लोकतन्त्र ल्याउँदाका ती उन्नाईस दिन (फोटो फिचर)

वैशाख ११, २०७४- नेपालको राजनीतिक इतिहासलाई ऐतिहासिक मोडमा पुर्‍यायो– त्यो १९ दिने कठोर जनआन्दोलनले । मुलुकभर लाखौं जनता शान्तिपूर्ण क्रान्तिमा होमिएको घटनाले दुनियाँलाई तरंगित तुल्यायो– त्यो ‘अप्रिल क्रान्ति’ले । राज्यशक्तिको स्रोत नेपाली जनता र राजकीय एवं सार्वभौमसत्ता नेपाली जनतामा स्थापित गर्न सफल रह्यो । तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध २४ चैत, २०६२ बाट ११ वैशाख २०६३ निरन्तर १९ दिने आन्दोलन भएको थियो– जसलाई ‘अप्रिल क्रान्ति’ भनिन्छ । त्यसैले पहिल्यायो २ सय ५० वर्षको राजाशाही उन्मुलन गरेर गणतन्त्रको बाटो । यस्तो थियो– अप्रिल क्रान्तिको घटना चक्र ।

२४ चैत, २०६२ 
– सात राजननीतिक दलको आह्वानमा आमहडतालको पहिलो दिन व्यापक दमनबीच देशभरका जनता स्वस्फूर्त सडकमा । बिहानैदेखि प्रहरीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि लाठीचार्ज र धरपकड सुरु । हडतालका क्रममा देशभरबाट ४ सयभन्दा बढी नेता–कार्यकर्ता पक्राउ । बाँके, पोखरा र दोलखामा प्रदर्शन दबाउन सेना परिचालन ।
– आमहडतालको आह्वानमा निस्केका बेला सप्तरीमा प्रहरीको कुटाइबाट गम्भीर घाइते एमाले कार्यकर्ता दर्शनलाल यादवको मृत्यु ।
– नियमित ड्युटीमा कान्ति बाल अस्पताल गइरहेका चिकित्सक डा. केदारनरसिंह केसीको प्रहरीले जथाभावी कुटपिटमा परी खुट्टा भाँचियो ।
– महाराजगन्ज प्रहरी प्रतिष्ठान दुई नम्बर गणका राजबन्दीहरूले राज्य पक्षको दुव्र्यवहारविरुद्ध अनिश्चितकालीन भोक हडताल सुरु ।

२५ चैत, २०६२
– प्रमुख दलका नेताद्वारा २०४६ सालकै जस्तो ‘आँट र जोस’ का साथ लोकतन्त्र प्राप्तिमा सक्रिय भएर आन्दोलनमा उत्रन आग्रह ।
– सात दलको आमहडताल र विरोध कार्यक्रमको लगाम माओवादी नेतृत्वको हातमा पुगेको गृहमन्त्री कमल थापाको जिकिर । दलका कार्यक्रममा माओवादी घुसेर ध्वंसात्मक काम गरिरहेको दाबीसहित परिस्थितिअनुसार कडा कारबाही गर्न सकिने चेतावनी ।
– अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एमनेस्टी इन्टरनेसनलले शान्तिपूर्ण राजनीतिक प्रदर्शनबाट व्यापक गिरफ्तारी र धरपकड तत्काल बन्द गर्न आग्रह ।
– लोकतन्त्रका लागि जारी आन्दोलनमा पत्रकार, कानुन व्यवसायी, चिकित्सक, प्राध्यापक, इन्जिनियरसहित पेसाकर्मीहरूले ऐक्यबद्धता प्रकट ।
– बैंक, वित्तीय संस्था र संस्थानका कर्मचारीहरू कामकाज ठप्प पारी लोकतान्त्रिक आन्दोलनमा ।
– सात अमेरिकी कंग्रेस सदस्यहरूद्वारा तत्कालीन राजा ज्ञानेन्द्रलाई पत्र पठाउँदै शान्तिपूर्ण प्रदर्शनमा भेला हुने मौलिक अधिकारको सम्मान गर्न र संयम प्रदर्शन गर्न सरकार र प्रहरीलाई आग्रह ।
अमेरिकी विदेश सहायकमन्त्री रिचर्ड बाउचरले शुक्रबार राजा ज्ञानेन्द्रलाई समर्थन गर्नुपर्ने कुनै आधार नदेखेको बताउनुभएको छ ।
– अमेरिकी विदेश सहायकमन्त्री रिचर्ड बाउचरद्वारा राजा ज्ञानेन्द्रलाई समर्थन गर्नुपर्ने कुनै आधार नभएको र राजाले प्रजातन्त्रको उपहास गरेको टिप्पणी ।
– आन्दोलनकारीले कांग्रेस केन्द्रीय सदस्य गोविन्दराज जोशीलाई ‘भ्रष्ट चरित्र’को आरोप लगाउँदै पाटनको प्रदर्शनकै क्रममा लखेटे ।

