पर्यटकको आगमनमा वृद्धि
बैशाख। म्याग्दीमा बाह्य पर्यटकको आगमनमा उल्लेख्नीय वृद्धि भएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा म्याग्दी भ्रमणमा आउने बाह्य पर्यटकको सङ्ख्या ५२ हजार २७ रहेका छन् । अघिल्लो आर्थिक वर्षमा करिब २५ हजार पर्यटकले मात्र म्याग्दीको भ्रमण गरेका थिए।
कात्तिक महिनामा सबैभन्दा बढी पर्यटकको आगमन भएको कार्यालयका प्रहरी निरीक्षक दामोदर घिमिरेले बताए। बेनी, घोडेपानी, भुरुङ तातोपानी र दरवाङस्थित प्रहरी चौकीले पर्यटकको तथ्याङ्क राख्ने गरेका छन्।
हिमाली पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्वारको रुपमा चिनिएका म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, खोप्रा, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रिय, धौलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत विभिन्न धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलको भ्रमणका लागि पर्यटक आउने गर्छन्।
देशको अवस्था सहज भएको र बन्द हडताल नभएकाले यस वर्ष पर्यटक आगमन उत्साहजनक भएको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष जुनबहादुर पुनले बताए।
“२०७१ को हुदहुद आँधी, २०७२ को सुरुमै गएको भूकम्प र नाकाबन्दीका कारण थलिएको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको छ” अध्यक्ष पुनले भने– “बन्द हडताल नहुने र राजनीतिक वातावरण सहज भएमा पर्यटक आगमन अझै बढ्छ ।”