१२० भन्दा बढी आरोही सगरमाथा चुचुरोमा

सुरज कुँवर,जेष्ठ ८, २०७४- यस वर्षको वसन्तकालीन आरोहण सिजनमा हालसम्म १ सय २० भन्दा बढी आरोही सगरमाथा चुचुरोमा पाइला टेक्न सफल भएका छन् । पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि यसपटक नेपालीसहित ३ सय ७४ जनाले अनुमति लिएका थिए । यीमध्ये हालसम्म तीन जनाको आरोहणका क्रमममा मृत्यु भइसकेको छ भने एकजना हराइरहेका छन् । हराएका भारतीय नागरिक रहेको विभागको भनाइ छ ।

पर्यटन मन्त्रालयबाट सगरमाथा आधार शिविरका लागि खटाइएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार यस वर्षको पहिलो आरोहण गत सोमबार भएको थियो । त्यसदिनयता सयभन्दा बढीले सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन् । ‘सोमबारयता १ सय २४ जति आरोहीले समिट गरिसकेका छन्,’ सम्पर्क अधिकृत श्रेष्ठले कान्तिपुरसँग टेलिफोनमा भने । सोमबारपछि गत बिहीबार र शुक्रबार मौसम खराब हुँदा कुनै पनि आरोही चुचुरोमा पुग्न सकेका थिएन । ‘सोमबारदेखि मौसम सुध्रिने संकेत सुनिएको छ, यसपटक मौसम अनुकूल रहे जेठ ११ भित्र थुप्रैले आरोहण सक्नेछन्,’ श्रेष्ठले भने । अहिलेको सिजनमा दैनिक ३५/४० जनाले आरोहण गरिरहेको खबर आएको नेपाल पर्वतरोहण संघले जनाएको छ ।

यसैबीच आइतबार बिहान एक अमेरिकी नागरिकको मृत्यु भएको छ । सम्पर्क अधिकृत श्रेष्ठका अनुसार ५० वर्षीय ती अमेरिकी चिकित्सक रोल्यान्ड एयरउडको आरोहणका क्रममा बाल्कोनीमा मृत्यु भएको हो । ८ हजार ४ सय मिटर उचाइको बाल्कोनीमा उनी मृत अवस्थामा भेटिएका थिए । उनको आरोहण सकिएर फर्किने क्रममा मृत्यु भएको हो वा चढ्दै गरेका बेला हो भन्नेबारे नखुलेको उनलाई लैजाने एजेन्सी एभरेस्ट परिभार एक्सपिडिसन कम्पनीले जनाएको छ । यस कम्पनीबाट यसपटक १५ जना सगरमाथा आरोहणका लागि त्यसतर्फ गएका थिए । चिकित्सक रोल्यान्डअघि यस सिजनमा नेपाली नागरिक मीनबहादुर शेरचन र स्विस नागरिक युली स्टेक गरी दुई जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै सगरमाथा आरोहण सकेर फर्किंदै गरेका एक भारतीय नागरिक शनिबारदेखि बेपत्ता भएका छन् । ‘आरोहण सकेर फर्किंदै गरेका बेला ८ हजार ४ सय मिटर उचाइको बाल्कोनीबाट एक भारतीय आरोही हराइरहेका छन्,’ श्रेष्ठले भने । उनका अनुसार रवि कुमार नामका ती भारतीय सेभन समिटस ट्रेक्स प्रालि कम्पनीमार्फत गएका थिए ।

पर्वतरोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार यस सिजनमा तिब्बती मोहोडाबाट सगरमाथा आरोहण गर्ने क्रममा एक अस्ट्रेलियन आरोहीको मृत्यु भएको छ । ५४ वर्षीय फ्रान्सिस्को इन्रिको नाम गरेका उनी आरोहण सकेर फर्किंदै गरेका बेला तिब्बततर्फको ७ हजार ५ सय मिटर हाराहारीको उचाइमा थिए । उत्तरतर्फको उक्त मोहोडाबाट साताअघि संखुवासभाकी ४४ वर्षीया लाक्पा शेर्पाले सगरमाथा आरोहण गरेकी थिइन् ।

पर्यटन विभागका अनुसार यस वर्ष नेपाली मोहोडाबाट ४१ वटा आरोहण दलका ३ सय ७४ जनाले सगरमाथाका लागि मात्रै अनुमति लिएका थिए । यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिनेहरूको संख्या हालसम्मकै बढी हो ।

सगरमाथा पर्यटन उद्योगमा धेरै आर्जन गर्ने गन्तव्यमध्ये एक हो । विदेशीले सगरमाथा आरोहण अनुमति लिन करिब ११ लाख रोयल्टी तिनुपर्ने व्यवस्था छ । अधिकांश नेपालीहरू सामान बोक्ने गरि जाने गरेका छन् । यसपटक ८६ वर्षीय नेपाली मीनबहादुर शेरचनको आधार शिविरमै मृत्यु भएको थियो ।

शेरचनले आरोहण गर्न सकेको भए उनी सबैभन्दा बढी उमेरका सगरमाथा आरोही बन्ने थिए । शरद र वसन्त ऋतुमा सगरमाथा आरोहण हुने गरेको छ । तर, यसमध्ये पनि वसन्त ऋतु उपयुक्त समय मानिन्छ ।


Facebook Comment


No ads found for this position