२६ चैत, २०६२
– शान्तिपूर्ण जुलुसमाथि सेनाले हानेको गोलीले पोखरामा एक आन्दोलनकारी भीमसेन दाहालको मृत्यु । पोखरा बगरबाट महेन्द्र पुलतिर गइरहेको शान्तिपूर्ण जुलुसमाथि दूरसञ्चार कार्यालयको क्षतबाट सेनाले गोली प्रहार गर्दा दाहालको निधन र मीनराज लम्साल, रोशन गुरुङमाथि गोली लाग्दा घाइते ।

– देशव्यापी आमहडताल र राजधानी केन्द्रित जनप्रदर्शनलाई दबाउन सरकारद्वारा मोबाइल बन्द गरी घोषित कर्फ्युलाई सात दल र नागरिक समाजले दर्जनौं ठाउँमा व्यापक जुलुस प्रदर्शन गरी अवज्ञा ।

– आन्दोलन निस्तेज पार्न कर्फ्यु आदेश ।

२७ चैत, २०६२
– प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा बनेपामा आन्दोलनकारी शिवहरि कुँवरको मृत्यु ।
– आम हडतालको चौथो दिन कीर्तिपुर, कलंकी, गोंगबु, सामाखुसी, जोरपाटी, बौद्ध, चाबहिल, मैतीदेवी, कालो पुल, कोटेश्वरलगायतका ठाउँमा हजारौंको जुलुस निस्केर कर्फ्युको अवज्ञा । साँझमा ब्लाक आउट र मसाल जुलुसका क्रममा दर्जनौं ठाउँमा झडप भएपछि राजधानी रातिसम्म तनावग्रस्त ।
– सञ्चारकर्मी  ‘प्रेस स्वतन्त्रता बहाली गर’, ‘लोकतन्त्र जिन्दावाद’, ‘स्वतन्त्र समाचार संकलनमा अवरोध नगर’, ‘सरकारी दमन मुर्दावाद’ जस्ता नारा सडकमा उत्रे ।
– लोकतन्त्रका लागि राजधानीलगायत मुलुकका विभिन्न भागमा स्वास्थ्यकर्मीले काम ठप्प पारी विरोध प्रदर्शनमा ।

२८ चैत, २०६२
– कर्फ्युको तेस्रो दिन पनि अवज्ञा गर्दै विशाल प्रदर्शन । हजारांैले कफ्र्युको अवज्ञा गर्दै प्रदर्शन गरेपछि दमनमा उत्रिएका प्रहरीसँग राजधानीलगायत जिल्लाका सहरमा झडप । चितवनका नारायणगढ र रत्ननगर, पोखरा र बुटवल तथा काभ्रेको बनेपामा व्यापक प्रदर्शन । काठमाडौं उपत्यकाका चाबहिल, चुच्चेपाटी, कपन, गोंगबु, स्वयम्भू, कीर्तिपुर, पुतलीसडक, मैतीदेवी, घट्टकुलो, सुविधानगर, पाटन, कलंकी, पुल्चोक, तीनकुने, भक्तपुरलगायतका स्थानमा झडप ।
– गुरुकुल सम नाट्यघरमा भेला भएका स्रष्टाहरूले आ–आफ्नो कार्यक्रमसहित सडकमा निस्कने निर्णय ।
– अमेरिकी सहायक विदेशमन्त्री रिचार्ड ए बाउचरले राजा ज्ञानेन्द्रलाई प्रजातन्त्र फर्काउन र नेपालमा जारी जनआन्दोलनका क्रममा नागरिक अधिकारको रक्षा गर्न आग्रह ।
– शान्तिपूर्ण प्रदर्शन दमन गर्न सरकारले अपनाएको कर्फ्यु, अश्रुग्यास, बुलेट, रबरगोली, लाठी प्रहार तत्काल बन्द गर्न चिकित्सकको आग्रह ।
– नेपालमा स्थायी शान्ति र पूर्ण लोकतन्त्र माग गर्दै विदेशी पर्यटकहरूद्वारा काठमाडौंमा मैनबत्ती जुलुस ।
– राष्ट्रिय मानवअधिकार आयोगले सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि आवश्यकताभन्दा बढी बल प्रयोग गरेकामा आपत्ति जनाउँदै ‘अत्यधिक बल प्रयोग गर्ने सुरक्षाकर्मीलाई आवश्यक कानुनी कारबाही गर्न’ सिफारिस ।

