गौतमबुद्ध विमानस्थल निर्माण अलपत्र

माधव ढुंगाना

१० वैशाख। सम्झौताअनुसार निर्माण पूरा गर्न १४ महिना बाँकी हुँदा राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति २४ प्रतिशत मात्र भएको छ । यो प्रगतिलाई आधार मान्ने हो भने तोकिएको समयमा आयोजना पूरा गर्न दैनिक १ करोड २० लाख बराबरको काम गर्नुपर्छ । तर आयोजनाको निर्माण एक महिनादेखि पूर्ण रूपमा बन्द छ । आयोजना निर्माणको जिम्मेवारी चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सन ग्रुपले पाएको थियो । उसैले राखेको स्थानीय सहठेकेदार नर्थवेस्ट इन्फा नेपाल प्रालिसँग बिवाद बढेपछि चिनियाँँ कम्पनीले काम रोकेका हुन् । कर्मचारीले स्थानीय ठेकेदारसँग विवाद भएपछि आफैंले व्यवस्थापनको जिम्मेवारी लिने घोषणा गरेको चिनियाँ कम्पनीले सुरक्षा नभएको भन्दै निर्माण अघि नबढाएको हो ।

‘ठेकेदार पक्षबाट आयोजनाको गति अघि बढेको छैन, एक महिनामा कुनै प्रगति भएको छैन,’ आयोजना प्रमुख ओम शर्माले भने, ‘आर्थिकलगायत विषयको उचित व्यवस्थापन गर्न ठेकेदार कम्पनी असक्षम देखिएको छ ।’ उनका अनुसार ठेकेदार कम्पनीका प्रमुख जुको बदलामा नयाँ कर्मचारी पठाउन ६ अप्रिलमा आयोजनाले चिनियाँ ठेकेदार कम्पनीको मुख्य कार्यालयमा पत्राचार गरेको थियो । उनले थपे, ‘इमेल र कुरियरबाट पठाइसकेको अनुरोधको अहिलेसम्म ‘रेस्पोन्स’ आएको छैन ।’ चिनियाँले सह ठेकेदारबिना नै निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाए पनि परिणाम त्यस्तो देखिएन,’ शर्माले भने ।

‘पर्याप्त जनशक्ति र उपकरणको व्यवस्थापन भएको देखिँदैन,’ आयोजनाका एक प्राविधिकले भने, ‘चिनियाँ कम्पनीले बहाना बनाएर काममा ढिलाइ गरेको देखिन्छ ।’ आयोजना निर्माणमा प्रयोग गरिएका विभिन्न ढुवानीका साधन, मेसिन तथा उपकरण र निर्माण सामग्रीको भुक्तानी नपाउँदा स्थानीय सयौं व्यवसायीले गुनासो गरिरहेका छन् । स्थानीय व्यवसायीले सहठकेदार इन्फा नेपालमार्फत उपकरण तथा निर्माण सामग्री उपलब्ध गराएका थिए । स्थानीय ठेकेदारले आफूले पाउनुपर्ने भुक्तानी चिनियाँले नदिएको बताउँदै आएको छ । इन्फा प्रालिका अध्यक्ष राजु गुरुङले चिनियाँले ६० करोड रुपैयाँ भुक्तनी दिन बाँकी रहेको दाबी गरेका छन् । चिनियाँ कम्पनीले गरेको सम्झौताअनुसार स्थानीय ठेकेदारले निर्माण सामग्री, कामदार, इन्धन तथा उपकरण उपलब्ध गराउनुपर्नेछ । सोही सम्झौताअनुुसारको काम गरेबापत इन्फाले हालसम्म ७६ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । इन्फासँग गरिएको सम्झौतापत्र चिनियाँले दराजको ताला फुटाएर लगेको गुरुङको दाबी छ । सम्झौतापत्रको फाइल जबर्जस्ती लगेको उजुरी इन्फाले दिएपछि आयोजनाको दबाबमा फाइल फिर्ता गरिएको थियो । दुवै पक्षबीचको विवाद मिलाउन प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले संयोजन गरेर बोलाइएको बैठकमा चिनियाँले सुरक्षा नभएको बताएका थिए । चिनियाँले भने सहठेकेदारलाई भुक्तानी दिन बाँकी नरहेको बताउँदै आएको छ ।

प्रजिअ सिंहले साताअघि बोलाएको बैठकमा सरोकारवालाबीच छलफल गराइएको थियो । प्रजिअ सिंहले भने, ‘चिनियाँकै तर्फबाट सुरक्षा नभएको जानकारी आयो ।’ प्रजिअ सिंहले स्थानीय ठेकेदारबाट असुरक्षित भएको महसुस भए कारबाही गर्न तयार रहेको बताएका थिए । चिनियाँले भने, यस्तो अवस्था नभएको बताएका थिए । ‘निर्माण रोकिनुको कारण के हो थाहा छैन,’ आयोजनाका कर्मचारी भन्छन् । अहिले आयोजनामा दिनदिनै कर्मचारी, स्थानीय सप्लायर्सलगायतका समूह लिखित र मौखिक उजुरी लिएर आउने गरेका छन् । चिनियाँले भुक्तानी नदिएपछि कर्मचारीले तलब पाएका छैनन् । उनीहरू पनि हडतालमा उत्रेका छन् । चिनियाँ कम्पनीले ठेक्का स्वीकृत गर्ने बेलामा आफूसँग ८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बताएका थिए । तर अहिले रकम भुक्तानीमा आनाकानी गरेको छ ।

गत चैतको पहिलो सातानै ५ दिनभित्र स्थानीय ठेकेदार र चिनियाँबीचको लेनदेन मिलाउने सहमति भएको थियो । अहिले उक्त सहमतिको विषय हराएको छ । प्रजिअ सिंह भने चिनियाँले असुरक्षाको जानकारी आफूलाई नदिएको बताउँछन् । कर्मचारी संघर्ष समितिका संयोजक मोहन गौतमले आफूहरूलाई फुटाएर चिनियाँ कम्पनीले द्वन्द्व बढाउन खोजेको बताए । द्वन्द्व बढाएर आयोजनामा काम गर्ने वातावरण छैन भन्ने सन्देश दिन खोजेको कर्मचारीहरू बताउँछन् । एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण हुन लागेको उक्त आयोजनाको लागत ६ अर्ब २२ करोड छ । सन् २०१७ मा सम्पन्न गर्ने लक्ष्य राखेकोमा अहिले यो मिति सर्दैसर्दै २०१८ को जुन १५ तोकिएको छ । यो अवधिमा आयोजनाले १ अर्ब ३१ करोड भुक्तानी दिइसकेको छ । ‘निर्माणको रफ्तार यस्तै रहने हो भने राष्ट्रिय गौरवको आयोजना पूरा हुन कति वर्ष लाग्छ यकिन छैन,’ आयोजनाका कर्मचारी भन्छन् ।साभार कान्तिपुर


Facebook Comment


No ads found for this position