दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनीक, नोमिनेसन असार २ मा

काठमाडौं स् दोस्रो चरणको स्थानीय तह निर्वाचनको मितिमाथि बहस चलिरहँदा निर्वाचन आयोगले दोस्रो चरणको कार्यतालिका सार्वजनिक गरेको छ। संयोग नै मान्नुपर्छ दोस्रो चरणको कार्यतालिका सार्वजनिक हुँदा चुनावविरुद्ध उभिएको राष्ट्रिय जनता दलले बन्दका कार्यक्रम फिर्ता लिएको छ।

निर्वाचन आयोगको आज बसेको बैठकले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन असार २ गते हुने छ। पाँच गते उम्मेदवारले निर्वाचन चिन्ह दिइने छ।कार्यतालिका अनुसार असार दुई गते उम्मेदवारले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्नुपर्ने छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रत्येक जिल्लाको सदरमुकाममा रहन्छ भने निर्वाचन अधिकृतको कार्यालय नगरपालिका र गाउँपालिको केन्द्रमा रहने छ।

२ गते मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिन आयोगले असार ३ गतेको मिति तोकेको छ। कुनै उम्मेदवार फौजदारी अपराधमा दोषी भएको वा सरकारी वा सार्वजनिक लाभको पदमा रहेको कुरा ढाँटेर उम्मेदवारी दर्ता गरेमा जो कसैले पनि उजुरी गर्नसक्छन्। उम्मेदवारको विषयमा परेको उजुरी सही सावित भएमा त्यस्तो उम्मेदवारको उम्मेदवारी खारेज हुन्छ।आयोगले असार ४ गते उम्मेद्वारको नामावली प्रकाशन तथा उम्मेद्वारी फिर्ता लिने समय तोकेको छ। उम्मेदवारले आफ्नो नाम फिर्ता लिएमा वा दुई दलबीच अलाइन्स भएको अवस्थामा यो कार्यतालिकाको उपयोग हुन्छ।

आयोगले असार ५ मा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ। त्यही दिन आयोगले पार्टीका तर्फबाट चुनाव लड्ने उम्मेद्वारलाई पार्टीको तथा स्वतन्त्र उम्मेदवारलाई छुट्टै निर्वाचन चिह्न प्रदान गर्छ।दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ का ४३ जिल्लाका ४ सय ६१ स्थानीय तहमा निर्वाचन हुँदैछ। प्रकाशित कार्यतालिका अनुसार असार १४ गत बुधवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य सञ्चालन हुनेछ। आयोगले यसअघि सरकारले तोकेको जेठ ३१ को निर्वाचनका लागि जेठ १९ मनोनय दर्ता र २३ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।

पहिलो चरणको निर्वाचन गत वैशाख ३१ गते सम्पन्न भएको थियो। प्रदेश नम्बर ३,४ र ६ मा २ सय ८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ भने भरतपुर महानगरपालिकाको मात्र मत परिणाम आउन बाँकी छ।


Facebook Comment


No ads found for this position