२९ चैत, २०६२
– पक्राउ परेका प्रर्दशनकारीलाई घेरा हालेर निर्मम र अमानवीय तरिकाले कुुटपिट गर्ने क्रम अरू प्रवृत्ति । सशस्त्र र नेपाल प्रहरीले प्रर्दशनकारी आफ्नो नियन्त्रणमा आउनेबित्तिकै बर्बर किसिमले लाठी र बुुटले प्रहार । विरोध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि सुरक्षाफौजले आक्रामक रूपमा सयौं राउन्ड गोली चलाउँदा दुई सयभन्दा बढी घाइते । गोंगबु क्षेत्रमा सशस्त्र प्रहरीका एसपी माधव थापाको नेतृत्वमा रहेको प्रहरीले दिउँसो एक बजेदेखि गोली चलाउन सुरु गरी अपराह्न साढे चार बजेसम्म जारी । गोलीबाट बालबालिका र वृद्धवृद्धासमेत सख्त घाइते ।

– राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त कार्यालयले शान्तिपूर्ण आन्दोलनमा सुरक्षाबलद्वारा गरिएको अधिक बल प्रयोग र स्वेच्छाचारी पक्राउप्रति खेद प्रकट ।

३० चैत, २०६२
– आमहडतालको सातौं दिन देशभर भएका शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दुव्र्यवहार गर्दै तीन सयभन्दा बढीलाई गिरफ्तार ।

– नवलपरासीमा लोकतन्त्रका पक्षमा नाराबाजी गर्दै सात दलको प्रदर्शनले सुरक्षा घेरा तोड्न खोज्दा सेनाले अन्धाधुन्ध गोलीबाट स्वाठी– ५ भुमही रामनगरका विष्णु पाण्डेको मृत्यु ।
– लोकतन्त्र बहाली र कानुनी राज्य स्थापनाका लागि दलहरूले सुरु गरेको आमहडतालभर कानुन व्यवसायीहरूले बन्दीप्रत्यक्षीकरणबाहेक सबै मुद्दा अदालतमा बहस पैरवी नगर्ने घोषण ।
– सात दलका शीर्ष नेताले जनआन्दोलन प्रभावकारी बन्दै गएको ठहरसहित शान्तिपूर्ण आन्दोलनका सहभागीमाथि दमन गर्नेलाई लोकतन्त्र स्थापनापछि गठन हुने सरकारले कडा कारबाही गर्ने घोषणा ।
– भारतीय विदेश मन्त्रालयद्वारा वार्ता र सहमति नै एकमात्र उपाय भएको जनाउँदै सक्दो चाँडो राजनीतिक दलसँग संवाद थाल्न सरकारसँग आग्रह ।
– लोकतन्त्र बहालीको माग गर्दै बानेश्वर सडकमा शान्तिपूर्वक बसेर कविता पाठ गरिरहेका स्रष्टामाथि प्रहरीद्वारा गोली र लाठी प्रहार ।
– आन्दोलनको समाचार संकलन गर्ने पत्रकारहरूमाथिको दमन र कुटपिट विरोधमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी २९ पत्रकार पक्राउ ।
– आन्दोलनमा घाइतेको उपचारार्थ जाउलाखेलस्थित महिला प्रशिक्षण केन्द्रका बन्दीले गर्न लागेको रक्तदानमा प्रशासनले रोक ।

