नेपाल आयल निगमबाटै पेट्रोल पम्पलाई ‘ठगी’
दिलीप पौडेल,काठमाडौं– नेपाल आयल निगमले पेट्रोल पम्पलाई तोकिएको परिमाणभन्दा कम तेल (डिजेल, पेट्रोल) दिएको भेटिएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले गरेको छड्के अनुगमनमा चार हजार लिटरमा ९९ लिटर कम पेट्रोल दिएको तथ्य फेला परेको हो ।
राजधानीमा मात्रै दैनिक आठ हजार आठ सय ७५ लिटर पेट्रोल र १४ हजार दुई सय लिटर डिजेल ठगी
गुणस्तर, निगम, आपूर्ति विभाग र पेट्रोल व्यवसायीको संयुक्त टोलीले काठमाडौंको कालीमाटीस्थित माली पेट्रोल पम्पमा सोमबार ट्यांकरको पेट्रोल नाप्दा परिमाण कम भेटिएको हो ।
चार हजार लिटर पेट्रोल हुनुपर्नेमा ९९ लिटर नपुगेको नेपाल गुणस्तर तथा नापतौल बाग्मती अञ्चल कार्यालयकी शाखा अधिकृत ममता मानन्धरले बताइन् । ‘क्यालिब्रेसन चार्टअनुसार तेल आएको छ कि छैन भनेर मापन गरेका हौं,’ मानन्धरले भनिन्, ‘नमुनाको रुपमा नाप गर्दा कम तेल देखियो ।’ मापदण्डअनुसार नभएपछि अनुसन्धान सुरु गरेको उनले बताइन् ।
त्यसमा वर्किङ लस र सिंक्रेज समावेश गरिएको छैन । निगमले ०.५५ प्रतिशत सिंक्रेज, ०.२६ प्रतिशत वर्किङ लस दिन्छ । पेट्रोलियम पदार्थ आयात गर्दा तापक्रमको अन्तरका कारण चार हजार लिटरमा २८ लिटरसम्म वर्किङ लस र सिंक्रेजबापत घटाउन सकिन्छ । तर, काठमाडौं उपत्यकाभित्र उस्तै तापक्रम भएकाले यहाँको सन्दर्भमा यो नियम मेल खाँदैन । २८ लिटरको यो परिमाण घटाउँदा पनि एक चेम्बर पेट्रोलमा ७१ लिटर कम हुन गएको देखिन्छ जुन सात हजार दुई सय छ रुपैयाँ बराबरको हो । एक चेम्बरमा चार हजार लिटर तेल हुन्छ ।
काठमाडौं उपत्यकामा दैनिक करिब पाँच लाख लिटर पेट्रोल र आठ लाख लिटर डिजेल खपत हुन्छ । गुणस्तरले मापन गरेकोलाई आधार मान्दा राजधानीमा दैनिक आठ हजार आठ सय ७५ लिटर पेट्रोल र १४ हजार दुई सय लिटर डिजेल गरी दैनिक २३ हजार ७५ लिटर ठगी हुने देखिन्छ । यसरी कम भएबापतको पेट्रोलियम पदार्थको मूल्य व्यवसायीले अघोषित रुपमा उपभोक्ताबाट असुल्छन् ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) र निगममा लोड भएर आएका ट्यांकरको तेल बेच्दा परिमाण अपुग भएको व्यवसायीले गुनासो गर्दै आएका थिए । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले डिलरले खरिद गरेको प्रति १२ हजार लिटर (एक ट्यांकर) पेट्रोलियम पदार्थमा करिब दुई सय लिटर कम हुने गरेको पत्र आपूर्ति मन्त्रालय र आयल निगममा पेस गरी छानबिन माग गरेको थियो ।
पम्प सञ्चालकले कम तेल आएको गुनासो गरेको एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए । ‘पम्प सञ्चालकले सधैं कम भयो भनेपछि निगमलाई अनुसन्धान गर्न आग्रह गर्दै आएका थियौं,’ प्रधानले भने, ‘सोमबार नाप गर्दा कम भेटिएको छ ।’ तेल ढुवानी गर्ने ट्यांकर क्यालिब्रेसन गरेपछि यथार्थ बाहिर आउने उनले बताए । ‘तेल खन्याएर बेच्दा कहिल्यै नपुगेको व्यवसायी साथी गुनासो गर्छन्,’ उनले भने ।
