शुक्लाफाँटाबाट चितवन ल्याइएका दुई वटा बाह्रसिङ्गे मरे

बैशाख, काठमाडौं । शुक्लाफाँटाबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको दुई वटा बाह्रसिङ्गे मरेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मानबहादुर खड्काले निकुञ्जमा ल्याइएकामध्ये दुई वटा पोथी बाह्रसिङ्गे मरेका आज जानकारी दिए । केही दिनअघि एउटा बाह्रसिङ्गे ल्याएकै दिनमा मरेको हो भने अर्को ल्याएको एक दिनपछि मरेको हो ।

टाढाबाट १६, १७ घन्टाको यात्रामा ल्याइएकाले दबाब परेको र गर्मी पनि बढेकाले बाह्रसिङ्गे मरेको अनुमान गरिएको निकुञ्जले जनाएको छ । बाह्रसिंगे अति संवेदनशील जनावर हो । गर्मी बढेकाले अहिले स्थानान्तरण प्रक्रिया स्थगित गरिएको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए। उनका अनुसार निर्वाचनमा कर्मचारी पनि खटाउनु पर्ने अवस्था आएकाले पनि कार्यक्रम रोक्नु परेको हो । चितवन निकुञ्जमा ल्याइएको सात मध्य २ वटा बाह्रसिंगे मरेपछि पाँच वटा मात्रै रहेका छन् ।

जसमा २ भाले र ३ पोथी रहेको अर्यालले जानकारी दिए । कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा ५ भाले सहित २५ वटा बाह्रसिंगे ल्याउने योजना छ । जाडो मौसमको उपयुक्त समयमा अन्य बाह्रसिंगे ल्याईने निकुञ्ज विभागका महानिर्देशक खड्काले जानकारी दिए। स्थानान्तरणको काम यही वैशाख १३ गतेदेखि शुरु भएको थियो । बाह्रसिंगे नियन्त्रणमा लिन चितवन निकुञ्जका बरिष्ठ पशु चिकित्सक कमल गैंरेको नेतृत्वमा बर्दिया र शुक्लाफाँटाका कर्मचारी तथा प्राविधिकहरु गरी ३० जनाको टोली खटिएका थिए ।

सरकारी निर्णय अनुसार प्रजाती संरक्षण र विस्तारका लागि यसरी स्थानान्तरण गरिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। चितवन निकुञ्ज भित्रको पुरानो पदमपुरमा ३० हेक्टर क्षेत्रमा तारबार लगाएर अर्ना र बाह्रसिंगे राखिएको छ ।


Facebook Comment


No ads found for this position