सगरमाथा आरोहणका क्रममा मारिनेको संख्या १० पुग्यो ।

काठमाडौँ, जेठ ११ – सगरमाथामा टेन्ट भित्र चार जनाको शव फेला परेको छ । योसँगै यस सिजन सगरमाथा आरोहणका क्रममा मारिनेको संख्या १० पुगेको छ ।

आइतबार स्लोभाक पर्वतारोहीको शव लिन पठाइएको उद्दार टोलीले ती शवहरु फेला पारेको हो । सगरमाथामा डेथ जोन भनेर चिनिने क्षेत्रमा उनीहरुको शव फेला परेको बताइएको छ । सो क्षेत्रमा अक्सिजनको मात्रा निकै कम हुने बताइन्छ ।मारिनेमा दुई जना विदेशी पर्यटक र दुई शेर्पा पथप्रदर्शक रहेका छन् । उनीहरुको नाम भने खुलेको छैन ।

यसअघि अस्ट्रेलियाका फ्रान्सेस्को मारचेटी, भारतीय रवि कुमार, ८५ वर्षीय मिन बहादुर शेरचनको मृत्यु भइसकेको छ । त्यस्तै, विश्व प्रख्यात स्वीस पर्वतारोही उली स्टेकले पनि यसै वर्ष ज्यान गुमाएका थिए । यसैबीच, २९ वर्षीय स्पेनिस पर्वतारोहीले भने सवैभन्दा छोटो समयमा डोरी र थप अक्सिजन बिना नै सगरमाथाको सफल आरोहण गरेका छन् । मंगलबार किलियान जोर्नेटले तिब्बततर्फबाट २६ घण्टामा सगरमाथा आरोहण गरेको बताइएको छ ।

तर, उनी नफर्केसम्म किर्तिमानको पुष्टि गर्न सकिएको छैन । त्यस्तै, भारतीय महिला अंशु जामसेम्पाले एक हप्तामा दुई पटक सगरमाथाको सफल आरोहण गरेर किर्तिमान बनाएकी छिन् ।यो वर्ष ३८२ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् भने तिब्बततर्फबाट १२० जनाले सगरमाथाको आरोहण गरेको रोयटर्सले उल्लेख गरेको छ ।सन् १९२० देखि सगरमाथामा हालसम्म २०० जनाले ज्यान गुमाएका छन् । सन् २०१५ मा हिमपहिरोका कारण २४ जनाले ज्यान गुमाएका थिए ।


Facebook Comment


No ads found for this position