बाबु छोरो नै उम्मेदवार

प्रतिक्षा काफ्ले, स्याङ्जा

पुतलीबजार नगरपालिका ५ पौवैगौडेका एकै घरका बाबु–छोराले स्थानीय निर्वाचनको लागि उम्मेदवारी दिएका छन् । दुवैले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका हुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बाबु मदन कार्कीले वडाध्यक्षको लागि उम्मेदवारी दिएका छन्भने उनका २५ बर्षीय छोरा हिक्मत कार्कीले सोही पार्टीको तर्फबाट पुतलीबजार नगरमा उप–मेयर पदको लागि उम्मेदवारी दर्ता गरेका छन् ।करिब ३ दशक देखि राजनीतिमा सकृय बन्दै आएका राप्रपाका पूर्व केन्द्रिय सदस्य एव महाधिवेशन प्रतिनिधि मदन कार्की आफ्नै गाउँको ५ नम्बर वडामा अध्यक्ष लड्न उम्मेदवारी दिएका हुन भने उनका छोरा हिक्मतले विगत एक दशक देखि राप्रपाको तर्फबाट राजनीतिमा सकृय हुँदै आएका छन् ।

‘अवको नेतृत्व बुवाहरुले होइन हामी जस्ता युवाहरुले गर्नुपर्छ’ मनोनयन दर्ता गर्दै उनले भने, ‘देशको मुहार परिवर्तन गर्न अव युवाहरुको मात्र खाँचो छ हामीले नेतृत्व लिन पाएँ साँच्चै मुलुकको मुहार नै फेरिने छ ।’ राप्रपा निकट युवा संगठनको केन्द्रीय सचिवसमेत रहेका उनले देशको वर्तमान राजनीति अवस्था र युवाहरुको विविध समस्यालाई एजेण्डा बनाई चुनावमा उत्रिएको बताए । पार्टीले युवाहरुको भूमिका आवश्यक ठानी आफूलाई उप–मेयरको दाबेदार बनाएको भन्दै उनले भने, ‘राष्ट्रिय हितको लागि अव युवाहरुको खाँचो छ । युवाहरुले अवसर पाउनु पर्छ तव मात्र देशले विकासमा फड्को मार्न सक्छ । मुलुकको लागि केही गर्नुपर्छ भन्ने सकरात्मक सोच अहिलेका युवाहरुमा हुनुपर्नेमा जोड दिंदै निस्वार्थ रुपमा सामाजिक काम गर्ने भनेको अव युवाहरु नै हुन ।’ उनले युवाहरुले औद्योगिक क्रान्ति मार्फत आर्थिक क्रान्ति गर्न सक्ने बताए ।

सरकारले तोकेको मापदण्ड अनुसार ग्रामिण सडकहरु व्यवस्थित गर्ने, कच्ची सडकलाई पक्कीमा परिणत गर्ने, जनतालाई स्वास्थ्य अधिकारबाट सम्पन्न गराउनको निमित्त प्रत्येक वाड वाडमा एक एम्बुलेन्स व्यवस्थित गर्ने, कृषि र पर्यटनमा सम्भाव्यता रहेका स्थानहरुको उचित अध्ययन र परामर्शसहित व्यवस्थापन गर्ने, सामुदायिक र प्राधिकरणका विद्युत आपुर्तिमा सहज गराउने, उच्च शिक्षासम्म गाउँमै विद्यार्थी टिकाउन शैक्षिक गुणस्तरमा पहल गर्ने, युवा रोजगारीको निमित्त विभिन्न रोजागरीका सम्भाव्यतालाई अध्ययन गरी वैदेशिक रोजगारीमा जान रोक लगाउने लगायतका उनका छुट्टै आफ्ना चुनावी एजेण्डा छन् ।

‘अवको दिनमा पुतलीबजार नगरपालिकाको विगतको अवस्था र भावी योजना बारे प्रष्ट भएर चुनावमा उत्रिएको छु’ उनले दोहोर्‍याए, ‘ठूलो आशा छ जनताले एक पटक विश्वास गर्ने छन् । हामी युवाहरु प्रति जनताको भरोसा छ । पुरा गर्ने नै छु ।’ उनले दश बर्ष सम्मको राजनितिले जनताको भाव र मर्म बुझेर काम गरेको दाबी गरे ।


Facebook Comment


No ads found for this position