फेवा र रारा ताल जोड्दै पोखरेली

पर्यटनको माध्यमवाट फेवा र रारा ताल जोड्ने उद्देश्यले पोखरेली पर्यटन व्यवसायी जाउँ है रारा अभियान लिएर मुगुको रारा ताल पुगेर स्थानीय पर्यटन व्यवसायी संग रारा क्षेत्रको पर्यटन विकाका बारेमा छलफल चलाएका छन् ।

रारा ताल किनारमा स्थानीय पर्यटन व्यवसायी संग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै जाउँ है रारा अभियानको आयोजक संस्था नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टा पश्चिमाञचलका अध्यक्ष डिल्लीप्रसाद गौतमले जैविक विविधताले धनी शान्त र सुन्दर रारा क्षेत्रको पर्यटकीय सम्भवना ठुलो भएकोले यस क्षेत्रको पर्यटन प्रवद्धन गर्न अवलोकन भ्रमणमा आएको बताए ।

रारा क्षेत्र पर्यटकीय दृष्टिले निकै सम्पन्न भएको बताउँदै नाट्टाका अध्यक्ष गौतमले पोखरा आउने विदेशी र आन्तरिक पर्यटकलाई यस क्षेत्रको भ्रमण गराउन आफ्नो संस्थाले पहल गर्ने विश्वास दिलाए । पछिल्लो समयमा आन्तरिक पर्यटकले रारा तालका भ्रमणको बारेमा सोध्न थालेकोले पनि रारा तालको पर्यटन प्रवद्धनकालागि अवलोकन भ्रमण आयोजना गरिएको अध्यक्ष गौतमले सुनाए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले फेवाताल आउने पर्यटकलाई सुन्दर रारा ताल सम्मको भ्रमण गराई दुई ठुला तालको पर्यटन प्रवद्धन गर्न सके दुबै क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण रहने बताए । स्थानीय होटल व्यवसायी दिपेन्द्र बम ठकुरीले पछिल्लो समयमा आन्तरिक पर्यटकको आगमन बढेकोले यस क्षेत्रमा चहलपहल बढेको सुनाए । पोखरा आउने विदेशी र स्वदेशी पर्यटकलाई रारा क्षेत्रको भ्रमणमा पठाउन पनि उनले पोखरेली पर्यटन व्यवसायी संग अनुरोध गरे ।

नेपाल पर्यटन वोर्ड क्षेत्रीय कार्यालय पोखराका प्रमुख उद्य भट्टाराईले नेपालीहरुलाई आफ्नै देश घुम्ने संस्कृतिको विकास गर्न नेपाल पर्यटन वोर्डले २०७३ लाई घुमफिर बर्षको रुपमा मनाएको बताए । यसले विदेश घुम्न जाने आन्तरिक पर्यटक नेपाल भित्रै घुम्ने संस्कृतिको विकास हुँदै गएको पनि भट्टाराईले सुनाए । कार्यक्रममा बोल्दै रारा राष्ट्रिय निकुञ्जका प्रमुख चन्द्रशेखर चौधरीले रारा क्षेत्रको संरक्षण पहिलो प्राथामीक्ता रहेको जानकारी दिए । संरक्षण विना पर्यटकका सम्भावना नभएकोले पनि रारा क्षेत्रको संरक्षण संगै यस क्षेत्रको पर्यटन विकासमा निकुञ्ज लाग्ने उनले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा नाट्टा पश्चिमाञ्चलका प्रथम उपाध्यक्ष हर्क गुरुङ, नाट्टा पश्चिमाञ्चलका सचिव ऋषिराम पौडेल, कार्यक्रम संयोजक नवराज अधिकारी लगाएतले पोखरा र मुगुको रारालाई पर्यटनको माध्यमवाट जोडेर दुई ठुला तालको पर्यटन प्रवद्धन गर्नु पर्नेमा जोड दिएका थिए । रारा ताल समुन्द्रि सतह देखि २ हजार ९ सय ९० मिटर उचाईमा रहेको छ । यस ताल ताल ५ किलो मिटर लम्वाई, ३ किलो मिटर चौडाई र १ सय ६७ मिटर गहिराई रहेको छ । रारा तालको संरक्षण गर्ने उद्देश्यले २०३४ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना गरि संरक्षणका काम भएको हो । पछिल्लो समयमा रारा तालको भ्रमण गर्ने पर्यटक बढेका छन् । २०७१ मा ३५ सय पर्यटक पुगेको रारा क्षेत्रमा २०७३ मा यो संख्या बढेर ११ हजार पुगेको स्थानीय पर्यटन व्यवसायी राजु काकीले जानकारी दिए ।


Facebook Comment


No ads found for this position