अनुगमनमा संलग्न निगमका निर्देशक दीपक बरालले अनुसन्धानमै रहेकाले अहिले नै कमी भएको भन्न सक्ने अवस्था नरहेको दाबी गरे । ‘ढुवानी गरेको ट्यांकरको क्यालिब्रेसन गरेपछि मात्र थाहा हुन्छ,’ बरालले भने, ‘हामीले अनुसन्धान गरिरहेका छौं ।’
पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण व्यवस्थित नहुँदा विभिन्न बहाना बनाएर उपभोक्तालाई ठग्ने काम भइरहेको छ । आइओसी ढुवानी व्यवसायी, ट्यांकर चालक, निगमका कर्मचारी र व्यवसायीको जालोले इन्धन खरिददेखि बिक्रीसम्मको मिलेमतोमा तेल नै नदिई मासिक करोडौं रुपैयाँ असुलिरहेका छन् ।
पम्प सञ्चालकले निगमबाट आएको तेल खन्याएर बेच्दा कम भए पनि उपभोक्ताबाट असुल्ने गरेको स्विकार्छन् । ‘हामीले कम पाएपछि उपभोक्तालाई धेरै दिने कुरा भएन,’ एक पम्प सञ्चालकले भने, ‘निगम र ट्यांकर चालकको बदमासीको भार उपभोक्ताले बेहोर्नुपर्छ ।’ आइओसीबाट पेट्रोलियम पदार्थ खरिददेखि उपभोक्ताको सवारीसाधनमा भर्दासम्म क्यालिब्रेसन, सिंक्रेज, ट्यांकरबाट चोरी, क्वान्टिटी भेरिएसन, भण्डारण, टफ अफ, वर्किङ लसको बहानामा निगम, ढुवानीकर्ता र व्यवसायीले ‘अघोषित नाफा’ कमाउँदै आएका छन् ।
निगमको थानकोट डिपोले भने पूरापूर पेट्रोल दिएको दाबी गरेको छ । रक्सोलबाट आएको ट्यांकर चेक जाँच गरेर डाइभर्ट गरेको निगम थानकोट डिपोका प्रमुख नेत्र काफ्लेले बताए । ‘आइओसीले गरेको क्यालिब्रेसनअनुसार चेकजाँच गर्दा पूरा पेट्रोल थियो,’ काफ्लेले भने । ट्यांकरबाट तेल खन्याएर नाप्दा आफ्नो कर्मचारी नभएकाले कम भएको विषयमा जानकारी नभएको उनको भनाइ छ ।
भारतबाट क्यालिब्रेसन भएर आएका ट्यांकरबाट सोही प्रमाणपत्रकै आधारमा यहाँ तेल बुझ्ने र त्यसै आधारमा पेट्रोल पम्पलाई दिने गरेको उनको दाबी छ । क्यालिब्रेसन नहुँदा ट्यांकरले उपलब्ध गराउने तेलको परिमाण ठीक भएनभएको विषयमा व्यवसायी र निगमबीच विवाद हुँदै आएको छ । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरले पनि क्यालिब्रेसन नगरी ढुवानी गर्दै आएका छन् । ट्यांकरले बोक्ने इन्धनको परिमाण ठिक भए नभएको परीक्षण गर्न हरेक वर्ष क्यालिब्रेसन गर्नुपर्ने भए पनि उक्त नियम पालना हुन सकेको छैन । क्यालिब्रेसन व्यावसायिक रुपमा प्रयोग गर्ने नापतौल (मिजरमेन्ट) ठीक अवस्थामा छ कि छैन भनी राज्यको मानक नापतौलसँग दाँजेर परीक्षण गर्ने प्रक्रिया हो ।
इन्धन बोक्ने १५ सयभन्दा धेरै ट्यांकर छन् । तीमध्ये करिब पाँच सय ट्यांकरले नेपालभित्रै ढुवानी गर्छन् । आइओसीबाट ढुवानी गर्ने ट्यांकरले भारतमा क्यालिब्रेसन गरे पनि आन्तरिक ढुवानी गर्ने ट्यांकरले क्यालिब्रेसन नगरेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । ‘यो वर्ष करिब ७५ ट्यांकरले मात्रै क्यालिब्रेसन गरेका छन्,’ महानिर्देशक पुडासैनीले भने, ‘अधिकांशले भारतमा क्यालिब्रेसन गरेको बहानामा यहाँ क्यालिब्रेसन गर्न अटेर गर्दै आएका छन् ।’ निगमले भारतमा गरेको क्यालिब्रेसनलाई मान्यता दिनुपर्ने भन्दै गुणस्तरको निर्देशन अटेर गर्दै आएको छ ।