परिवारैसहित आधारशिविर घुम्न हेलिकोप्टर चार्टर

सन्तोष पोखरेल लेकसाइडका होटल व्यवसायी राजेन्द्र ढकाल केहीदिनअघि हेलिकोप्टरमापरिवारैसहित अन्नपूर्ण आधारशिविर (एबिसी) घुमेर फर्किए । पदयात्रा गर्दै ढकाल यसअघि नै आधारशिविर पुगिसकेका थिए । तर परिवारलाई लैजाने उपयुक्त समय उनले मिलाउन सकेका थिएनन् ।हेलिकोप्टरमा केही घन्टाको अन्तरमा आधारशिविर पुगेर फर्किन पाउने भएपछि उनले यो पटक योजना बनाएका थिए । ‘केही घन्टाको अन्तरमा आधारशिविर पुगेर फर्किन पाउने भएपछि परिवारै लिएर गएँ । आधारशिविरको केहीबेरको घुमाइ निकै रोमाञ्चक रह्यो,’ उनले भने, ‘पोखराबाट केही मिनेटको उडानमा आधारशिविर पुग्दा निकै रोमाञ्चक लाग्यो । केहीबेर घुम्दा मनै शान्त भयो ।’

लेकसाइडमा होटल ग्लेसियर चलाएका ढकालले हिमालको काखमा पुगेर रमाउँदाको बयान गर्न नसकिने बताए । ‘पदयात्राबाट जाँदा डाँडाकाँडा, खोलानाला, वनजंगल पार गरेर पुग्थ्यांै,’ उनले भने, ‘हेलिकोप्टरमा छोटो समयमा पुग्दाको आनन्द पनि बेग्लै थियो ।’ सफा र शान्त मौसम भएको आधारशिविरमा पोखरासहरबाट २० मिनेटमा पुग्दा मनले केहीबेरका लागि भएपनि राहत अनुभव गरेको उनले बताए ।

‘विदेश घुम्न जानुभन्दा पहिले स्वदेश नै घुम्नुपर्ने रहेछ भन्ने आधारशिविरको घुमाइले बनाउँछ,’ उनले भने, ‘विदेशका गगनचुम्बी महलभन्दा आधारशिविरमा घुम्दाको मज्जै बेग्लै हुनेरहेछ ।’

‘हिडेर जाँदा हाई अल्टिच्युडसँग अभ्यस्त भइन्छ । तर, जो हिँड्न सक्दैन, उनीहरुको रहर हेलिकोप्टरले पूरा गरेको छ,’ ढकालले भने । हेलिकोप्टरले सयर गराउने यो व्यवस्थाले पोखराका लागि एउटा गन्तव्य बढाएको उनले बताए । ढकालकी श्रीमतीग्रिश्मा कुँवरले पनि आधारशिविर पहिलोपटक पुग्दाको अनुभव बयान गरिसाध्ये नरहेको बताइन् । ‘एकैपटक हिमालको काखमा पुगेर हिउँमा खेल्दाको अनुभव भनिसाध्य छैन । चारैतिर हिउँ नै हिउँ, सुन्दर, शान्त वातावरणमा केहीबेर भुल्दा समय बितेको पत्तै भएन,’ उनले भनिन्, ‘योभन्दा सुन्दर ठाउँ अन्यत्र कतै छैन जस्तो लाग्यो । केही दिन उतै (आधार शिविर) बसौं जस्तो लागेको थियो ।’

ढकाल परिवारजस्ता यतिबेला धेरै स्वदेशी पाहुना हेलिकोप्टर चार्टर गरेर अन्नपूर्ण र माछापुच्छ«े आधार शिविर पुग्ने गरेका छन् । पदयात्रा गर्न पर्याप्त समय नपाउने धेरै स्वदेशी पाहुनाले यो पटक हेलिकोप्टरमा पुगेर आधारशिविर घुमेका छन् । पोहोरसम्म फाट्टफुट्ट मात्र स्वदेशी पाहुना हेलिकोप्टरमा एबिसी पुग्थे । तर, यो पटक दुई महिनादेखि हेलिकोप्टरमा उडेर आधारशिविर पुगेर घुमेर फर्किनेमा धेरै स्वदेशी पाहुना हुन थालेका छन् ।

हेलिकोप्टर कम्पनीका अनुसार पछिल्लो समय स्वदेशी पाहुनाकोहेलिकोप्टर चार्टर गरेर आधारशिविर जाने क्रम निकै नै बढेको छ । त्यसले हेलिकोप्टरको व्यापार पनि बढाएको छ । लामो समय लगाएर पदयात्रा गर्दै जान नसक्ने र समय नहुनेहरु अहिले हेलिकोप्टरमा पुगेर केहीबेर रमाएर फर्किने गरेका छन् । शारीरिक रुपमा पनि हिँडेर आधारशिविर पुग्न नसक्नेहरु यतिबेला हेलिकोप्टरमा पुगेर रमाउने गरेको कम्पनीको भनाइ छ ।

