पर्यटकीयस्थलमा फोहरमैलाको डङ्गुर

खोटाङ वैशाख । सम्बन्धित निकायले ध्यान नदिँदा जिल्लाका पर्यटकीयस्थलमा फोहरमैलाको डङ्गुर थुप्रिन थालेको छ । जिल्लाका पर्यटकीयस्थलहरू टेम्केडाँडा, रूपाकोटडाँडा, मझुवागढी, भुम्जुडाँडा, बाँझोबारीलगायतका ठाउँमा नसड्ने किसिमका फोहरमैला थुप्रिन थालेको हो ।
चारैतिरबाट वनजङ्गलले घेरिएको रूपाकोटको हरियो चौरमा यत्रतत्र बिस्कुट, चाउचाउ, चकलेट, बियर, मिनरल वाटर, पेप्सी, स्प्राइटको खाली बोतल छरिएका छन् । रूपाकोट मझुवानगरपालिकामा पर्ने रूपाकोटडाँडामा पछिल्लो समय प्लास्टिकजन्य फोहरमैला जताततै भेटिन थालिएको सामुदायिक वन उपभोक्ता महासङ्घ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।

विशेषगरी नयाँ वर्ष, उभौली, उधौलीलगायत चाडपर्व र पिकनिकका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी मिल्काउने फोहरमैलाका कारण पर्यटकीयस्थलको प्राकृतिक सुन्दरता नै बिग्रिन थालेको स्थानीयवासीको गुनासो छ ।

एक ठाउँमा फोहर सङ्कलन गर्ने र नष्ट गर्ने व्यवस्था नहुँदा पर्यटकीयस्थलमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी फोहरमैला मिल्काउने गरेका छन् ।

पर्यटकीयस्थल जाने आन्तरिक तथा बाह्य पर्यटकलाई फोहरमैला जथाभावी नफाल्नका लागि पूर्व जानकारी गराउने व्यवस्था नहुँदा प्राकृतिक सौन्दर्यमा असर पुग्ने गरेको छ । “पर्यटकीयस्थलमा लैजान मिल्ने र लैजान नमिल्ने कुराहरू निश्चित गर्नुपर्छ ।” अध्यक्ष राईले भन्नुभयो – “प्लास्टिक, बोतलजस्ता नसड्ने चिजलाई लान नहुने वा लगे पनि एक ठाउँमा मात्र राख्ने नीति बनाउन जरुरी देखिन्छ ।”

पर्यटकीयस्थलको सुन्दरतालाई प्राकृतिक अवस्थामै सुरक्षित रहन दिन नगरपालिकाले विशेष योजना बनाउनुपर्ने विज्ञहरूको धारणा छ । रूपाकोटलगायतका पर्यटकीयस्थलमा पुग्ने कतिपय स्थानीयवासीले फोहरमैला फाल्नुका साथै जथाभावी बोटबिरुवा काट्ने गरेको पाइएको छ ।

दिनभर बस्ने ओत बनाउने क्रममा वा केही दिन बसेर रमाइलो गरेर फर्कने स्थानीयवासीले छाप्रो बनाउने क्रममा रूपाकोटका सुरिलो परेका रुखको बोट जथाभावी ढाल्दा वन विनास हुने सम्भावना रहेको छ ।

सदरमुकाम दिक्तेलबाट उकालो करिब तीन घन्टा पैदल यात्रापछि पुगिने रूपाकोटबाट विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरो तथा अन्य हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृश्यावलोकन, जैविक विविधताले भरिपूर्ण, विभिन्न प्रजातिका चराचुरुङ्गी, वन्यजन्तुका साथै दुर्लभ जडीबुटी पाइने रूपाकोटमा हिउँदयाममा भ्रमण गर्ने र पिकनिक जानेको घुइँचो लाग्ने गरेको छ ।

प्राकृतिक सौन्दर्यमा रमाउनबाहेक सिद्धबाबाको गुफा दर्शनका लागि पनि रूपाकोटमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । वैशाख पूर्णिमाको दिन सिद्धबाबाको गुफामा आएर जिल्ला तथा जिल्ला बाहिरका बौद्धमार्गीसमेत भेला भएर पूजापाठ गर्ने गरेका छन् ।

रूपाकोट मझुवागढी नगरपालिकाकै धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पनि फोहरमैला थुप्रिन थालेको छ । दिक्तेलबाट एक घन्टा हिँडेपछि पुगिने मझुवागढीको शिरमा जताजतै प्लास्टिक, शिशालगायतका फोहरमैला बढेको हो ।

हलेसीमा आएका दर्शनार्थीले मझुवागढीको दर्शन गरेपछि मात्र धार्मिक यात्रा पूर्ण भएको विश्वासमा मझुवा गढीमा दर्शनार्थीको भीड लाग्ने गरेको छ ।

विसं १८०४ सम्म किराती राजा रणवीर हाङले राज्य गरेको प्रमाणका आधारमा मझुवागढीलाई ऐतिहासिक थलो पनि मानिन्छ । व्यवस्थापनमा ध्यान नपुग्दा रूपाकोट र मझुवागढी मात्र नभई जिल्लाका अधिकांश पर्यटकीयस्थलमा फोहरमैला बढ्न थालेको छ ।

पर्यटकीयस्थलमा बढ्दै गएको फोहरमैला नियन्त्रणमा सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीको आरोप छ । दिनानुदिन बढ्दै गएको फोहरमैला व्यवस्थापनमा चासो नदिने हो भने जिल्लामा महामारीसमेत फैलनसक्ने सम्भावना देखिएको छ ।


Facebook Comment


No ads found for this position