एमाले–माओवादी केन्दका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु, एक घाइते

२७ बैशाख, । दोलखामा एमाले–माओवादी केन्दका कार्यकर्ताबीच झडप हुँदा एक जनाको ज्यान गएको छ। घटनामा परी अर्का एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। गौरीशंकर गाउँपालिका–१ जुँगु दहबारीमा मंगलबार राति एमाले र माओवादीबीच भएको झडपमा परी स्थानीय कुलबहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ।

मंगलबार राति ९ बजेदेखि लगातार भएको झडपमा गम्भीर घाइते भएका एमाले कार्यकर्ता कुलबहादुर तमाङको सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । हुप्पाका स्थायी बासिन्दा तामाङ गौरीशंकर गाउँपालिका २ का एमाले वडा सदस्य  उम्मेदवार गोरे तामाङका छोरा हुन्। झडपमा परी गौरीशंकर गाउँपालिका–२ का एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवालले बताए। बुढाथोकीलाई सदरमुकाम चरिकोटमा उपचार हुन नसकेपछि उनलाई बुधार राति नै काठमाडौं लगिएको कटवालले बताए।

स्थानीय नीलकण्ठेश्वर उच्च माविका शिक्षकसमेत रहेका बुढाथोकी एमालेका कार्यकर्ता हुन्। दोहोरो झडपमा परी नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्षका उम्मेदवार भरत खड्कालगायत कार्यकर्ता घाइते भएका छन् । चुनाव प्रचारका क्रममा गाउँ पुगेका उम्मेदवार खड्का र पूर्वराज्यमन्त्री एवम् माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य देवी खड्कालगायतको टोलीलाई ढुङ्गामुढासहित आक्रमण गरिएपछि दोहोरो झडप भएको थियो । जुँगुमा केही दिनयता ‘टाइगर गुरुप’को नामबाट स्थानीय मतदाता तथा अन्य राजनीतिक दलका कार्यकर्तालाई धम्की दिने, चुनावी प्रचारको अभियानमा अवरोध गर्ने लगायतका गतिविधि बढेपछि सो समूहसँग आबद्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई समेत उजुरी परेको थियो ।

त्यस विषयमा प्रहरीले आवश्यक कारबाही गर्नुअगावै माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच ज्यानै जाने गरी झडप भएको हो । मृतक तामाङ टाइगर गुरुपसँग आबद्ध भएको बताइएको छ । यद्यपि नेकपा (एमाले) दोलखाका नेताहरुले भने माओवादीले आफ्ना कार्यकर्तामाथि आक्रमण गरी ज्यान लिएको बताएको छ । घटनापछि जुँगुका मतदातामा त्रास फैलिएको छ भने व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ।

पूर्वराज्यमन्त्री देवी खड्काको नेतृत्वमा गएको गुण्डाहरुको जमातले एमाले कार्यकर्ता कुलबहादुर तामाङलाई लखेटी लेखटी छुरा र भालाले रोपी हत्या गरेको घटनास्थल दोलखाको जुगुबाट प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभएको छ ।

माओवादीले जिल्ला बाहिरबाट लगेका पेशेवर गुण्डाको आक्रमणमा एमालेका पूर्व गाउँकमिटी सचिव दिलबहादुर बुढाथोकीको अवस्था पनि गम्भीर छ । गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुगुको निलकन्ठेश्वर मावि नजिकै होटलमा खाना खाइरहेका एमाले कार्यकर्ताहरुमाथि पूर्वराज्यमन्त्री खड्काको नेतृत्वमा अन्धाधुन्ध फायर गरी घेरा हाली आक्रमण गरिएको बस्नेतले बताए ।


Facebook Comment


No ads found for this position