अब लुम्बिनी काठमाडौं पनी सुविधायुक्त बस
लुम्बिनी आउने पर्यटकलाई लक्षित गरी लुम्बिनी–काठमाडौं सुविधा सम्पन्न बस सञ्चालनमा ल्याइएको छ । बसभित्रै ट्वाइलेट, वासरुम, मिनी बारसहितको बस सेवा सञ्चालनमा ल्याइएको हो । पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले पर्यटकको सुविधाका लागि बसले विमान बराबरको सेवा दिने बताउनुभयो । ‘अहिलेसम्म एसी बस सञ्चालनमा थिए, अव सुपर एसी बस सञ्चालनमा ल्याउँदैछौुं, उहाँले भन्नुभयो । संघले दिवा सेवाका पर्यटक र यात्रुलाई लक्षित गरी लुम्बिनीबाट काठमाडौं सुपर एसी डिलक्स बस सेवा सुरु गरेको हो ।
संघका अध्यक्ष खरेलले यात्रुले सुविधा सम्पन्न बस माग गरेकाले त्यसको पूर्ति गरेको बताउनुभयो । लुम्बिनीबाट दैनिक चारवटा बस काठमाडौंका लागि छुट्नेछन् । लुम्बिनीबाट साढे ५ बजे, भैरहवाबाट साढे ६ बजे र बुटवल सिटी काउन्टर ट्राफिक चोकबाट साढे ७ बजे काठमाडौंका लागि बस प्रस्थान गर्ने उहाँले बताउनुभयो । संघले लुम्बिनीबाट २ हजार, भैरहवाबाट १९ सय र बुटवलबाट १८ सय रुपैयाँ काठमाडौंका लागि भाडा निर्धारण गरेको छ । अध्यक्ष खरेलले भाडा वैज्ञानिक रूपमा निर्धारण गरिएको र बसभित्रै विभिन्न सुविधा रहेको बताउनुभयो ।
९५ लाख रुपैयाँ लागत रहेको उक्त बस पहिलो चरणमा दैनिक एउटा मात्र काठमाडौं प्रस्थान गर्नेछ । सवारीसाधन भित्र यात्रु प्रवेश गरेपछि सवारी होस्टेजले चिसो टावेलले हात पुच्छ्न दिनेछन् । बसभित्रै कोल्ड ड्रिङक्स, फ्री वाइफाइ, पानी र चुम्लिङटारमा पुगी सिद्धार्थ होटेलमा खानखान पाउनेछ । यी सबै सुविधा त्यही भाडामा उपलब्ध हुनेछ ।
बसमा ट्वाइलेट, छुट्टै स्माकिङ जोन, एसी, मोबाइल चार्ज, अत्याधुनिक आरामदायि सिट छ । २८ सिट क्षमता रहेको बस पोखरापछि बुटवलबाट सञ्चालन हुन लागेको हो । यस्तै संघले बुटवलबाट काठमाडौं प्रस्थान गर्ने ७ वटा विभिन्न मोडलका गाडीमा अनलाई टिकेटिङ सुरु गरेको छ । यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरीय सेवा दिन अनलाइन टिकेटिङको सुरुवात गरिएको अध्यक्ष खरेलले बताउनुभयो ।