मोबाईलको क्यामरामा कैद गोमा एयर दुर्घटना

गोमा एयरको विमान सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा दुर्घटना भएको छ ।  काठमाडौंबाट अपरान्ह १ : २९ बजे लुक्लाका लागि उडान भरेको नाइन एन ए के वाई कलसाइन भएको विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका विमान चालक पारस राईको उपचारका क्रममा लुक्ला अस्पतालमा निधन भएको छ ।

सहचालक सृजन मानन्धरको लुक्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ । विमानकी परिचारिका प्रज्ञा महर्जनलाई हेलिकोप्टरबाट काठमाडौं तयारी भइरहेको छ ।

तर लुक्ला विमानस्थलको भिजिविलिटी अत्यन्तै कम भएका कारण हेलिकोप्टरले उडान भर्न सकेको छैन ।

विमान दुर्घटनाको कारण एकिन हुन नसके पनि खराब मौसमका कारण दुर्घटना भएको अनुमान गरिएको छ । सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल अत्यन्त जोखिमपूर्ण विमानस्थलको रुपमा लिइन्छ ।

विमानस्थलको धावनमार्ग पाँच सय २७ मिटर मात्र भएको र दुई हजार आठ सय  ४५ मिटर उचाइमा रहेको यो विमानस्थलमा सर्ट टेकअप एन्ड ल्यान्डिङ अर्थात् छोटो धावनमार्गमा उडान र अवतरण गर्ने विमानहरुले मात्र सेवा प्रदान गर्दै आएका छन् ।

पछिल्लो समय गोमा एयर, नेपाल एयरलाइन्स, सिम्रिक एयर, तारा एयर, सीता एयरका विमानले उडान भर्दै आएका छन् । यो विमानस्थलमा अहिलेसम्म साना र ठूला गरी ९ वटा दुर्घटना भइसकेका छन् ।।


Facebook Comment


No ads found for this position