सिन्डिकेट’
सन्तोष गौतम ,म्याग्दीः स्थानीय व्यवसायीको एकाधिकार तोडिएपछि बेनी–जोमसोम सडकको यात्रा सहज बन्दै गएको छ । स्थानीय यातायात व्यवसायीले अपनाउँदै आएको आलोपालो प्रथा अन्त्य भई व्यवसायीबीच प्रतिस्पर्धा बढ्न थालेपछि मुस्ताङ यात्रा सहज बन्न थालेको हो । देशका विभिन्न ठाउँबाट जोमसोमका लागि बस तथा जीप सेवा सुरु भएको छ भने स्थानीय ब्यवसायीले समेत सेवा, सुविधा थप गर्न थालेका छन् ।
बाहिरी जिल्लाबाट आएका सवारी साधनलाई हुने अवरोधसँगै स्थानीय व्यवसायीका सीमित संख्याका गाडी चढ्ने र परिवर्तन गर्नुपर्ने बाध्यता हटेको छ । २६ सिटभन्दा कम सिट क्षमता भएका सार्वजनिक, निजी र पर्यटक गाडी निर्वाध रूपमा आवतजावत गर्न थालेपछि यात्रुलाई सहज भएको हो ।
सहज यातायात सुविधासँगै मुस्ताङमा आन्तरिक पर्यटक र तीर्थयात्रीको आवागमन बढेको छ । रिजर्भ गाडी लिएर सिधै जोमसोम पुगेका विराटनगरका मित्रलाल शर्माले एकाधिकार तोडिएपछि मुस्ताङ यात्रा सहज भएको बताए । “दुई वर्ष पहिले रिजर्भ गरेर ल्याएको गाडी बेनीमै राखेर स्थानीय व्यवसायीको गाडी चढेर मुस्ताङ गएका थियौं” शर्माले भने, “अहिले आफ्नै गाडीमा सिधै जोमसोम पुग्दा धेरै सजिलो भयो ।”
७६ किमि दूरीको यो सडकमा गत वर्षसम्म अन्य ठाउँबाट आउने सार्वजनिक सवारी साधनलाई स्थानीय व्यवसायीले अवरोध गर्दै आएका थिए । यसअघि बेनी र जोमसोमबाट दैनिक ४।४ वटा गाडी सिधा छुटाउने गरेका थिए । म्याग्दी र मुस्ताङको सीमा क्षेत्र घाँसामा पुगेपछि गाडी परिवर्तन गर्नुपर्ने बाध्यता थियो ।
अहिले घाँसाको काउन्टर हटाएर बेनी र जोमसोमबाट आवश्यकता अनुसार सिधै गाडी छुटाउने गरिएको म्याग्दी जीप तथा बस व्यवसायी समितिका सचिव सुमन श्रेष्ठले बताए । “प्रतिस्पर्धासँगै यात्रुलाई सहज रूपमा सुविधा दिइरहेका छांै” श्रेष्ठले भने, “मुक्तिनाथसम्मै एउटै गाडीमा पुग्न सकिने सुविधा दिएका छांै, कुनै अवरोध छैन ।”
म्याग्दी, मुस्ताङ, पृथ्वी, धौलागिरी, घोडाघोडी समितिले सहकार्य गरेर देशका विभिन्न ठाउँबाट सिधै मुस्ताङसम्म बस सेवा सुरु भएको छ । काठमाडौं, पोखरा, सुनौली र मालढुंगाबाट मुस्ताङका लागि सिधा बस सेवा सञ्चालन भएको छ । स्थानीय व्यवसायीले पुराना गाडीलाई विस्थापित गरी नयाँ र सुविधायुक्त गाडी सञ्चालन गरेका छन् ।
अन्य ठाउँका व्यवसायी समेत अस्थायी रुट परमिट लिएर रिजर्भमा गाडी मुस्ताङ लैजान थालेका छन् । मुक्तिनाथ, दामोदर कुण्डको दर्शनसँगै प्राकृतिक सौन्दर्यमा रमाउन आन्तरिक पर्यटकको मुस्ताङमा ओइरो लागेको छ । पृथक र मनमोहक दृष्य, जता फर्के पनि देखिने हिमाल, तालतलैया, हिमाली जीवनशैली, गुफा, गुम्बा मुस्ताङको आकर्षण हो ।