दुई महिनाभित्र फेरि रात्रिबस सञ्चालनमा ल्याउने

 सुवास गोतामे

काठमाडौः काठमाडौं महानगरपालिकाले दुई महिनाभित्र फेरि रात्रिबस सञ्चालनमा ल्याउने भएको छ । तीन वर्षदेखि सञ्चालनमा आउन नसकेको रात्रिबस पुनः सञ्चालन गर्न महानगरले गृहकार्य गरेको हो ।

तत्कालीन उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठले ०६९ भदौ १ गते तामझामसहित रत्नपार्कमा रात्रिबस उद्घाटन गरेका थिए । तर, त्यो तामझाम एक वर्ष पनि टिक्न सकेन ।

०७० जेठबाट रात्रिबस काठमाडौंमा देखिएनन् । रात्रिबस सञ्चालनका लागि मन्त्रालयले ३० लाख र महानगरले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । रात्रिबस सञ्चालन गर्न पहल गर्ने महानगरपालिकाका तत्कालीन प्रमुख तथा कार्यकारी अधिकृत केदारबहादुर अधिकारी हाल मन्त्रालयका सचिव हुनुहुन्छ । उहाँपछि चार जना कार्यकारी फेरिए पनि रात्रिबस सञ्चालनमा कसैको ध्यान गएन ।

डेढ महिनाअघि मात्रै महानगरपालिका प्रमुख भएर आएका ईश्वरराज पौडेलले रात्रिबस सञ्चालमा चासो देखाउनुभएको छ । उहाँले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ छलफल गरेर दुई महिनाभित्रै राजधानीमा रात्रिबस सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो । ‘पहिला के सहमति भएको थियो, किन बीचैमा रोकियो, किन चलेन र अब कसरी चलाउने भनेर हामी छलफल गरिरहेका छौं, कम्तीमा दुई महिनाभित्र बस सञ्चालनमा ल्याउँछौं,’ पौडेलले अन्नपूर्णसँग भन्नुभयो, ‘महानगरपालिकाकै सेयरमा चलिरहेको साझा यातायातलाई पनि रात्रिबसका रूपमा सञ्चालनमा ल्याउने प्रयासमा छौं ।’

तीन वर्षदेखि सञ्चालनमा आउन नसकेको रात्रिबस पुनः सञ्चालन गर्न महानगरले गृहकार्य गरेको हो ।

तत्कालीन समयमा जाडोमा साँझ ६ बजेदेखि राति नौ बजेसम्म र गर्मीमा राति ७ बजेदेखि १० बजेसम्म १४ वटा रात्रिबस सञ्चालनमा ल्याइएको थियो । मन्त्रालय र महानगरपालिकाको बजेट सकिएलगत्तै बस सञ्चालनमा नआएको हो ।

महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत पौडेलले महानगर र नगरपालिकालाई कम्पनी खडा गरेर बस सञ्चालनका लागि ६८ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यो पैसा देशभरका नगरपालिकालाई बाँडिने भए पनि उपत्यकाभित्र बढी पर्छ, यसले रात्रिबस सञ्चालन गर्न थप मद्दत गर्छ ।’

तत्कालीन समयमा रत्नपार्कबाट कलंकी, लगनखेल, कोटेश्वर, बौद्ध, गोंगबु एउटा, रत्पार्कबाट कलंकी दोस्रो, रत्नपार्कदेखि जोरपाटी तेस्रो, रत्नपार्कदेखि बाँसबारी चौथो रुटमा रात्रिबस चलेको थियो । ‘फेरि पनि रुट मिलाएर रात्रिबस सञ्चालन गर्ने तयारीमा छौं,’ पौडेलले भन्नुभयो ।


Facebook Comment


No ads found for this position