चैत ३१, २०६२
– मुलुकभर व्यापक प्रदर्शन जारी । सुुरक्षाकर्मीले ऐक्यबद्धता जुलुसमा हस्तक्षेप गरी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था महासंघका २ सय, ७२ कानुन व्यवसायी, ११ प्राध्यापक र दर्जनौं शिक्षकलाई पक्राउ ।

– आन्दोलनका घाइतेको उपचार सक्रिय अमेरिकी डाक्टर ब्रायन काबले सरकारी दमनका कारण नेपाल छोडे । अध्यागमनका अधिकारीले तुरुन्तै नेपाल नछोडे पुन: हिरासतमा लिने धम्की दिएपछि उनी दिउसो बंगलादेश गए ।
– लोकतन्त्रका लागि जारी आन्दोलनमा ऐक्यबद्धता जनाउन कानुन व्यवसायीले निकालेको शान्तिपूर्ण जुलुसमा प्रहरीद्वारा गोली प्रहार । गोली लागी चारजना गम्भीर घाइते । धरपकड र लाठी प्रहारबाट कम्तीमा १८ घाइते भए भने अध्यक्ष शम्भु थापासहित ७२ लाई गिरफ्तार ।

– नेपाली कांग्रेसले जारी जनआन्दोलन सात दलको वा कुनै विशेष समूहको मात्र नभई आम नेपाली जनताको भएको उल्लेख गर्दै निरंकुशतन्त्रविरुद्धका सबैलाई त्यसमा समाहित हुन आह्वान ।
– लोकतान्त्रिक जनआन्दोलनमा सरकारी  कर्मचारीले ऐक्यबद्धता जनाउँदै कार्यालयमा काम ठप्प ।
– सुरक्षा प्रत्याभूति नभएपछि अमेरिकाले नेपालमा रहेका आफ्ना कर्मचारी र तिनका परिवारलाई देश छाड्न सुझाव ।

१ वैशाख, २०६३
– राजा ज्ञानेन्द्रले नयाँ वर्षको वक्तव्य दिंदै संवादको बाटोमा आएर बहुदलीय प्रजातान्त्रिक व्यवस्था क्रियाशील तुुल्याउने अभिभारा लिन र योगदान दिन सबै दलहरूलाई आह्वान ।
– सात दलद्वारा राजाको सन्देशले राजनीतिक संकटलाई सम्बोधन नगरेको भन्दै सात दलले आन्दोलनलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता ।
– सात दलले नयाँ वर्षका दिन पनि देशभर आमहडताल र जनप्रदर्शन जारी । उपत्यकाबाट शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी १८ जना पक्राउ ।
– जनआन्दोलन सुरु भएकै दिन बन्द मोबाइल फोन नयाँ वर्षको मध्यान्हमा अचानक सुचारु । त्यो सेवा अचानक खुल्दा सर्वसाधारणमा आश्चर्य छायो– थन्किएका मोबाइलबाट ‘लोकतान्त्रिक नयाँ वर्ष’ को सन्देश एकोहोरो प्रवाह हुनथाले ।

२ वैशाख, २०६३
– राजधानी पूरै ठप्प हुनुका साथै लोकतन्त्र माग गर्दै स्वस्फूर्त विशाल प्रदर्शन । गोंगबु, कलंकी, चाबहिल, कपनलगायतका क्षेत्रबाट दिनभर हजारौंको जुलुसले पटकपटक ठूलो संख्यामा तैनाथ प्रहरीको घेरा तोडदै सहर पस्न प्रयास ।
– बुटवलका किसानद्वारा आन्दोलन अवधिभर सहरमा तरकारी र दूध नपठाउने निर्णय ।

३ वैशाख, २०६३
– जनआन्दोलन रोक्न बल्खु र पाटन मंगलबजारमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा १३ गम्भीर घाइते । उपत्यकाका तीनै सहर ठप्प हुने गरी दर्जनौं ठाउँमा प्रदर्शन ।

