धादिङमा एमाले उम्मेदवारको गाडी जलाइयो

धादिङ : वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार बन्नु भएका राजकुमार पौडेलको गाडीमा आगजनी भएको छ।

थाक्रे गाउँपालिका २ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेद्वार बन्नु भएका पौडेललको गाडीमा आगजनी भएको हो। बा ९ च ८९२९ नम्बरको आफ्नो गाडी चुनाव प्रचार प्रसार गरेर राति घर अगाडि राखेकै ठाउँमा सिसा तोडफोड गरी अज्ञात समूहले आगजनी गरेको पौडेलले जानकारी दिनुभयो।

पौडेलको घर अगाडि पार्किङ गरिराखेको गाडीमा राती करिब २ बजे दुई तीन जनाको समूहमा आएका अपरिचित व्यक्तिले आगो लगाएको स्थानीयवासीले बताएका छन्।

गाडीमा सल्किएको आगो स्थानीयले थाहा पाउने वित्तिकै प्रहरीलाई खबर गरेका थिए। स्थानीयको सहयोगमा प्रहरीले आगो निभाएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिनुभयो। गाडीमा कसले आगजनी गरेको हो भन्ने खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक निरौलाको भनाइ छ।


Facebook Comment


No ads found for this position