मसँग जो उभ्याए पनि चुनाव जित्छुः कोमल वली

भर्खरै राजनीतिमा प्रवेश गरेकी गायिका कोमल वली यतिबेला सांस्कृतिक कार्यक्रममा भन्दा राजनीतिक कार्यक्रममा बढी भेटिन्छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङले उनलाई तुलसीपुर उपमहानगरपालिकाले मेयरको उम्मेदवारमा सिफारिस गरेको छ । राजनीतिमा प्रवेश गरेको छोटो समयमै शक्तिशाली पदको दाबेदार बनेकी कोमलसँग विनीता मरहट्टाले गरेको कुराकानी

मेयरको लागि टिकट पाउने पक्का हो ?
दाङको तुलसीपुर उपमहानगरपालिकाले सिफारिस गरेको हो । केन्द्रले निर्णय गर्नुपर्छ । म चाहिँ संसदीय निर्वाचनमा लड्न चाहन्छु ।

हुँदा खाँदाको जागिर छोडेर किन राजनीतिमा ?
सेवा गरुँ भनेर आएको । स्वतन्त्र भएर केही गर्न नसकिने रहेछ । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मेरो सोच मिल्ने भएकाले यसलाई समाएँ । राजसंस्थाको मान्यता राख्छु । बाबु अर्थात अभिभावक नभएको घरमा अनुशासन हुँदैन । राजा भनेको बाबु हो । उत्साही छु । एकदम व्यस्त छु ।

जोखिम छैन ?
प्राप्त हुने केही होइन गुमाउने मात्रै हो । धेरै जोखिम मोलेको छु । सिर्जनाकर्मी भएर गाउँगाउँमा गएर जनताको दुःख देखेको छु । वर्षौंपछि तिनै ठाउँमा पुग्दा कुनै परिवर्तन देखिनँ । पहिलेदेखि राजनीति गर्ने, सेवा गर्ने इच्छा थियो ।

कलाकारलाई जनताले भोट दलान् त ?
जनताले हेरिराछन् । विचार सुनिराछन् । मैले गीत गाउँदा पनि महिला सशक्तीकरणकै कुरा गरें । आकर्षणका लागि केही विम्ब प्रयोग भए पनि मेरा गीत महिला सशक्तीकरणकै लागि बनेका थिए । जुनसुकै दलको जुनसुकै उम्मेदवार मसँग उभ्याए पनि म चुनाव जित्छु ।

राजनीतिलाई कूटनीतिक खेल भन्छन्, कलाकारले खेल्न जान्छन् ?

कूटनीतिक खेलको विरोधी हुँ । यसैमा डर लाग्छ । छलकपट, खुट्टा तान्ने प्रवृत्ति छ । पार्टीमा भर्खरै प्रवेश गरेकी छु । धेरै अनुभव छैन । धेरैले भन्छन्, ‘फोहोरी खेल खेल्न सक्दैनौ भने टिक्दैनौ ।‍’ मैले यो सब जनताको हातमा छोडेको छु । समय परिवर्तन भएको छ । फोहोर राजनीतिलाई अब हामीले सफा गर्ने हो । अरुलाई गाली गर्नुभन्दा आफैं सुरुवात गर्नु पर्छ ।

लामो समयदेखि राजनीति गरेका नेतालाई पन्छाएर पार्टीले तपाईंलाई प्राथमिकता दिएको हो ?
पार्टीले कुनै प्राथमिकतामा राखेको छैन । प्रतिनिधिको भोट पाएर केन्द्रीय सदस्य भएकी हुँ । तुलसीपुरमा म उठेँ भने सर्वसम्मत जित्छु । तर राजनीतिमा मेरो छोटो समय भएकाले त्यहाँका अग्रजलाई उठ्न आग्रह गरेकी छु । उहाँहरूको ठूलो योगदान छ । म एकैपटक पाँच तला चढ्न चाहन्नँ । खुड्किला चढ्दै जाने हो । सत्कर्म गर्दै जाने हो । यो छोटो समयमा चुनाव लड्न खर्च गर्न सक्ने अवस्था पनि मसँग छैन ।

रेडियो नेपालमा समाचार कक्षमा बसेर लामो समय काम गर्नुभयो । नेपाली राजनीतिलाई नजिकबाट नियाल्नुभएको छ, पछिल्लो राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?
अवस्था धेरै नराम्रो छ । संविधान घोषणासँगै संशोधन गर्नुपर्ने अवस्था यहाँ मात्र आयो । संशोधन गर्नुपर्ने कुरालाई पहिल्यै विचार गर्नुपथ्र्यो । दलको स्वार्थअनुसार राजनीतिमा बार्गेनिङ गर्दैछन् । इतिहासकै सबभन्दा खराब परिस्थितिमा छौं । दुई पटक मतदान गर्‍र्यौं । बल्लतल्ल अमिल्दो संविधान बनाए । देश टुक्रिने अवस्थामा पुग्न खोज्दैछ ।

संघीयताका बारेमा तपाइँको विचार ?
संघीयता नेपालीलाई पाच्य छैन । हामीलाई तराई प्यारो छ । यो किन छुट्टै बस्ने ? जनताले थाहै नपाई संविधान संशोधन हुन लाग्यो । नेताले नै जनतालाई विभाजन गराउने विचार व्यक्त गरिरहेका छन् । रिवारमुखी राजनीति गरिरहेका छन् । अब यसलाई सेफ ल्यान्ड गराउने काम राजनीतिक दलकै काँधमा छ ।

कोमल वली आएपछि जनताले के परिवर्तन महसुस गर्छन् त ?
अहिले नै त केही परिवर्तन महसुस गर्न पाउनुहुन्न । मसँग विचार मात्रै छ । चुनावमा जिताएर पठाउनुभयो भने फलानो स्वार्थका लागि फलानोलाई यति गरी भन्ने सुन्नुपर्दैन । मुलुक अहिले परिवार, पैसा र पावरबाट प्रभावित छ । व्यावसायिकताको मतलव छैन । राजनीतिक दलमा कोटा बाँड्ने पद्धति छ । यो राजनीतिक सिन्डिकेट अन्त्य गर्नैपर्छ ।साभार अन्नपुर्ण


Facebook Comment


No ads found for this position