– अर्घाखाँचीमा शान्तिपूर्ण प्रदर्शनमा सेनाले गोली चलाउँदा दसजना गम्भीर घाइते ।
– उपत्यकाको चक्रपथ सात दलको मुख्य प्रदर्शनस्थल बन्न थालेपछि चक्रपथदेखि दुई सय मिटर बाहिरसम्म प्रदर्शन गर्न नपाइने गरी निषेधाज्ञा क्षेत्र विस्तार ।
– आन्दोलनकारीलाई पुन: सहभागी हुन नसक्ने गरी घाइते बनाउन उच्च प्रहरी अधिकृतहरूको निर्देशन ।
– जनआन्दोलन ऐतिहासिक सफलतातर्फ उन्मुख भएको ठहरसहित सात दलले सर्वसाधारणसँग कर, महसुल, भ्याट, ब्याज नबुझाउन आह्वान ।
– निजामती कर्मचारीहरूले कलम बन्द र शालिन विद्रोहले मात्र लोकतन्त्र बहाली नहुने ठहरसहित  अधिराज्यभरिका कर्मचारीलाई सडक आन्दोलनमा उत्रिन आह्वान ।
– नेपाल सद्भावना पार्टी (आ) को १६औं स्थापना दिवस २ नं. गण महाराजगन्जमा सम्पन्न ।
– भारतका पूर्वप्रधानमन्त्री आईके गुजरालले राज्यद्वारा गरिएको दमन र हिंसा अन्त्यका लागि आन्दोलनरत पक्षबीच सार्थक वार्ता गर्न आग्रह गर्नुभएको छ ।

४ वैशाख, २०६३
– सुरक्षाकर्मीले राजधानीको चाबहिलमा शान्तिपूर्ण प्रदर्शनमा बिनाकुनै चेतावनी गोली, अश्रुग्यास र लाठी प्रहार गर्दा झन्डै सय घाइते । शान्तिपूर्ण प्रदर्शन गरिरहेकामाथि अपराह्न पाँच बजे एआईजी कृष्ण बस्नेत निर्देशनमा एसएसपी ज्ञानोदराज वैद्यको नेतृत्वमा रहेको झन्डै चार सय प्रहरीद्वारा आक्रमण ।
– शान्तिपूर्ण आन्दोलनमा सुरक्षाकर्मीले गोली चलाउँदा बारा निजगढ–२ बाघदेवडा २८ वर्षीय हीरालाल गौतमको मृत्यु र गोली लागी ६ घाइते ।
– प्रेस स्वतन्त्रता र लोकतन्त्रका लागि भएको शान्तिपूर्ण प्रदर्शनबाट पक्राउ परेका २० पत्रकारलाई तीनमहिने थुनुवा पुर्जी ।
– राजाबाट पूर्वप्रधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराई र सूर्यबहादुर थापासँग परामर्श ।

५ वैशाख, २०६३
– लोकतान्त्रिक आन्दोलनमा सहभागीहरूले झरीको वास्ता नगरी प्रदर्शन जारी राखे ।
– नेपालगन्जमा जनप्रदर्शनमा प्रहरीले हानेको अश्रुग्यासले घाइते बागेश्वरी–३ की २२ वर्षीया सेतु सुनुवारको उपचारका लागि भारतको लखनउतर्फ लाँदै गर्दा बहराइच पुगेपछि मृत्यु ।

– पोखरा, नेपालगन्ज र उदयपुरमा गरी सुरक्षाफौजको गोली लागी १८ घाइते ।
– गृह मन्त्रालय र राष्ट्र बैंकमा लोकतन्त्र पक्षमा प्रदर्शनमा उत्रिएका ३७ कर्मचारी पक्राउ ।

