नियाम लत्याउँदै अल्ट्रालाइटलाई अनुमति

सुशील भट्टराई

१४ वैशाख, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्न जानुअघि पर्यटन मन्त्री जीवनबहादुर शाहीले नियामक निकायको सुझावविपरीत पोखरामा एक ‘अल्ट्रालाइट’ जहाज उडान कम्पनीलाई इजाजत दिएको खुलासा भएको छ ।

शाहीले ‘ठाडो आदेश’ मा पोखरा विमानस्थलबाट उडान–अवतरण गर्ने गरी ‘हेली एयर नेपाल प्रालि’ लाई अल्ट्रालाइट जहाज ल्याएर काम गर्न इजाजत दिएको सम्बद्ध स्रोतले जानकारी दियो । जबकि, हेली नेपालसँग अन्य तीन कम्पनीले पनि उडान इजाजत मागेका थिए ।

‘अन्य तीन कम्पनीलाई छाडेर शाहीले हेली एयरलाई मात्र इजाजत दिए,’ स्रोतले मंगलबार नागरिकसँग भन्यो, ‘इजाजत पाएलगत्तै उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि हवाई खेल सञ्चालन प्रमाणपत्र (एएसओसी) दियो ।’

पोखरा विमानस्थलमा आन्तरिक वायुुसेवा कम्पनीसहित सञ्चालनमा रहेको तीनवटा अल्ट्रालाइट जहाज कम्पनीका उडान चाप हुँदाहुँदै मन्त्री शाहीले हेली एयरलाई इजाजत दिएका थिए । हेलीसहित अनुमति मागेका चार कम्पनीलाई पोखरा विमानस्थललाई आधार गरेर उडान अनुमति दिन नहुने प्राधिकरणको ‘फ्लाइट सेफ्टी स्ट्यान्डर्डस् विभाग’ को राय तथा एक सरकारी समितिको प्रतिवेदनविपरीत शाहीले ‘जबर्जस्ती’ इजाजत दिएका हुन् ।

स्रोतका अनुसार हेली एयरसँगै फन स्काई प्रालि, स्काइलाइन स्पोर्टस् प्रालि र एभरेस्ट फ्लायर्स प्रालिले उडान इजाजत मागेका थिए । ती सबैलाई प्राधिकरणले ‘पोखरा विमानस्थलको हवाई चापमा जटिल समस्या देखिनुका साथै जहाज राख्ने ह्यांगर बनाउने ठाउँ नभएको’ भन्दै उडान इजाजत दिन नहुने सुझाव पर्यटन मन्त्रालयलाई थियो ।

त्यसैगरी पोखरा विमानस्थल प्रमुख दीपक बरालको संयोजकत्वमा गठित चार सदस्यीय समितिले थप अल्ट्रालाइट कम्पनीलाई उडान अनुमति दिए हवाई उडान नियन्त्रित क्षेत्रमा जोखिम बढ्ने, उड्डयन सुरक्षा मापदण्डमा सम्झौता हुने भएकाले पोखरा विमानस्थललाई आधार गरेर उडान इजाजत दिन नहुने बरु बाग्लुङको बलेवा विमानस्थलबाट उडान–अवतरण गर्न प्रोत्साहन गर्नुपर्ने, उडान गरिरहेका कम्पनीलाई पनि थप जहाज ल्याउन अनुमति दिन नहुने लगायत सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो ।

‘फ्लाइट सेफ्टी स्ट्यान्डर्ड्स विभागमात्र नभई प्राधिकरणका उच्च अधिकारी सम्मिलित समितिको सुझावसहितको प्रतिवेदन लत्याउँदै मन्त्री शाहीले ठाडै हेली एयरलाई उडान इजाजत दिएका थिए,’ स्रोतले भन्यो, ‘मन्त्रीको आदेश भएपछि उनीअन्तर्गतकै प्राधिकरणले उडान अनुमति प्रमाणपत्र नदिई सुखै पाएन र दियो ।’

मन्त्रालय र प्राधिकरणबाट उडान इजाजत तथा अनुमति प्रमाणपत्र पाएपछि हेली एयरले पोखरा विमानस्थलमा आफ्नो जहाज राख्न भटाभट ह्यांगर निर्माण गरिरहेको छ । निर्माणको काम लगभग अन्तिम चरणमा पु¥याएको छ । उसले एकथान अल्ट्रालाइट जहाजसमेत ल्याइसकेको छ ।
‘पोखरा विमानस्थलमा हवाई चाप उच्च भएका कारण थप अल्ट्रालाइटलाई उडान अनुमति दिनुहुँदैन, एउटालाई दिएपछि अरुलाई पनि दिनुपर्छ भनेका थियौं,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘तर कसैको कुरा नसुनी मन्त्री शाहीले इजाजत दिनू भन्ने आदेश दिए, हाम्रो केही लागेन ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि लगभग दोस्रो व्यवस्त विमानस्थल पोखरामा हाल काठमाडौंबाट बुद्ध एयर, यती एयरलाइन्स, सिम्रिक एयरलाइन्स र नेपाल वायुसेवा निगम एवं पोखराबाट मुस्ताङको जोमसोमका लागि तारा एयर, सिम्रिक र वायुसेवा निगमले दैनिक करिब तीन दर्जनभन्दा बढी उडान गरिरहेका छन् ।

त्यसबाहेक त्यही विमानस्थललाई आधार गरी मुक्तिनाथ हेलिकोप्टर्स प्रालिले दुईवटा हेलिकोप्टरबाट उडान गरिरहेको छ । अर्को वायुसेवा कम्पनी गोमा एयरले एउटा जहाज त्यहीँ तैनाथ गरी मनाङ र जोमसोम उडान गर्ने योजना बनाएको छ ।

जहाज र हेलिकोप्टर उडानबाहेक हाल एभिया क्लब, पोखरा अल्ट्रालाइट र फिसटेल अल्ट्रालाइट्सले पोखरा विमानस्थललाई आधार गरी अल्ट्रालाइट जहाज उडान गरिरहेका छन् । एभियासँग पाँचथान, पोखरासँग चारथान र फिसटेलसँग तीनथान अल्ट्रालाइट जहाज सञ्चालनमा छन् ।

ती तीन कम्पनीले पर्यटन सिजनका बेला दैनिक १ सय उडान गर्ने गर्छन् भने ‘अफ सिजन’ मा २० उडान गर्छन् । यस्तो उडान न्यूनतम १५ मिनेटदेखि ३०, ६० र अधिकतम ९० मिनेटसम्मको हुने गर्छ ।

विमानस्थलमा हवाई चाप बढी भएका कारण धेरैजसो अवतरण गर्ने बेला ‘होल्ड’ मा बस्नुपर्ने बाध्यता छ ।
उडानअल्ट्रालाइट उडान अनुमति पाएको एक वर्षभित्र न्यूनतम दुईथान जहाज ल्याएर उडान सञ्चालन गरिसक्नुपर्ने नियम छ । सबै पूर्वाधार तयार गरी जहाज ल्याएर उडान सुरु गर्दा ४ करोड रुपैयाँहाराहारी लगानी गर्नुपर्ने सम्बद्ध व्यवसायीले जानकारी दिए ।साभार नागरीक


Facebook Comment


No ads found for this position