राजधानीको चार कुनामा स्मार्ट सिटी निर्माण हुने

सरकारले राजधानीको चार कुनामा स्मार्ट सिटी निर्माण गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजधानीको चारै कुनामा चार वटा स्मार्ट शहर विस्तार गर्ने निर्णय गरेको हो ।स्थानीय चुनावमा स्पार्ट सिटीको सपना देखाईरहेका विभिन्न राजनीतीक पार्टिका उम्मेदवारको अवधारणा पनी यसै बाट प्रभावीत भएर आएको देखीन्छ ।

 

शहरी विकास मन्त्रालयले सार्वजनिक क्षेत्रबाट १०० अर्ब र निजी क्षेत्रबाट ४०० अर्ब लगानी जुटाएर स्मार्ट सिटी बनाउने प्रस्ताव अघि बढाएको थियो । यो आयोजना ५ वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।

सरकारको निर्णयअनुसार पहिलो स्मार्ट सिटी मुलपानीदेखि खरिपाटीसम्म फैलिएको हुनेछ ।

करिब एक लाख रोपनी क्षेत्रफलमा फैलिएको स्मार्ट सिटी मुलपानीको क्रिकेट मैदानबाट साँखु जाने मुल सडक तथा शाली नदी पुलबाट तेलकोट हुँदै खरिपाटीसम्म समेट्नेछ । साथै खरिपाटीको आर्मी ब्यारेकलाई बाहिर पार्दै भक्तपुरको तिखलापाखे आयोजना, बोडे, मनोहरा हुँदै पुनः मुलपानी क्रिकेट मैदानलाई जोड्नेछ ।

दोस्रो स्मार्ट सिटी भक्तपुरको सूर्यविनायकको जंगलको फेदी हुँदै ललितपुरको लामाटार खोला, बालकोट हुँदै अरनिको राजमार्ग जोड्नेछ । र, कौशलटार हुँदै पुन सूर्यविनायकसम्म जोडिने छ ।

१० हजार रोपनी क्षेत्रफलमा फैलिने यो शहरलाई दोस्रो स्याटलाइट शहरको रुपमा विकास गर्ने सरकारको योजना छ ।

यसले गुण्डु बालकालकोट र दधिकोटको सबै भूभागलाई समेट्ने छ । यो शहर निर्माण परियोजनाका लागि सार्वजनिक क्षेत्रबाट १० अर्ब र निजी क्षेत्रबाट ४० अर्ब लगानी जुटाइनेछ ।

तेस्रो शहर साविकको खोकना, बुंगमती हुँदै सैंबु आवास, वाग्मती झोलुङ्गे पुल हुँदै चोभारसम्म फैलिएको हुनेछ । यो शहर पनि १० हजार रोपनीको क्षेत्रमा समेटिएको हुनेछ ।

यसैगरी महादेवखोलाबाट तारकेश्वर जाने मुलबाटो हुँदै सिम्लेश्वर र त्यहाँबाट झोर हुँदै फुलबारी मार्ग टोखा बाइपाससम्म स्मार्ट शहर बनाउने योजना स्वीकृत भएको छ । मन्त्रिपरिषदले पारित गरेको प्रस्ताव अनुसार जग्गा एकीकरणको माध्यमवाट निजी जग्गाधनीलाई संलग्न लगाइनेछ ।


Facebook Comment


No ads found for this position