प्रभु हेलिकोप्टरका पोखरास्थित स्टेसन म्यानेजर दुर्गा गुरुङका अनुसार पोखरा र काठमाडौंबाट गरेर अहिले करिब आधा दर्जन हेलिकोप्टर कम्पनीले आधारशिविरसम्म दिनहुँ स्वदेशी तथा विदेशी पाहुना पु¥याइरहेका छन् । केहीदिनअघिसम्म आधारशिविर क्षेत्रमा स्की खेल्नका लागि विदेशी पर्यटकले हेलिकोप्टर चार्टर गर्ने गर्दथे । तर, अहिले केहीबेरका लागि मात्र आधारशिविर पुगेर फर्किने आन्तरिक पाहुनाको भीड निकै नै रहेको उनले बताए । पैदल जाँदा कम्तीमा एकसाता लाग्ने आधारशिविरसम्मको यात्रा हेलिकोप्टरले बढीमा दुईघन्टामा पूरा गरिदिएको उनले बताए ।

गुरुङका अनुुसार चारजना अट्ने हेलिकोप्टर लैजाँदा प्रभुले नौ सय अमेरिकी डलर लिने गरेको छ । समूहमा बाहेक व्यक्तिगत रुपमा जान चाहने पाहुनाले त्यही शुल्कलाई भाग लगाएर तिनुपर्छ । ‘एकजनाको भागमा करिब २५ हजार रुपैयाँ पर्छ । त्यो रकमले आधारशिविर पुगेर केहीबेर रमाएर पोखरा फर्किन सकिन्छ,’ गुरुङले भने, ‘हिमालसँग प्रत्यक्ष साक्षात्कार गर्न सकिने भएकाले अहिले धेरै नेपाली पाहुना आकर्षित भएका छन् । हामीले दिएको समयमा पाहुना फर्किनै मान्दैनन् ।’

उनका अनुसार पोखराबाट २० मिनेटमा आधारशिविर पुगिन्छ । त्यत्ति नै समयपोखरा फर्किन लाग्छ । त्यसबाहेक हेलिकोप्टरले करिब ४५ मिनेट रमाउनका लागि समय दिन्छ । त्यो समयमा पर्यटकले हिउँमा खेल्ने, रेस्टुरेन्टमा खाने, फोटो खिच्ने, दृश्यावलोकन गर्न पाउँछन् । ‘विदेशी पाहुना त एकैजनाले पनि चार्टर गर्छन्तर स्वदेशी पाहुना जाँदा समूहमा आउँछन्,’ उनले भने  । गुरुङका अनुसार अहिले हेलिकोप्टर चार्टर गरेर जानेमा आधाजति चिनियाँ पाहुना छन् । बाँकी पाहुनामध्ये आन्तरिकसहित युरोपियन, अमेरिकन मूलका हुन्छन् ।

उनका अनुसार बिहान ७ बजेपछि दिउँसो १ बजेसम्म आधारशिविरसम्मको उडान गर्न सकिन्छ । त्यसपछि मौसम खराब हुने र हिमाली क्षेत्रमा हुस्सु लाग्ने हुँदा उडान हुँदैन । ‘एकैदिनमा एउटै कम्पनीले पाँचवटासम्म उडान गरेका छौं । त्यसबाहेक काठमाडौंबाट उडेर आउने पनि पर्याप्त हुन थालेका छन्,’ उनले भने, ‘यस्तै उडानका लागि हामीले पोखरामा हेलिकोप्टर स्थायी रुपमा राख्छौं ।’ उनका अनुसार विभिन्न जिल्ला र हिमाली क्षेत्रमा उद्दारमा मात्र खटिँदै आएका हेलिकोप्टर यो पटकदेखि आधारशिविरसम्म पाहुना पु¥याउन व्यस्त हुन थालेका छन् । ‘उद्धारका काम सधैं आइपर्दैैनन् । यो उडानले धेरै पाहुनाको आधारशिविर पुग्ने सपनापूरा भएको छ,’ गुरुङले भने, ‘शारीरिक अशक्तताले नसक्नेलाई हेलिकोप्टरले सहज बनाइदिएको छ ।’

आधारशिविरका व्यवसायी जगन गुरुङ पनि हेलिकोप्ट चढेर पाहुना आउँदा आधारशिविरको केही व्यापार बढाएको बताउँछन् । ‘कम्तीमा एककप कफी पिएर भएपनि फर्किन्छन्,’ उनले भने, ‘धेरै पाहुना आउँदा व्यापारमा केही राहत मिलेको छ ।’ विदेशीभन्दा स्वदेशी पाहुना बढी खर्चिला हुन थालेकाले पनि आधारशिविरसम्म हेलिकोप्टरबाट पहुँच पुग्दा यहाँको व्यवसायमा सहयोग पुगेको उनले बताए ।
पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईं आधारशिविरसम्मको उडानले पोखरा विमानस्थलमा केही व्यस्तता बढाएको बताउँछन् । ‘पोहोरसम्म हिमाली क्षेत्रमा उद्धारका लागि मात्र हेलिकोप्टर जान्थे । तर अहिले दृश्यावलोकनका लागि पनि हेलिकोप्टर जान थालेका छन्,’ उनले भने, ‘यसले स्वदेशी पाहुनामा घुम्ने बानीको विकास गराएको पुष्टिगर्छ । आन्तरिक पाहुना खर्च गर्न सक्ने गरी आर्थिक रुपमा बलिया हुन थालेको पनि यसले देखाउँछ ।’ उनका अनुसार पाहुना बढेपछि विमानस्थलबाट उडान भर्ने हेलिकोप्टरको भीड बढेको छ । साभार नागरीक


Facebook Comment


No ads found for this position