१५ करोडको जग्गा कीर्तेमा माओवादी नेतादेखि पत्रकारसम्म

पर्वत पोर्तेल, वैशाख ११, २०७४- झापा शनिश्चरेका जीवन विष्टको नाममा रहेको १५ करोड मूल्यको जग्गा कीर्ते गरी हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता प्रहरीले पुष्टी गरेको छ ।

घटनामा संलग्नहरुलाई सार्वजनिक गर्न सोमबार भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा एसपी शैलेस थापाले भने, ‘घटनामा समाजका प्रतिष्ठित व्यक्तिहरुको संलग्नता देखिन्छ ।’

जग्गा किर्ते काण्डका मुख्य सूत्रधार टेलिभिजन पत्रकार पुजन  घिमिरे रहेको प्रहरीको दाबी छ ।  घिमिरेकै योजनामा विष्टको नामको अनारमनी–४ मा रहेको कित्ता नम्बर १६९ र १७०  को करिब ५ कठ्ठा १६ धुर जग्गा कीर्ते गरि हडप्न खोजिएको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी थापाले बताए ।

घटनामा संलग्नमध्ये प्रहरीले जिल्ला प्रशासनका खरदार तेजेन्द्र न्यौपाने र कांग्रेसका कार्यकर्ता भूपू कान्छा भनिने अजय राईलाई गत चैत २७ गते,  भद्रपुरका व्यापारी प्रेम न्यौपानेलाई २८ गते र बाहुनडाँगीका राजु कुँवरलाई चैत ३० गते प्रहरीले पक्राउ गरेको थियो ।

पत्रकार घिमिरेसहित उनका सहयोगी पत्रकार अर्जुनधारा १ वस्ने शम्भु दाहाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य अग्नी भनिने राजु आचार्य, माओवादी कार्यकर्ता लक्ष्मण बस्नेत र बिर्तामोडका ओम शिवाकोटी फरार रहेको एसपी थापाले जनाए । फरार अभियुक्तहरुलाई पक्राउ गर्न भारत र जिल्ला बाहिरका अन्य स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको थापाले जनाए । ‘फरारहरु चाँडै पक्राउ पर्ने हाम्रो विश्वास छ’, एसपी थापाले भने ।

अभियुक्तहरुलाई सोमवार थप अनुसन्धानका लागि तेस्रो पटक १० दिनको म्याद थप गरिएको छ ।  जग्गाधनी विष्टले गत माघ १२ गते बिर्तामोडको एभरेष्ट होटलबाट अपहरण गरी गरामनीको शुभकामना होटलमा बन्धक वनाएर डर देखाएर करोडौ मूल्यको जग्गा हडपेको भनी इलाका प्रहरी कार्यालयमा गत चैत २५ गते किटानी जाहेरी दिएका थिए । जाहेरीको आधारमा चार जनालाई प्रहरी पक्राउ गरेको हो ।

विष्टको नामको जमिनमा पत्रकार घिमिरे र विर्तामोडका ओम शिवाकोटीले गत असार १९ गते ५ वर्षका लागि व्यबसाय गर्न जग्गा भाडामा लिएको देखिन्छ ।  प्रहरीका अनुसार होटल सुरु गरेको करिब ५ महिनापछि जग्गाधनीलाई उनीहरुले १० वर्षे सम्झौताका लागि आग्रह गरेका थिए । सोही अनुसार गत पुस २५ गते जग्गाधनी १० वर्षे सम्झौताका लागि मन्जुर भएका थिए ।

गत माघ १२ गते जग्गाको १० वर्षे भाडा सम्झौताका लागि आएका विष्टलाई तेजेन्द्र न्यौपानेसहितले जर्बजस्ती भारतीय नम्बरको गाडीमा राखी बन्धक बनाएका थिए ।

माघ २० गते मालपोत कार्यालयबाट खटिइ आएका डोरसमक्ष बाहुनडाँगीका राजु कुँवरले जग्गाधनी आफू भएको र उक्त जग्गा भद्रपुरका प्रेम न्यौपानेले खरिद गरेकाले उनको नाममा दर्ता कायम गर्न भनेपछि सोही वमोजिम जग्गा नामसारी भएको प्रहरीले जनाएको छ ।

राजु कुँवरको फोटो टासी जग्गाधनी जीवन विष्टको नाममा कीर्ते नागरिकता पनि निकालिएको पाइएको छ । घटनामा मालपोत कार्यालयका नायब सुव्वा टीकाराम लुइटेल, खरदार रुद्र सापकोटा र लेखनदास मुक्ति निरौलाको समेत संलग्नता हुन सक्ने प्रहरी अनुमान छ ।

अपहरण तथा शरीर बन्धक वनाएको मुद्दामा ७ वर्षदेखि १५ वर्ष जेल र ५० हजारदेखि २ लाखसम्म जरिवाना वा दुई दण्ड हुनसक्ने कानुनी व्यवस्था छ ।साभार कान्तिपुर


Facebook Comment


No ads found for this position