६ वैशाख, २०६३
– सात दलको विशाल प्रदर्शनमा सेनाले गोली चलाउँदा सदरमुकाम झापाको चन्द्रगढीमा चारजनाको मृत्यु, दुई सयभन्दा बढी प्रदर्शनकारी घाइते ।
– चक्रपथमा सात राजनीतिक दलको घोषित कार्यक्रमलाई असफल पार्न काठमाडौं उपत्यकामा १८ घन्टा लामो कफ्र्यु आदेश जारी । सरकारद्वारा लगाएको कफ्र्यु अवज्ञा गरी शान्तिपूर्ण प्रदर्शन ।
– शिक्षाकर्मी र अपांगले लोकतन्त्र र शान्ति बहालीका लागि सात दलद्वारा जारी आन्दोलनप्रति ऐक्बद्धता प्रकट गर्दै बुधबार राजधानीमा गरेको भिन्दाभिन्दै प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी ७२ जना पक्राउ,  जसमा १४ अपांग र ७२ जना शिक्षाकर्मी ।
– आन्दोलन दबाउन व्यापक सुरक्षा बल प्रयोगमा असन्तुष्ट राष्ट्रिय मानवअधिकार आयोगले गृहमन्त्री कमल थापासँग स्पष्टीकरण ।

७ वैशाख, २०६३
– आन्दोलनलाई नियन्त्रण गर्न लगाएको कर्फ्यु आदेशको अवज्ञा गरी पाँच लाखभन्दा बढी राजधानीवासी प्रदर्शनमा ।
– कलंकीको शान्तिपूर्ण प्रदर्शन प्रहरीले चलाएको गोलीबाट तीनजनाको मृत्यु, दर्जनौं गम्भीर घाइते ।
– चक्रपथमा शक्ति प्रदर्शन गर्ने कार्यक्रम हुन नदिन सरकारले चक्रपथभित्र र बाहिरको दुई सय मिटरसम्म र भक्तपुरको नगर क्षेत्र र ठिमी नगरपालिकाभरि तथा अरनिको राजमार्गमा लगाएको कर्फ्युको प्रदर्शनकारीले अवज्ञा ।
– कलंकीमा एक लाख, महाराजगन्ज चक्रपथमा एक लाख, चाबहिलमा एक लाख, गोंगबुमा ५०, कोटेश्वरमा २०, सातदोबाटोमा झन्डै एक लाख, वनस्थलीमा १५, बालाजुमा १५, मैतीदेवीमा १०, बानेश्वरमा १०, डल्लुमा १०, खुसिबुमा ५, पेप्सिकोलामा २५, भक्तपुरको सूर्यविनायकलगायतमा ४० हजारभन्दा बढी जनता प्रदर्शनमा उत्रिएको अनुमान । यीबाहेक दुईदेखि पाँच हजारसम्मका सानातिना जुलुसहरू टोलटोल र गाउँ क्षेत्रहरूमा दिनभर ।
–भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहका विशेषदूत डा. करण सिंहले नेपालको संकट निकासका लागि राजा ज्ञानेन्द्रबाट चाँडै घोषणा हुने जानकारी ।

८ वैशाख, २०६३
–जनआन्दोलन उत्कर्षमा पुगेका बेला ज्ञानेन्द्रबाट मुलुकको कार्यकारिणी अधिकार जनतामा फिर्ता गरेको घोषणा । प्रधानमन्त्रीका लागि यथाशक्य छिटो नाम सिफारिस गर्न सात राजनीतिक दलको गठबन्धनलाई आह्वान ।
–आन्दोलनरत सात दल र नागरिक समाजले राजाको सम्बोधन आन्दोलन निस्तेज पार्ने षडयन्त्र मात्र भएको टिप्पणी । आमहडताल र जनप्रदर्शनका कार्यक्रम सशक्त ढंगले जारी राख्ने घोषणा ।
–राजतन्त्रविरुद्ध चर्का नाराबाजीसहित लोकतन्त्र माग गर्दै राजधानीमा ऐतिहासिक जनप्रदर्शन । कर्फ्यु अवज्ञा गर्दै चक्रपथ क्षेत्रमा भेला भएका जनताले एकत्रित भई सहरको मध्यभागसम्म प्रदर्शन । विशाल जनसागरले चक्रपथ परिक्रमा गरिहेका बेला सेतो रंगको हवाइजवाज र सैनिक हेलिकप्टर गस्ती ।

