ट्रेकिङ गर्ने पर्यटक बढे, तर व्यवसायी असन्तुष्ट
भूकम्प तथा भारतको अघोषित नाकाबन्दीका कारण थलिएको ट्रेकिङ व्यवसायमा यस वर्ष आशाको सञ्चार भएको छ । चालु सिजनमा टेकिङमा जाने विदेशी पर्यटकको संख्या तीव्र बृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपक जोशीले नेपाल सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा गएसँगै ट्रेकिङमा जाने पर्यटक बढेको बताए ।उनले भने ‘अब पर्यटक बढे भनेर ढुक्कै भएर बस्ने स्थिति नभए पनि यो बर्ष ट्रेकिङमा जाने पर्यटक उल्लेखनीय रुपमा बढेका छन् । ’पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार यो वर्ष अन्नपुर्ण, मनास्लु र गौरीशंकरमा पदयात्रीहरुको खुबै आकर्षण बढेको छ । नेपाल सरकारले झण्डै ७० वटा रुटलाई आधिकारीकता दिएको छ । टानका कोषाध्यक्ष कर्ण लामा भने देशमा झण्डै १ सय वटा ट्रेकिङ रुट भएको बताउँछन् । त्यसमध्ये १५ वटा जति रुटहरु भने धेरै पर्यटकहरुको रोजाइमा पर्ने गरेका छन् ।
पर्यटन बोर्डका अनुसार सन् २०१५ को अप्रिलसम्ममा अन्नपुर्ण ट्रेकिङ जान १२ हजार ३ सय २० जना बिदेशी पर्यटकले अनुमति लिएका थिए । तर सन् २०१६ को सोही अवधिमा भने यो घटेर ११ हजार ७ सय ५७ मा सिमित रह्यो । सन् २०१७ को अप्रिलसम्ममा भने अन्नपुर्ण ट्रेकिङ जानको लागि १८ हजार ५० जनाले अनुमति लिएका छन् । यि विदेशी पर्यटक सबै सार्क राष्ट्र बाहिरका हुन् ।
सार्क राष्ट्र भित्रका पर्यटकहरु पनि यो वर्ष अन्नपुर्ण ट्रेकिङमा जानको लागि ठुलो संख्यामा भित्रिएका छन् । सन् २०१५ को अप्रिलसम्ममा २ हजार ८ सय ८९ जना सार्क राष्ट्र भित्रका पर्यटकहरुले अनुमति लिएका थिए । सन् २०१६ मा यो घटेर १ हजार ७ सय ५२ मा सिमित हुन पुग्यो । तर सन् २०१७ को अप्रिलसम्ममा भने सार्क राष्ट्र भित्रका ४ हजार ५ सय ५२ जनाले अन्नपुर्ण ट्रेकिङमा जानको लािग अनुमति लिएका छन् ।
त्यसैगरि मनास्लु क्षेत्रमा पनि यो वर्ष ट्रेकिङमा जानेहरुको संख्या बढेको छ । सन् २०१५ को अप्रिलसम्ममा मनास्लु क्षेत्रमा ट्रेकिङमा जान ७ सय १७ जनाले अनुमति लिएका थिए । सन् २०१६ को अप्रिलसम्ममा ६ सय ४५ मा जनाले अनुमति लिएकोमा चालु आर्थिक वर्षको अप्रिल महिनासम्ममा भने १ हजार १ सय १ जनाले अनुमति लिएका छन् ।सन् २०१५ को अप्रिल महिनासम्ममा १ सय २९ जनाले गौरीशंकर क्षेत्र ट्रेकिङ जानको लािग अनुमति लिएकोमा सन् २०१६ को सोही अवधिमा १ सय ८९ जनाले अनुमति लिएका थिए भने यो वर्षको अप्रिलसम्ममा १ सय ९८ जनाले अनुमति लिएका छन् ।
सन्तुष्ट छैनन् पर्यटन व्यवसायी
पर्यटकको संख्यामा बिगतका वर्षहरुको तुलनामा सुधार आएको पनि पर्यटन व्यवसायीहरु भने सन्तुष्ट हुन सकेका छैनन् । पर्यटकको संख्यामा बृद्धि भएपनि व्यवसायमा भने सुधार नआएको उनीहरु दावी गर्छन् ।
टानका कोषाध्यक्ष कर्ण लामाले ट्रेकिङमा जाँदा गाइड अनिवार्य नगरिएका कारण यस क्षेत्रको व्यवसायमा अहिले खासै सुधार हुन नसकेको बताए ।
अहिले बिदेशी पर्यटकहरुले डोल्पा र मुस्ताङ क्षेत्रमा मात्रै ट्रेकिङ गाइड लिएर जानुपर्ने बाध्यता छ । अन्य ट्रेकिङ रुटमा पर्यटक आफै एक्लै पनि यात्रा गर्न सक्छन् ।लामा भने सबैजसो ट्रेकिङ रुटमा गाइड अनिबार्य गराउनु पक्षमा छन् । उनी भन्छन्, ‘केही बिदेशी पर्यटक बढे होला, केही होटललाई राम्रो भयो होला, तर कतिलाई रोजगारी मिल्यो भन्ने पनि हामीले सोच्न जरुरी छ । बिदेशका धेरै देशमा ट्रेकिङ गाइड बाध्यात्मक छ, तर हाम्रोमा छैन ।’
होटल क्षेत्रका व्यवसायी पनि पर्यटक बढेर सन्तुष्ट छैनन् । होटल व्यवसायी संघ ९हान० का अध्यक्ष अमरमान शाक्य यो वर्ष होटल क्षेत्रमा उल्लेख्य सुधार आउन नसकेको बताउँछन् ।संख्यात्मक रुपमा तुलना गर्दा पर्यटकहरु नेपालमा अहिले भूकम्प जानुपूर्वकै हाराहारीमा नेपालमा भित्रिएको देखिन्छ । तर ठूला होटलको अकुपेन्सी भने सन् २०१४ को तुलनामा न्यून छ ।
भूकम्पअघि सन् २०१४ मा पर्यटक आउने सिजनमा अकुपेन्सी ९५ प्रतिशतसम्म पुगेको थियो । सन् २०१७ मा भने होटलको अकुपेन्सी ६५ प्रतिशतभन्दा माथि जान नसकेको शाक्य बताउँछन् ।उनले भने, ‘पर्यटक बढे भने पनि होटलको अकुपेन्सीमा उल्लेखनीय सुधार हुन सकेको छैन । उनीहरु काठमाडौंमै होमस्टेमा बस्छन्, जसका कारण होटल क्षेत्रमा सुधार देखिएको छैन ।’
सरकारी अधिकारीहरु भने पर्यटन क्षेत्र भूकम्पअघिकै अवस्थामा फर्किसकेको दावी गर्छन् #साभार अनलाईन खबर