यस्तो छ चुनावी सुरक्षा योजना

८ वैशाख, काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनका लागि तीन तहको सुरक्षा योजना बनाएको छ । निर्वाचनको भित्री घेरामा नेपाल प्रहरी र बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन हुने केन्द्रीय सुरक्षा परिषदको निर्णय छ । मतदान केन्द्र र मतपेटिकाको सुरक्षार्थ नेपाली सेना बाहिरी घेरामा खटिनेछन्।

गृह मन्त्रालयले समान्य, संवेदनशील र अति संवेदशील क्षेत्रमा वर्गीकरण गरी आवश्यक सुरक्षाकर्मी परिचालन गर्न लागेको हो । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले बिहीबार संसदमा चुनाव सुरक्षाबारे जानकारी दिँदै मतदान स्थल र केन्द्र तथा जिल्लाको सुरक्षालाई ध्यानमा राखेर यस्तो योजना बनाएको जानकारी दिए । ‘वर्गीकृत सुरक्षा योजना बनाई परिचालन पनि सुरु भइसकेको छ,’ उनले भने।

निर्वाचन आयोगले सात प्रदेशका ७ सय ४४ स्थानीय तहमा मतदान स्थलको संख्या १० हजार ६ सय ४० र मतदान केन्द्रको संख्या १८ हजार ५ सय ७२ निर्धारण गरेको छ । केन्द्रीय निर्वाचन सेलले मुलुकभर आवश्यक रिजर्भ (बस्ने), मोबाइल (घुम्ती) टोलीको आवश्यक जनशक्ति, हातहतियार, सञ्चार साधनसमेत के कति अपुग हुन्छ, त्यसबारे लेखेर पठाउन पत्र समेत काटिसकेको छ।

मन्त्री निधिले संविधान कार्यान्वयनको कोसेढुंगाको रूपमा रहेको स्थानीय तहको निर्वाचन मिति घोषणापछि राजनीतिक दलका साथै सर्वसाधारणमा समेत जनलहर बढदै गइरहेको बताए । ‘करिब २० वर्षपछि मुलुक निर्वाचनमय बनेको छ,’ उनले भने । निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न केन्द्रीय तहमा ‘स्थानीय तह सुरक्षा योजना २०७३—७४’ तयार गरी कार्यान्वयनमा ल्याइसकेको उनले संसद्लाई जानकारी दिए । ‘निर्वाचन योजनाका लागि सबै पक्षसँग छलफल गरिएको थियो, आयोगलगायत सम्बद्ध पक्षलाई विश्वासमा लिई सुरक्षा वातावरणका लागि आधार तय गरिएको छ,’ उनले भने।

निधिले प्रत्येक निर्वाचन स्थल र केन्द्रमा केन्द्रीय सुरक्षा योजना बनाउन निर्देशन गरिएको र सोही बमोजिम क्षेत्र तथा जिल्लाबाट सुरक्षा योजना तयार गरी सुरक्षार्थ परिचालन भइसकेको बताए । आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी हुने एक करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताले कुन मतदानस्थल र मतदान केन्द्रमा गएर भोट हाल्ने भन्ने टुंगो समेत लगाइसकेको छ । मन्त्री निधिले त्यसमा सुरक्षा निकायलाई समवन्य गर्न, भूमिका स्पष्ट पार्न र प्रभावकारी रूपमा परिचालन गर्न एकीकृत सुरक्षालाई अघि बढाइएको बताए । सुरक्षा निकायबीचको समन्वयनका लागि सात प्रदेशलाई समेट्ने विराटनगर, धनगढी, नेपालगन्ज र पोखारामा सुरक्षा गोष्ठी गरिसकेको तथा धुलिखेल र सिमरामा केहि दिन भित्रै गर्ने योजना रहेको जानकारी दिए।

निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचनपश्चात् गरी तीन चरणमा सुरक्षा व्यवस्था मिलाउने काम गृह प्रशासनले गरेको समेत उनले बताए । निधिले शान्ति सुव्यवस्था कायम गरी निर्वाचन गराउन सरकार कटिबद्ध रहेको उल्लेख गरे । सरकारले निर्वाचन आयोगसँग समन्वय गरेर सम्पूर्ण तयारी अघि बढाएको जानकारी दिए । उनले भने, ‘यसमा सबै रानजीतिक दलको सहयोगको आवश्यकता छ र सबैको ध्यान यसमा केन्द्रित हुनुपर्छ।’


Facebook Comment


No ads found for this position