९ वैशाख, २०६३
– शाही घोषणालाई धोकापूर्ण भन्दै लाखौं जनताद्वारा प्रदर्शन । सुरक्षाकर्मीको गोली, अश्रुग्यास र लठ्ठी प्रहारले ३ सय ४४ भन्दा बढी घाइते । करिब पाँचजनाको स्थिति चिन्ताजनक ।
– सात दलले राजाको घोषणाले संयुक्त जनआन्दोलनको रोडम्याप र लक्ष्यलाई सम्बोधन गर्न नसकेको ठहर गर्दै अस्वीकार गर्ने निर्णय ।
– संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानले कार्यकारी अधिकार जनतालाई फर्काउने शाही घोषणाको स्वागत गर्दै सत्ता हस्तान्तरणका प्रारूप तयार गर्ने जिम्मेवारी दलहरूको भएको टिप्पणी ।
– बेलायतले सात दलको गठबन्धनलाई प्रधानमन्त्री मार्फत कार्यकारी अधिकार फिर्ता गर्ने घोषणा स्वागत गर्दै राजाले जाहेर गरेको प्रतिबद्धता परिपालना गर्न आग्रह ।
– सात दलको गठनबन्धनलाई शक्ति हस्तान्तरण गर्ने राजा ज्ञानेन्द्रको प्रस्तावको स्वागत गर्दै प्रधानमन्त्रीको नाम सिफारिस भएपछि नेपालमा प्रजातान्त्रिक, संवैधानिक संरचनाको मार्ग प्रशस्त गर्नेमा क्यानाडाको आशा ।

१० वैशाख, २०६३
– आज आमहडतालको १८ औं दिन– शाही सम्बोधनको विरोधमा मुलुकभर कर्फ्यु र निषेधाज्ञा तोड्दै बृहत् प्रदर्शन । प्रदर्शनकारीमाथि प्रहरीले कोटेश्वर, बुद्धनगर, कलंकी, बालाजुुलगायतका ठाउँमा अन्धाधुन्ध गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा ५७ जना गम्भीर घाइते ।
– प्रदर्शनकारीले ‘शाही घोषणा धोका हो’ भन्ने नारा लगाउँदै नेताहरूलाई सचेत हुन आग्रह ।
– शाही घोषणा समर्थन विवादमा परेपछि भारतले औपचारिक प्रतिक्रिया सच्याउँदै ‘नेपालको भविष्य निर्धारण गर्ने नेपाली जनता’ नै भएको धारणा व्यक्त ।

११ वैशाख– २०६३
– आमहडतालको १९औं दिन : लोकतन्त्र र शान्ति बहाली माग गर्दै दिउँसो राजधानीवासीले कर्फ्यु आदेशको अवज्ञा गरी उपत्यकाका तीनवटै सहरका दर्जनौं ठाउँमा प्रदर्शन । आन्दोलनका कार्यक्रम हुन नदिन जारी गरेको कफ्र्यु आदेशको समय सुरु भएपछि राजधानीवासी स्वस्फूर्त रूपमा प्रदर्शनमा ।
– लोकतान्त्रिक आन्दोलन दबाउन उपत्यकाका तीनै जिल्ला प्रशासनले चैत २६ देखि वैशाख ११ सम्म कफ्र्यु । आन्दोलनभरि ६ देखि २५ घन्टासम्म कफ्र्यु आदेश जारी ।
– राति ११:३० बजे राजा ज्ञानेन्द्रबाट आएको वक्तव्य : ‘२०५९ साल जेठ ८ गते विघटन भएको प्रतिनिधिसभालाई यसै घोषणा मार्फत पुन:स्थापित, सार्वभौमसत्ता र राजकीयसत्ता जनतामै, जनआन्दोलनको जनभावना र सात दलको मार्गचित्रका आधारमा समाधान खोजिने, संसद् बैठक वैशाख १५ गतेका निम्ति आह्वान ।’
– यो वक्तव्य आएपछि मध्यरातमै खुसियालीमा जुलुस प्रदर्शन ।साभार कान्तिपुर

तस्विरहरु : किरण पाण्डे/कान्तिपुर । 

http://bit.ly/2p8tCxz


Facebook Comment


No ads found for this position