पोखरा विमानस्थल निर्माण सुरु

दिननाथ बराल ,पोखराः  प्रदेश नम्बर ४ मा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य ढिलो हँुदा यहाँको विकासको गतिविधिमा समेत असर परेको छ । गतवर्ष वैशाख १ गते तामझामका साथ मुख्य तीन दलका शीर्ष नेताको सहभागितामा विमानस्थलको शिलान्यास भए पनि जुन रूपमा निर्माण कार्यअघि बढ्नु पर्ने हो सो अनुरुप नहुँदा यहाँको विकासे कार्यक्रमले गति लिन नसकेको हो ।

पोखरा विमानस्थल करिब २१ अर्ब ६१ करोडको आयोजनामा चाइनाको एक्जिम बैंकले लगानी गर्ने भए पनि प्राविधिक कारणले कामअघि बढ्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

उक्त योजनाबाहेक नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणको करिब ५ अर्ब ५० करोड लगानीको विभिन्न भौतिक संरचनासहितको निर्माण कार्य भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर प्रदीप अधिकारीले बताए ।

उनका अनुसार अर्थ मन्त्रालयसँग सहायक ऋण सम्झौता भएको छ । ५ प्रतिशत व्याजदरमा २० वर्षको अवधिमा २६ किस्ता तिर्ने गरी ऋण सम्झौता भएको अधिकारीले बताए । सुरुको ७ वर्ष भने (ग्रेस अवधि) कुनै किस्ता तिर्न पर्दैन त्यसपछि १३ वर्षसम्म ६÷६ महिनामा किस्ता तिर्नुपर्ने हुन्छ ।

चीनबाट पोखरा विमानस्थल निर्माणका बारेमा प्रारम्भिक डिजाइन बनाएर नेपाली प्राविधिक टोलीलाई देखाइसकेको छ भने नेपाली प्राविधिक टोलीले उक्त डिजाइनमा केही परिमार्जन गर्न सुझाव दिएको छ । परिमार्जन भएको डिजाइनमा पुनः चिनियाँ टोलीले नेपाली टोलीलाई देखाएपछि विमानस्थलको काम सुरु हुने भएको हो ।

निर्माणाधीन पोखरा विमानस्थलमा हाल करिब ९७ प्रतिशत जग्गाको मुआब्जा दिइएको इन्जिनियर अधिकारीले बताए । उनका अनुसार करिब ६ सय जनामध्ये अब २० जना जति बाँकी छन् । पोखरा विमानस्थलको दक्षिणतर्फको भूभागको प्रवद्र्धन गर्न स्थानीयको मागअनुसार रिङरोड बनाउने योजनामा क्यान पुगेको उनले बताए ।

उनले भने, “अब हामीले विमानस्थलको दक्षिणतर्फ करिब ५० रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ, जसमा हामीले स्थानीयका लागि सेवा दिने उद्देश्यले १० मिटर चौडा कोलोपत्रे सडक निर्माण गर्दैछौं ।” उक्त जग्गा अधिग्रहणका लागि मात्र एक अर्ब बजेट विनियोजन भएको अधिकारीले बताए ।

परामर्श दाता छनोटको अन्तिम तयारीमा क्यान रहेको बताउँदै अधिकारीले नाला निर्माण तथा पहिरो नियन्त्रणलगायतको काम भएको जनाए । एक्जिम बैंकले ऋण स्वीकृत भएको मौखिक जनाए पनि लिखित रूपमा पत्र दिएसँगै आधिकारिक पत्र आएको करिब एक सातापछि काम सुरु हुने तयारी भएको अधिकारीले बताए ।

सरकारले जग्गा अधिग्रहणमा मात्र करिब ३ अर्ब ५ करोड खर्च गरिसकेको छ भने थप रिङरोडका लागि एक अर्ब विनियोजन गरेको छ । ५० करोड परामर्श दाताका लागि र करिब ५० करोड नाला तथा पहिरो नियन्त्रणसहित अन्य निर्माण कार्यका लागि ५० करोड खर्चिएको छ । पोखरा विमानस्थल करिब ३७ सय रोपनी क्षेत्रफलमा निर्माण हुनेछ ।


Facebook Comment


No ads found for this position