एक पर्यटक, जसले दोस्रो जन्मदिन मनाए

हरेक मान्छेका लागि जन्मदिन विशेष हुन्छ। अझ बाँच्छु भन्ने आशा मारिसकेपछि पनि जन्मदिन मनाउन पाउँदा त्यो कति विशेष हुन्छ होला, ताइवानका लियाङ सि युह शुक्रबार त्यस्तै विशेष जन्मदिन मनाउँदै छन्।

४७ दिनसम्म हिउँमा फस्दा लियाङले सोचेका थिएनन्–अप्रिल २८ मा २२ औं जन्मदिन मनाउन पाउँछु भनेर। बुधबार उनलाई उद्धार गरेर राजधानीस्थित ग्रान्डी अस्पताल ल्याउँदा उनले भनेका थिए– आज मैले नयाँ जन्म पाएँ। शुक्रबार म पहिला जन्मेको दिन हो। अब मेरा दुई जन्म दिन हुने भए।

उनले जन्मदिन मनाउने रहर देखाएपछि अस्पताल प्रशासनले शुक्रबार एक कार्यक्रम गरी उनको जन्मदिन मनाउने तयारी गरेको अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले जानकारी दिए।लियाङको जन्मदिन किन पनि विशेष हुनेछ भने एक पटक नेपाल आएर छोराको खोजी गरी आशा मारेर फर्किएका उनका बुवाआमा पनि शुक्रबार नै नेपाल आउँदैछन्। उनका बुवाआमा आइसकेपछि जन्मदिनको केक काट्ने अस्पतालले जनाएको छ।

गत फागुन २६ गते उत्तरी धादिङको रुवी भ्याली घुमेर लाङटाङ पुग्ने योजनासहित लियाङ र उनकी प्रेमिका लेउ चेनचुन तिप्लिङ गाउँबाट हिँडेका थिए। तर त्यही दिन भारी हिमपात भयो। पथप्रदर्शक नलिइकनै हिँडेको यो जोडीले अर्को दिन बाटो बिरोयो। मोबाइल सम्पर्क खासै नहुने ठाउँमा उनीहरु फसेपछि सम्पर्कबिहिन भए।

केही दिनपछि उनीहरुको खोजी त सुरु भयो तर फेला पार्न सकिएन। उनीहरु तिप्लिङ नजिकको त्यांग्रोभिरमा हिउँमा फसेका रहेछन्।४७ दिनपछि बुधबार स्थानीय दावा तामाङले फसेको यो जोडीलाई भेटाएका थिए। ‘मैले हेर्दा छाँगाको छेऊको गुफाजस्तो ठाउँमा केटाको टाउकोतिर केटीको खुट्टा र केटाको खुठ्ठातिर केटीको टाउको थियो’, दावाले भने, ‘हामीलाई उनीहरुलाई भेटे नचलाउनु, नछुनु बरु सम्बन्धित मान्छेलाई खबर गर्नु भनेको थियो त्यही भएर मैले साथीहरुलाई खबर गरें।’

 

दावाले उनीहरुलाई भेटेको खबर गरेपछि उद्धारमा गएको टोली आएर लियाङ र लेउलाई गुफाबाट बाहिर निकालेका थिए। उनीहरुसँग लियाङले आफू अहिलेसम्म हिउँमा नुन मिसाएर खाएकाले बाँचेको बताएका थिए। ‘उनले आफ्नी साथी लेउ धेरै छटपटाएको र विक्षिप्त भएकाले तीन दिनअघि बितेको सुनाए दावाले भने। दावाको समूहले लियाङलाई चाउचाउ पकाएर खुवाएको थियो।
बुधबार साढे चार बजे लियाङलाई हेलिकोप्टरबाट राजधानी ल्याइयो। अस्पतालमा आउँदा उनले डाक्टरलाई आफू ठीक भएको बताएका थिए। लियाङलाई अस्पतालको हेलिप्याडमा लिन पुगेका डाक्टर अजय थापाले भने– हेलिकोप्टरबाट निकाल्दा उनले भने– आइ एम फाइन।

त्यसपछि अस्पतालले गरेका परीक्षणमा पनि उनका सबै रिर्पोट सामान्य देखिए। मुटुको चाल, रक्तचाप र मृर्गौलाले सामान्य तवरले काम गरिरहेका थिए। ‘उनको मानसिक अवस्था पनि सामान्य छ,’ डाक्टर थापाले भने, ‘हेमोग्लोबिन अलिकति बढेको थियो अरु त सबै सामान्य नै थियो।’ अस्पतालले लियाङलाई शुक्रबारदेखि नै ठोस खानेकुरा खुवाउने तयारी गरेको छ। सायद त्यसको सुरुवात जन्मदिनको केकबाट हुनेछ। जुन केक होटल र्याडिसनमा अर्डर गरिसकिएको छ।#सेतोपाटि


Facebook Comment


No ads found for this position